
घनश्याम बलम्पाकी
सर्लाही, २४ माघ । सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा दुई महिनापछि बत्ती बलेको छ ।
यसअघि ग्रामीण विद्युतीकरणअन्तर्गत विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले गएको मंसिर २७ गतेदेखि सो गाउँमा बत्ती काटेको थियो ।
प्राधिकरणले लाइन काटेपछि सो वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका वासिन्दा दुई महिनादेखि अन्धकारमा बस्नुपरेको थियो ।
सहकारीको नाममा रहेको १३ लाख २६ हजार ३४ रुपियाँ बक्यौता रकम बरहथवा नगरपालिकाले तिरिदिने भएपछि प्राधिकरणले आइतबार रातिबाट बत्ती छाडेको हो ।
गाउँमा अब ग्रामीण विद्युतीकरण हटाएर सोझै प्राधिकरणमार्फत मिटर राख्ने र बिल काट्ने व्यवस्था मिलाइएको बरहथवा नगरपालिका ११ का वडाध्यक्ष नवराज राईले जानकारी दिए ।






