
वीरेन्द्र रमण
जनकपुरधाम ।
कमला नदीमा पुल निर्माण माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसेका युवाको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ । तीनदिनदेखि अनशनमा बनेका उनीहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनीहरूलाई डाक्टरले उपचार शुरु गरिसकेका छन् । सबैलाई स्लाइनपानी चढाइएको छ ।
अनशनमा बसेका १० युवाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको संघर्ष समितिका संरक्षक रामरिझन यादवले बताए । उनले सिरहाका स्थानीय निकै लामो समयदेखि आन्दोलन गरेर सरकारको ध्यानाकर्षण गराउँदै आउदासमेत कुनै सुनुवाइ नभएपछि मुख्यमन्त्री सतिश कुमार सिंह समक्षसमेत ज्ञापन पत्र बुझाउँदा आश्वासनबाहेक केही नपाएपछि आफूहरु बाध्य भएर आमरण अनशनको कदम चाल्न परेको बताए । उनले भने, ‘अनशन हाम्रो रहर होइन, बाध्यता हो हामी बाध्यताका साथ अनशन थालेका छौँ ।’
यादवले भने, ‘हामीहरुले राखेको मागका विषयमा मन्त्रिपरिषदको बैठकबाट नै सम्बोधन गरिएको खण्डमा अनशन तोड्न तयार रहेको तर मधेश प्रदेशका भौतिकमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले आश्वासन मात्रै दिइरहेका छन् ।’
अनशनमा रहेका प्रणीव कुमार यादवले आफूहरुको मागप्रति विभिन्न निकायको आश्वासनबाहेक केही प्राप्त नभएको बताए । अनशन बस्नेमा संघर्ष समितिका संयोजक तथा कर्मचारीसमेत रहेका ई. प्रवीण कुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सम्साद आलम, शैलेश यादव, भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष ईन्द्रजीत यादव, औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र यादव, औरही गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जीवछ प्रसाद यादव, शिवशंकर यादव, मनिषकुमार यादव, रुपेश कुमार यादव छन् ।
आमरण अनशनमा बसेका भोगेन्द्र साहले भने, ‘पुल प्रदेश सरकारले पहल लिए मात्र पनि बन्छ, नत्र बन्दैन, केन्द्र सरकारले झन लफडा लगाइदिन्छ, त्यसैले यसको पहल प्रदेश सरकारले लिनुपर्छ र उसले नै यो निर्माण गर्नुपर्छ ।’ करिब १३ वर्षदेखि यो पुल निर्माण कार्य जारी छ । २०६८ जेठ ३१ गते ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले पुल निर्माणको ठेक्का पाएका थिए । तर समयमा निर्माण गर्न नसकेपछि ती कम्पनीको ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । लुम्बिनी बिल्डर्सले निर्माण कार्य अन्तिम चरणमा पु¥याएको थियो । २०७८ साउनमा उद्घाटन गर्ने तयारी चलिरहेको थियो । तर एक महिनाअघि नै १२ स्पानमध्ये एउटा स्पान भासिएको थियो ।
कम्पनीले पुलको बीमा गराएको थियो । तर बीमा कम्पनीबाट त्यसको भुक्तानी नपाएका कारण पुल निर्माणमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ । पुल २४ करोड ४२ लाख रुपैयाँमा निर्माण भएको हो । पुल पुनःनिर्माणका लागि सिरहामा पटकपटक आन्दोलन भएको छ । प्रधानमन्त्री र मन्त्रीले समेत पुल निर्माण समयमा हुन्छ भनेर प्रतिबद्धता जनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुल निर्माण माग गर्दै आन्दोलनमा बसेकालाई अनशन तोडाएर चाँडै पुल निर्माण हुने प्रतिबद्धता जनाएका थिए । र, सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिएका थिए । त्यसपछि प्रधानमन्त्री बनेका पुष्पकमल प्रचण्डले पनि त्यस्तै आश्वासन दिएका थिए । भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठले पनि निर्माणस्थलमा अनुगमन गरी चाँडै नै पुल निर्माण हुने आश्वासन दिएका थिए । त्यसपछि भौतिकमन्त्री बनेका रघुवीर महासेठले त पुल निर्माण हुने समयसीमा नै तोकेका थिए । उच्चस्तरबाट प्रतिबद्धता आए पनि पुल निर्माण नभएपछि युवाले मधेश सरकारविरुद्ध आन्दोलन शुरु गरेका हुन् ।
नागरिक समाजको ऐक्यवद्धता
सिरहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणको माग गर्दै जनकपुरधाममा बसेको आमरण अनशनलाई सिरहा नागरिक समाजले समर्थन जनाएको छ । केही आन्दोलनका कार्यक्रम घोषणा भएको छ । सिरहा नागरिक समाजले आमरण अनशनमै बसेर उठाइएको मुद्दाको छिटो सुनुवाइ गर्न माग गर्दै बिहीबार सिरहा बजार बन्द घोषणा गरेको थियो । बजार क्षेत्रमा मोटरसाइकल जुलुस निकालेर बजार बन्द गराउँदै आन्दोलन प्रभावकारी बनाउन उनीहरुले जनसमर्थनको लागि अपिल गरे । नागरिक समाजले शुक्रबारदेखि अनिश्चितकालीन बजार बन्द गरी चक्काजाम र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्दको अपिल गरेको छ ।






