
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमावर्ती क्षेत्र नेपालका जनतालाई भारतीय बजार सहज हुने गरेका कारण उनीहरुलाई भारतबाट दैनिक उपभोग्य वस्तुहरु ल्याउनसमेत सास्ती खेप्नु परिरहेको बताएका छन् । उनले दैनिक उपभोग्य बस्तु लिन जानेलाई सास्ती हुने गरेको र रातारात ट्रकका ट्रक सामान भने तस्करीमार्फत आउँदा कुनै समस्या नहुने गरेको बताए ।
नेपाल फाउण्डेसन नेपालको आयोजनामा नेपाल भारत सम्बन्धमा युवाको भूमिका विषय कार्यक्रममा मुख्यमन्त्री सिंहले यसरी तस्करी हँुदा सरकारको राजस्वसमेत गुम्ने गरेको जिकिर गरे । उनले यसका लागि समेत युवाहरुले तस्करी नियनत्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए । सिंहले भने, ‘तस्करी हुँदा राजस्व गुमिरहेको अवस्था छ भने हामीसँग प्रहरी नहुँदासमेत यस खालको गतिवधि रोक्न सकेका छैनौँ ।’ मुख्यमन्त्री सिंहले प्रदेश सरकार आफ्नै संयन्त्र निर्माण गरेर सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण गर्न पहल गर्ने बताए ।
सिंहले संयन्त्र खडा गरेर तस्कर पक्राउ गरे मात्रै प्रदेशको अर्थतन्त्रमा बल पुग्ने बताए । उनले भने, ‘रातोरात गाडीका गाडी तस्करी हुन्छन्, सरकारलाई आउनुपर्ने रेभिन्यु पनि गुम्दै गएको छ तर के गर्ने आफ्नै प्रहरी प्रशासन छैन, केही गर्न सकिदैँन ।’ प्रहरी प्रशासन केन्द्रीय पहुँचका आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको मुख्यमन्त्री सिंहको संकेत छ ।
मुख्यमन्त्री सिंहले भारतबाट लागुऔषध सहजरुपमा आउने गरेकाले मधेशको युवाको जीवन बर्बाद भइरहेको बताए । उनले खुला सीमाको फाइदा उठाउँदै गलत कार्यसमेत भइरहेको र यसलाई रोक्नसमेत युवाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हामी कहाँबाट रक्सी जाने गरेको छ र त्यसलाई पनि रोकौँ, उताबाट आउने गरेको लागु औषधलाई पनि रोकौँ, त्यसपछि मात्रै सीमावर्ती क्षेत्रमा हुने गलत क्रियालकाप रोकिने छ ।’
मुख्यमन्त्री सिंहले नेपाल भारतका युवाको एउटा नेटवर्क बनाएर एकापसा अनुभव आदानप्रदान गर्न वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, प्रदेश सभा सदस्य भाग्यश्री चौधरीलगायतले बोलेका थिए ।






