
मधेशदृष्टि
रौतहट ।
धार्मिकस्थल गरुडा नगरपालिकाअन्तर्गत शिवनगर महादेव स्थाननजिकै सार्वजनिक शौचालय तथा स्नानघर निर्माण भइरहेको छ ।
गरुडा नगरपालिकाको आर्थिक लगानीमा शौचालय तथा स्नानघर निर्माण हुन लागेको हो । शिवनगर महादेव स्थानमा श्रीपञ्चमी शिवरात्रीका साथै प्रत्येक आइतबार दर्शनार्थीको भीड लाग्ने गर्दछ । दर्शनार्थी मन्दिर छेउको झाँझ नदीमा स्नान गरी जल चढाउने गर्दछन् । पुरूषहरु स्नान गरी जल चढाउदा खासै फरक नपरे पनि महिला श्रद्धालुलाई समस्या भइरहेको थियो ।
गरुडा नगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा सहभागीले धार्मिकस्थल शिवनगरमा स्नानकक्ष निर्माणबारे प्रश्न उठाएका थिए । ‘शिवनगरमा आम तीर्थालु तथा भक्तजनलाई मध्यनजर गर्दै स्नानघर निर्माणका लागि आश्वासन दिएका थियौँ,’ गरुडा नगरपालिकाका मेयर कन्थमनि जैसवालले भने, ‘प्रतिवद्धताअनुरुप शिवनगरमा स्नानघर तथा शौचालय निर्माणका लागि शिलान्यास गरेका छौँ ।’
शिवनगर महादेव मन्दिरलाई पर्यटकीय स्थलका रूपमा थप विकास गर्न गरुडा नगरपालिका तयार रहेको मेयर जैसवालले प्रतिवद्धता जनाए । कार्यक्रममा वडा अध्यक्ष विनोद जैसवाललगायतको सहभागिता थियो । सार्वजनिक शौचालय र स्नानघर २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।






