धनुषाको १७ स्थानीय तह अझै गरेनन् जग्गा वर्गीकरण

[mashshare]

मधेशदृष्टि
जनकपुुरधाम, २४ माघ । सरकारले जग्गाको वर्गीकरण गर्न दिएको समयसीमा नाघेको दुई महिना बितिसक्दा पनि धनुषाको १७ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन् ।

धनुषामा १८ वटा स्थानीय तहमध्ये जनकपुरधाम उपमहानगरपालिकाले मात्र जग्गाको वर्गीकरण गर्न सकेको छ, त्यो पनि अपुरै रहेको छ । जग्गा वर्गीकरण नगर्दा धनुषाको नापी कार्यालयमा कित्ताकाटको काम ठप्प रहेको छ । कुनैबेला कित्ताकाटकै लागि पालो कुर्नुपर्ने सो कार्यालयमा अहिले फाट्टफुट्ट मात्र सेवाग्राही पुग्ने गरेका छन् ।

जेठको तेस्रो साताअघि दैनिक २५ देखि ३० जना कित्ताकाटका लागि आउनेमा अहिले पाँच÷छ जना आउने गरेको कर्मचारीहरुले बताएका छन् । नापी कार्यालय धनुषाका नापी प्रमुख सुमनकिशोर मिश्रले भने अहिले जनकपुरधाम उपमहानगरपालिकाबाहेक अन्य स्थानीय तहको कित्ताकाटको काम रोक्का रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले केही वडाको जग्गाको वर्गीकरण गरी नापी विभागमा प्रतिवेदन बुझाएकाले त्यस ठाउँको काम भइरहेको उनले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाभित्रको कृषियोग्य जग्गा दुई कट्ठा तथा घडेरी जग्गा पौने आठ धुरसम्मको कित्ताकाट भइरहेको छ । भूमिसम्बन्धी ऐनले जग्गाको वर्गीकरण तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नै दिएकाले स्थानीय तहले वर्गीकरण गरी आधिकारिक प्रतिवेदन पालिकाको वडाबाट पारित गरेर नापी विभागमा दर्ता नगरेसम्म कित्ताकाटको काम गर्न नमिल्ने नापी प्रमुख मिश्रले बताए ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले जग्गा वर्गीकरणको काम अगाडि बढाइ सकिएको जानकारी दिदै जग्गा वर्गीकरणका लागि वडा जनप्रतिनिधिलाई जिम्मा लगाइएको र काम पनि गरिरहेकाले चाँडै नै प्रतिवेदन तयार गरी नापी विभागमा दर्ता गराउने बताए । जग्गा वर्गीकरण नहुँदा बैङ्क तथा वित्तीय संस्थाले धितो राख्नसमेत आनाकानी गर्दा उद्योगी व्यवसायी निकै मर्कामा परेको ढल्केबरका युवा उद्यमी तथा मिथिला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजनारायण साहले बताएका छन् ।

सरकारले जग्गाको वर्गाीकरण गर्न स्थानीय तहमा रहेका स्थानीय भूउपयोग परिषद्लाई अख्तियारी दिएको छ । अख्तियारी अनुसार मङ्सिर २३ गतेसम्म जग्गाको वर्गीकरण गरी त्यसको प्रतिवेदन नापी विभागमा दर्ता गर्नुपर्ने समयसीमा थियो । नेपाल सरकारले कृषियोग्य जग्गा खण्डीकरण भएर मुलुकमा खाद्यान्न सङ्कटसहितका अन्य विकासको कामकाज गर्नमा समस्या हुने अवस्था देखेर भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ अनुसार जग्गालाई १० वर्गमा छुट्याएर कित्ताकाटको व्यवस्था गर्न निर्देशन दिइएको हो ।
भू–उपयोग ऐनको दफा ४ (१)अनुसार हरेक स्थानीय तहले जग्गाको वर्गीकरण गरी १० भागमा छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, खोला–नाला–सिमसार क्षेत्र, सार्वजनिक उद्योग क्षेत्र, संस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारले आवश्यकता अनुसार तोकिएको क्षेत्र गरी वर्गीकरण गर्न स्थानीय तहलाई अधिकारमा छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button