
मधेशदृष्टि
वीरगंज, १५ वैशाख ।
प्रहरी संगठनको बल भनेकै संगठनको जनशक्ति हो । तर प्रहरीमा पहुँच बनाएर दरबन्दी अनुसार कार्यालयमा नगई ‘काज’मा बस्ने प्रहरीका कारण कार्यसम्पादनमै समस्या देखिएपछि प्रहरीले देशभर काजमा रहेकालाई दरबन्दीमा हाजिर हुन निर्देशन दिएको छ ।
७९ हजार पाँच सय ४१ दरबन्दी रहेको प्रहरीमा ४० हजार प्रहरी काजमा बसिदिएपछि के होला ? उसो त नेपाल प्रहरीले २६ हजार प्रहरी संगठनले नै काजमा खटाएको बताएको छ । यसो हुँदा पनि १४ हजार प्रहरी पहुँच बनाएर दरबन्दीमा नबसी काजमा सक्रिय देखिएका छन् । प्रहरी नियमावली, २०७१ ले ‘आवश्यक परेको अवस्थामा बढीमा ६ महिना’ काजमा बस्न, खटाउन सक्ने व्यवस्था छ ।
१४ हजारमध्ये ७ हजार प्रहरीको काज हटाएर दरबन्दीमा खटाउनु पर्ने दायित्व प्रदेश प्रहरी कार्यालयको देखिएको छ । मधेश प्रहरीमा पाँच सय ५० प्रहरी काजमा रहेका छन् । लामो समयदेखि उनीहरु काजमा रहेको पाइएपछि मधेश प्रहरीले १० दिनभित्र दरबन्दीअनुसार कार्यालयमा हाजिर हुन भनेको छ । ‘बढीमा १० दिन जति लाग्ला, सबैलाई काज छाडेर दरबन्दीमा जान भनेका छौँ,’ मधेश प्रहरीका प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठले भने, ‘विशेष परिस्थिति, मानवीय समवेदनाको कुरा अलग हो, एकाध पात्र झट्टै छाडेर जान नसक्ने हुनसक्छन्, तर बाँकीलाई हप्ता–दश दिनमा दरबन्दीमा जान भनिसकेका छौँ ।’
श्रेष्ठले मधेश प्रदेशमा रहेका पाँचसय ५० प्रहरीलाई दरबन्दीमा जान भनेजसरी नै मधेशमा आउने प्रहरी झन बढी रहेको बताए । उनले भने, ‘हामीकहाँ रहेको ५ सय ५० जति हो, उनीहरुलाई पठाउँछौँ, हामीकहाँ दरबन्दी भएर काजमा बसेका चैँ एक हजार जति छन्, उनीहरु पनि यही १० दिनभित्र आउनेछन् ।’
कर्मचारी प्रशासन शाखाका अनुसार तराई र उपत्यकाका जिल्लामा सबैभन्दा बढी ‘काज’को जागिर चलिरहेको छ । पहाडी जिल्लामा दरबन्दी भएर काठमाडौँ र मधेशमा रहनेहरु बढी छन् । ‘हामी अहिले यही काम गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘नियमविपरीत काजमा रहेका र रमाना नबुझेकालाई दरबन्दीमा पठाउने अभियान चलाइरहेका छौँ ।’ खासगरी गणमा दरबन्दी भएका प्रहरी गणमा नबसी काजमा अन्यत्र रहेर काम गर्न पहुँच प्रयोग गरिरहेको प्रहरी संगठनमा छिपेको छैन । हरेक प्रदेशमा दुई वटा गण छन् ।
गणमा ६ सय प्रहरीको दरबन्दी हुन्छ । तर, सबै गणमा आधाभन्दा कम जनशक्ति देखिएको छ । कुनै घटना हुँदा भने गणबाटै प्रहरी नमगाइ नहुने अवस्था सबैतिर देखिन्छ ।
पहुँच बनाएका प्रहरीहरू अक्सर सुगम र आफूअनुकूल कार्यालयमा रहने नेपाल प्रहरीमा समस्या नै बनेको छ । प्रहरी संगठनमा यो ठूलै असन्तुष्टिको विषय बनेको छ । तराईका केही जिल्लामा पनि पनि काजको समस्या छ । मंसिरको निर्वाचनमा सबैजसो जिल्लामा मद्दतका लागि प्रहरी प्रधान कार्यालयले थप जनशक्ति पठाएको थियो । पर्सामा पहिले नै बढी प्रहरी काजमा रहेकाले पठाइएन । सरुवा भएकामध्ये २० प्रतिशत त सरुवा भएको ठाउँमा नगइ रमाना रोकेर ‘काज’ बनाएर अनुकूल कार्यालयमा बस्ने प्रहरीमा रोग नै बनेको छ ।
यस्तै, प्रहरी प्रधान कार्यालयले चार वर्षभन्दा लामो समय एकै प्रहरीलाई सादा पोसाकमा खटाउन नपाइने प्रावधान लागू गरेको छ । यो नियम लागू भएपछि जनकपुर, वीरगंज, मलंगवा, राजविराज, जलेश्वर, कलैया, गौरलगायतका सहरमा वर्षौँदेखि घुमुवाका नाममा व्यापारिक घरानासँग सम्बन्ध बनाएर बसेका घुमुवाहरु दरबन्दी अनुसार खटिनु पर्ने भएको छ ।
नयाँ आइजिपी वसन्तबहादुर कुँवरले काज विकृति रोक्ने अभियान सुरु गरेपछि प्रहरी संगठनमा रहेका काजका प्रहरी दरबन्दीमा जानु पर्ने बाध्यता सिर्जना भएको छ ।बढीमा १० दिनभित्र सबै काजका प्रहरीलाई दरबन्दी अनुसार हाजिर हुन भनिसकेका छौँ, १० दिनभित्र दरबन्दी अनुसार हाजिर नभए कारबाही प्रक्रिया अघि बढ्छ ।
–एसपी महेन्द्र कुमार श्रेष्ठ
प्रवक्ता, मधेश प्रहरी






