धर्नाको ब्यानर राखेर महानगरमै तास खेले शिक्षकहरुले

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेपाल शिक्षक महासंघ पर्साले वीरगंज महानगरमा दिएको धर्नामा बसेका शिक्षकहरुले तास खेलेको पाइएको छ । उनीहरुले राखेको ब्यानरसमेत अशुद्ध भएको भनेर आलोचना भइरहँदा सोमबार साँझ ब्यानर सच्याएर ‘धर्ना’ बनाएका छन् तर धर्नाको ब्यानरमुनि तास खेलिरहेको तस्बिर बाहिरिएको छ । तस्बिर वीरगंज महानगरका मेयर राजेशमान सिंहले राति ८ बजे फेसबुकमै पोष्ट गरेका छन् ।

 

जुवा हाेइन जादू

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष  तीर्थराज यादवले  मधेशदृष्टिसँग भने, ‘हामीले धर्नाका नाममा तास खेलेर बसेका हाेइनाैँ, धर्नामा बस्दा समय बिताउन तासकाे जादु हेरेका हाैँ ।  मनोरञ्जनका लागि नेरामावि निचुटाका शिक्षक देवेन्द्र प्रसाद साहले तासकाे पत्तिकाे जादूखेल देखाउनु भयाे र हामीले हेरेका हाैँ ।’

जति आन्दोलित त्यति नै लज्जित !
नेपाल शिक्षक महासंघ पर्साले स्थानीय तहले विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीसमेतलाई विभिन्न पूर्वाग्रह राखेर सरुवा गरी दुःख दिएको भन्दै विरोधमा वीरगंज महानगरपालिकाको मूल गेटमा धर्ना दिएको छ । धर्नासँगै शिक्षकहरुले नै भाषामाथि अत्याचार गरेको भन्दै आलोचना भएपछि शिक्षकहरु लज्जित पनि भएका छन् ।

महासंघ पर्साका अध्यक्ष तीर्थराज प्रसाद यादवले विभिन्न पूर्वाग्राह, दुराग्रह, राजनीतिक आस्था, भेदभाव तथा व्यक्तिगत कुण्ठाका आधारमा शिक्षकलाई थिचोमिचो, अनावश्यक रुपमा मानसिक यातना, सरुवाका नाममा आतंक, आफ्ना आसेपासेलाई मनोमानीरुपमा पद वितरण, स्वेच्छाचारी बढुवा–घटुवा, मानमर्यादा मर्दनलगायतका आपत्तिजनक कार्यको विरोधम धर्ना दिइएको बताए । उनले स्थानीय तहले गरेको विभेदविरुद्ध धर्ना बस्न बाध्य भएको बताए ।

यसअघि आइतबार पर्साका सम्पूर्ण विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले कालोपट्टी बाँधेर काम गरेका थिए । घोषित कार्यक्रमअनुसार सोमबार र मंगलबार दिउँसो १ बजेदेखि ५ बजेसम्म धर्ना र माग पूरा नभए जेठ ९ गते धर्नास्थलबाटै थप आन्दोलन घोषणा गरिने जनाइएको छ । महासंघले १४ वटै स्थानीय पालिकामा आन्दोलन चरणवद्धरुपमा लैजाने भएको छ ।

शिक्षकले के पढाउलान् ?
वीरगंज महानगरपालिकामा धर्नामा बसेका शिक्षकले टाँगेको ब्यानरमा लेखिएको शब्द नै अशुद्ध भएपछि त्यसको सर्वत्र आलोचना भएको छ । वीरगंजका सामुदायिक विद्यालयका विरोध गर्ने शिक्षकले आफ्नो आन्दोलन के हो भन्ने समेच ब्यानरमा शुद्ध लेख्न जान्दैनन् भने विद्यार्थीलाई कस्तो पढाउलान् भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । महानगर प्रमुख राजेशमान सिंहले नै फेसबुकमा गरेको टिप्पणीले नगरवासीको मन छोएको छ । धर्ना कार्यक्रमलाई ब्यानरमा ‘धारणा’ कार्यक्रम लेखिएको छ ।
सिंहको प्रश्न छ, ‘अनि मेरो वीरगंजको सामुदायिक विद्यालयका विरोध गर्ने शिक्षकहरू ब्यानरको शब्द शुद्ध रूपमा लेख्न जान्दैनन् । उनीहरुले विद्यार्थी भाइबहिनीलाई कस्तो शिक्षा देलान् त ?’

१३ शिक्षकलाई स्पष्टिकरण


वीरगंज नगर क्षेत्रमा देखिएका सामुदायिक विद्यालयको विकृति, विसंगति अन्त्य गर्न अनुगमनमा उत्रिएको वीरगंज महानगरपालिकाले सोमबार १३ शिक्षकसँग स्पष्टिकरण माग गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन चुस्त पार्न अनुगमनमा तिब्रता दिएको हो । जेठ ७ गते अनुगमनक्रममा अनुपस्थित देखिएका एउटै विद्यालयका २४ शिक्षकलाई कारबाही गरेको महानगरले नगर क्षेत्रका छुट्टाछुट्टै विद्यालयका १३ शिक्षकलाई पनि कारबाही गरेको छ । सोमबार बिहान भएको अनुगमनमा माइस्थान विद्यापीठ माविमा ८ शिक्षक अनुपस्थित रहेको भेटिएको हो ।

यस्तै, अनुगमन टोलीले वडा नम्बर १७ अलौस्थित द्वारदेवी माविमा पनि ५ शिक्षक अनुपस्थित रहेको भेटेको छ । विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

द्वारदेवी माविमा विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा लिने गरिएको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेलीसमेत नियन्त्रणमा लिएको छ ।

स्वयम्सेवक शिक्षक माग


वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्वयम्सेवक शिक्षक भर्ना गर्ने भएको छ ।

विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै महानगरले सोमबार स्वयम्सेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको हो । विभिन्न विषयमा आधारभूत तह (६–८) का लागि १ सय ६ स्वयम्सेवक शिक्षक माग गरेको महानगरले माद्यमिक तहका लागि ७४ शिक्षक माग गरेको छ । आधारभूत तहमा नेपाली विषयको लागि २९, अंग्रेजीमा १५, गणितमा १८, विज्ञानमा २६, सामाजिकमा १० र कम्प्युटर विषयका लागि ८ स्वयम्सेवक शिक्षक माग गरेको छ ।

यस्तै माद्यमिक तहका लागि नेपाली विषयमा १४, अंग्रेजीमा १०, गणितमा १३, विज्ञानमा १२, सामाजिकमा १०, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा २, अर्थशास्त्रमा ४, लेखामा २, गणित–विज्ञानमा ५ र कम्प्युटरमा २ जना शिक्षक माग गरेको छ । शैक्षिक योग्यता पुगेका १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । वीरगंज महानगरका लागि तीनसय शिक्षक अभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button