
वीरगंज ।
नेपाल पत्रकार महासङ्घ पर्साले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ ।
कान्तिपुर टेलिभिजनका संवाददाता तथा वरिष्ठ फोटो पत्रकार श्रेष्ठलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले मङ्गलवार आयोजना गरेको विशेष समारोहमा मधेस प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले श्रेष्ठलाई नगद ५० हजार राशिको पुरस्कारसहित दोसल्ला ओढाएर कदर पत्र प्रदान गरेका छन् ।
पत्रकार श्रेष्ठलाई सम्मानित गर्दै मन्त्री क्षेत्रीले स्वर्गीय गोपाल गिरीको योगदानको उच्च प्रशंसा गरे । “स्वर्गीय गिरी केवल पत्रकार मात्र नभएर, समाजको परिवर्तनकारी आवाज र समर्पित नेता पनि हुनुहुन्थ्यो । उहाँले पत्रकारितालाई जनताको सेवा गर्ने माध्यमका रूपमा प्रयोग गर्नुभएको थियो,” क्षेत्रीले भने ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका उनले गोपाल गिरीको स्मृतिमा स्थापित पुरस्कारले पत्रकारहरूको व्यावसायिक निष्ठा र निष्पक्षता प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरे । “म पंकज श्रेष्ठजस्ता प्रतिबद्ध पत्रकारलाई सम्मान गर्न पाउँदा गर्व महसुस गर्दै छु,” मन्त्री क्षेत्रीले भने ।
पुरस्कृत श्रेष्ठले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै भने, “यो पुरस्कारले म माथि थप जिम्मेवारीको अनुभूति गराएको छ । सत्य र निष्पक्ष पत्रकारिताको माध्यमबाट समाजको सेवामा अझै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
स्वर्गीय गोपाल गिरी २०४७ सालमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष रहिसकेका थिए । त्यस बेला उनले पत्रकारहरूको हकहितको पक्षमा उल्लेखनीय काम गरेका थिए । गिरी तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको मनोनीत मेयरसमेत बनेका थिए । २०६० साल माघ १ गते तत्कालीन माओवादीले उनको हत्या गरेपछि उनको योगदानको कदर स्वरूप नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले यो पुरस्कार स्थापना गरेको हो ।
स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यसअघि शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र ब्रिजलाल पासवानलाई प्रदान गरिसकिएको छ ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक केसी लामिछाने, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, स्वर्गीय गोपाल गिरीका छोरा गिरीश गिरीलगायतले पनि आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका सचिव विजय चौहानले गरेका थिए ।






