आफ्नै जग्गामा अरुको रजाइँ, न्याय पाउन किन ढिलाइ ?

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

पुस्तौनी सम्पत्ति मात्र १ कठ्ठा । त्यही नम्बरी जग्गा बिक्री गर्न एक दम्पती एक वर्षदेखि भौंतारिरहेका छन् । जनप्रतिनिधिदेखि प्रशासनसम्म कसैले सुनुवाई नगरेको उनीहरुको दुःखेसो छ ।

कटहरिया–५ का शेख सम्सुदिन र पत्नी खुश्बु खातुन जग्गा बिक्री गर्न गुजरा, कटहरिया नगरका जनप्रतिनिधिदेखि, इलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय गौरमा एकवर्षदेखि दौडिरहेका छन् । तर उनीहरुको व्यथा सुनिदिने भेटिएका छैनन् । खुश्बु खातुनको नाममा साबिक प्रतापपुर पल्टुवा–६ कित्ता नम्बर ७६९ को जग्गा१ कठ्ठा दर्ता कायम रहेको छ । जग्गा केहीवर्षअघि उनकी सासु तेतरी खातुनको नामबाट नामसारी भएर आएको हो ।

सासु जीवित हुँदा जग्गा कटहरिया–३ का शेख मनिरले खनजोत गर्दै आएको खुश्बले बताइन् । सासुको मृत्युपछि जग्गा खुश्बुको नाममा आएपछि कटहरिया–८ पोखरियाका बिगन यादवले बलपूर्वक जोत्दै आएका छन् । गतवर्ष खुश्बुले छोरीको विवाह गर्दा ऋण लागेपछि जग्गा बिक्री गर्न खोजेकी छिन् । विगनले बलपूर्वक जग्गा नियन्त्रणमा लिएर खनजोत गरिगरेको उनको भनाइ छ । कालोपत्रे बाटोसँग जोडिएको झन्डै १० लाख रुपैयाँ मूल्याङ्कन भएको जागा मात्र १ लाख रुपैयाँमा दिन बिगनले पटकपटक दम्पतीमाथि दबाब दिँदै आएको बताइन् ।

जग्गा नापजाँच गर्दा विभिन्न धम्की दिएको, जग्गा जोत्न नदिएको, बिक्री गर्न नदिएका कारण आफूहरु समस्यामा परेको उनले बताइन् । जग्गा छुट्याइदिन गुजरा नगरपालिका, कटहरिया नगरपालिकाकी उपमेयर रितादेवी यादव, वडा ५ का अध्यक्ष सर्फलाल गुप्ता, मेयर प्रत्यासी नसरुदिन अन्सारीलाई भनेर पटकपटक इलाका प्रहरी कार्यालय कटहरियामा छलफल हुँदा कसैको वास्ता नगरेको उनले बताइन् ।

वडाध्यक्ष गुप्ताको भनाइमा ८ हजार लगाएर चपुर नापी कार्यालयबाट अमिन झिकाई नापी गराएर जग्गामा गाडेको चारकिल्ला दुईदिनभित्रै विपक्षी यादवले उखेलेर फालेको पीडित शम्सुदिनले गुनासो गरे । त्यही समस्या लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएर पटकपटक जाँदा सिडियोसँग भेट नभएको बताए । पटकपटक धाउँदा जिल्ला प्रशासन कार्यालयका एकजना कर्मचारीले पछि खबर गर्छु भनेर मोबाइल नम्बर लिएको महिनौँ बितिसक्यो तर कुनै खबर नआएको उनले बताए । ‘छोरीको विवाहको ऋणको ब्याजले तनाव, यता आफ्नै जग्गामा अरुको रजाईँ, न्याय दिनेहरुको विलम्बता । के न्याय मरिसक्यो देशमा ?’ उनीहरुले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button