
मधेशदृष्टि
वीरगंज ।
बाराको सुवर्ण पालिकाको आकस्मिक कार्यपालिका बैठक चलिरहेको छ । प्रधानाध्यापकहरुको सरुवामा विषयमा असन्तुष्ट विद्यार्थीहरुले पालिकामा तोडफोड र आगजनी गरेपछि कार्यपालिकाको आकस्मिक बैठक बसेको हो ।
‘बैठक बसिरहेका छौँ, आन्दोलनरत समूहसँग वार्ता पनि भएको छैन, पहिला बैठक सकाउँ अनि के गर्ने भन्ने निर्णयमा पुग्छौँ,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले भने, ‘बिहान घटना भयो, अहिले स्थिति सामान्य छ तर अप्रिय घटनापछि अब के गर्ने भन्नेबारे बैठक बसेर नै टुंगोमा पुग्न खोजिरहेका छौँ ।’
हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वर प्रसाद यादव, नेराप्रावि मझरीका प्रअ धर्मेन्द्र प्रसाद यादव र कवही जगाद माविका प्रअ नथुनी प्रसाद यादवलाई पालिकाले सरुवा गरेपछि असन्तुष्ट विद्यार्थीले सोमबार बिहानै पालिका तोडफोड गरेका हुन् ।
पालिका अध्यक्ष राजेश प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोडसँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउने काम भएपछि स्थिति नियन्त्रणमा प्रहरीले १० राउन्ड अश्रुसेल प्रहार गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले भने हेडसरहरुको सहमतिमै सरुवा गरिएको बताए । तर असन्तुष्ट विद्यार्थी समूहले पालिका नै तोडफोड र कागजात जलाउने काम गरेपछि स्थिति अशान्त बनेको थियो ।






