मधेशदृष्टि
वीरगंज
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको नक्कली पहिचान बनाएर बिदेश पठाउने काम राष्ट्रद्रोही भएको बताए ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार गरेको पत्रकार सम्मेलनलाई नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको सह्राना पनि गरे । उनले देशको मान, सम्मान र मर्यादामा आँच पु¥याउने भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई कानुनी कारबहीको दायरामा ल्याउनु आग्रह गरे । ‘राजनीतिको आडमा ठगी खाने पेशा बनाउनेलाई कुनै पनि हालतमा संरक्षण गरिनु हुन्न, दण्डित गर्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म सरकारले जुन कदम चालेको छ, एकदमै सह्रानीय छ । यही कामलाई निरन्तरता दियोस् । अन्तिम समयसम्म पनि सरकारले खुट्टा कमाउनु हुँदैन ।’
उनले सांस्कृतिक एवम् प्राकृतिक सम्भावना तथा वीरहरुको इतिहास बोकेको देशमा अत्यन्तै निन्दनीय काम गर्ने व्यक्ति हुनु बिडम्बना भएको बताए । उनले दलित भएकै कारण विभेद भोग्नुपरेका अमानवीय घटनामा विभेद गर्नेहरुको अझै चेत नखुलेको बताए ।
समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एसका केन्द्रीय सचिव नागेन्द्र चौधरी, पार्टीका पोलिटब्युरो सदस्य गणेश बिक, केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर कमिटी अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलनलगायतको उपस्थिति थियो । सहजीकरण समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।