
आरके श्रीवास्तव
गरुडा,२० माघ । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु शाह र लेखाका कर्मचारी जय प्रकाश महतोमाथि लाखौंको अनियमितता गरेको आरोप लागेको छ ।
उनीहरुले करिब आठ लाख रुपैयाँ अनियमितता गरेको स्थानियहरुले आरोप लगाएका छन् । सो नगरपालिकाको वडा नम्बर ९ मा आ.व. २०७९÷०८० को वजेटबाट अधुरो भवन निर्माणका लागी विनियोजन गरेको वजेट नक्कली बिल बनाई अनियमितता गरेको आरोप स्थानियहरुको छ ।
सो नगरपालिकाको वडा नम्बर ९ सोनरनीया टोलमा वडा कार्यालय अधुरो भवन निर्माणका लागी छुट्टयाइएको आठ लाख वजेट मौलापुर नगरपालिकाका साह र लेखा कर्मचारी महतोले भागवण्डा गरी भुक्तानी लिएको एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन् ।
मौलापुर नगरपालिकाका हाकिम साहसँग सम्पर्क गर्दा स्थानीय बिनोद राय यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी कार्य सम्पन्न भएको बताए । मैले कुनै किसिमको आर्थिक लाभ लिएको छैन प्रमुख साहले भने ।
यता सो वडाका वडा अध्यक्ष श्याम किशोर साहसँग सम्पर्क गर्दा मौलापुर नगरपालिकाले २ लाख ६५ हजार वरावरको फर्निचर खरिद गरी वडा कार्यालयमा दिएको बताउदै वडा कार्यालय र अस्पतालको बिधुत वायरिङ्ग गराएको बताए । वडा कार्यालय स्थापना भएको वेला बिधुत वायरिङ्ग खराब भएकोले नयाँ वायरिङ्ग गराउनु परेको अध्यक्ष साहले दाबी गरेका छन् ।






