कस्तो होला राउतको ‘महाआन्दोलन’

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बंगलादेशको राजनीतिक परिवर्तनका लागि जनतालाई सम्मान गर्दै नेपालमा पनि महाआन्दोलन जरुरी भएको बताएका छन् । सोमबार राति उनले फेसबुक पेजमा लेखेका छन्, ‘जनताको शक्तिलाई कोटिकोटी नमन ! जतिसुकै छट्पटाउनुस्, तर छातीमा हात राखेर आफैँलाई सोध्नुस्, तपाईंलाई पनि थाहा छ । यो आलोपालोटालोका सरकारहरूले देशलाई कतै कुनै उँभो लगाउँदैन । केबल सबै भ्रष्टाचारीहरू मिलेर एकठाउँमा आई आलोपालो गरी देशलाई लुट्ने र आफूहरूलाई बचाउनेबाहेक केही गर्नै सक्दैन । त्यसैले यस्तै महाआन्दोलनबाट सबै भ्रष्टहरूलाई ‘ट्राइब्यूनल’द्वारा कारबाही गर्ने गरी अगाडि नबढे देश कहिले पनि बन्दैन । स्यालूट छ बंगलादेशका जनताहरूलाई ।’

राउतको दल जनमत स्वयम् अहिलेको ‘आलोपालोटालो’ सरकारमा सहभागी छ । मधेशका सबै दलहरुले यो सरकारलाई साथ दिनुको मुख्य मक्सद हो मधेश प्रदेश सरकारमा आफ्नो पकड कायम गर्नु । एमाले र कांग्रेसले असार १७ गते मिलेर सरकार बनाउने भनेपछि यो गठबन्धनलाई साथ दिने भनेर सबै मधेशी दलहरु निकै खुशी भए । आफ्नो पार्टी विभाजनको चोट खेपिरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धनलाई साथ दिने बताए । उनको पनि चाहना ७ वर्षदेखि मधेश सरकारमा हालिमुहाली गरिरहेको जसपा नेपालको गुमेको सत्ता दुई महिना नपुग्दै फिर्ता गर्नु थियो भन्नेमा शंका छैन ।

यस्तै, जनमत पार्टीले पनि भर्खर मधेश सत्ता सम्हालेकाले मधेश सत्ता नगुमोस् भनेर नयाँ गठबन्धनलाई साथ दिने भन्यो । लोकतान्त्रिक समाजवादी पार्टीले पनि नयाँ गठबन्धनलाई समर्थन गरेको थियो । सबैको चाहना मधेश प्रदेश सरकारमा भागवण्डा र केन्द्र सरकारका केही थान मन्त्री सुरक्षित गर्नु थियो भन्ने मधेश र देशका जनताले बुझेकै विषय हो । तर यो सत्ताको चिठ्ठा केबल मधेशमा जनमतलाई र केन्द्रमा लोसपालाई एक थान मन्त्रीमा सीमित भयो । बरु ८८ सिटको नेपाली कांग्रेसले १० मन्त्री पाउँदा वैशाखको अन्तिममा फुटेको र ७ सांसद भएको जनता समाजवादी पार्टीलाई दुई थान मन्त्री हात लाग्यो ।

यसपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगातार सरकारले समावेशिता र संघीयता मास्न लाग्यो भन्दै सरकारविरुद्ध क्रुद्ध देखिन्छन् । मधेश सरकार र केन्द्र सरकारमा जसपा नेपालको साथ मात्र छ, सहभागिता छैन । यसैक्रममा मधेश सरकार सुरक्षित गरेपछि जनमतका अध्यक्ष डा. राउतले पनि सरकार बनेको एक महिना नपुग्दै आफ्नै गठबन्धनलाई धारे हात लगाएर ‘भ्रष्टहरुको गठबन्धन र आलोपालो सरकार’ले देश नबन्ने भनेका छन् । उनले यो सरकारले देशलाई उँभो लगाउन नसक्ने आलोपालो सरकार मात्र चलाउने भनेका छन् । सरकारमा एमाले र कांग्रेस छन् । एमालेलाई गिरीबन्धु चिया बगान र कांग्रेसलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मतियार भनेर राजनीतिमा चर्चा छदैँछ ।

यही दुई दलको सरकारलाई विश्वासको मत दिँदै मधेश प्रदेश सरकार सुरक्षित गरेका राउत एक महिनामै गठबन्धनबाट वाक्क भएका हुन् र ? उनले भन्ने गरेको महाआन्दोलन चैँ कस्तो हो ? यो थाहा पाउन उनको फेसबुक पेज बेलाबेला हेरिरहन पर्ने भयो । जबकि उनले भनेको ‘आलोपालोटालो सरकार’मा उनको जनमत पार्टी लोसपा, जसपा, जसपा नेपालजस्तै एउटा सहयोगी ‘टालो’ नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button