
महेश कठायत
वीरगंज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच स्थानीय तहको संख्या घटाउने सहमति भएको बताएका छन् । कांग्रेस र एमालेबीच सोमबार राति भएको समझदारीमा संविधानको सुधार गर्नेदेखि पालिकाको संख्या घटाउने विषयमा सहमति भएको नेता कोइरालाले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्न लागेको गठबन्धन सरकारले संविधानको सुधारदेखि सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहको विषयलाई गम्भीरताका साथ लिने बताए ।
मंगलबार वीरगंजमा आयोजित स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीमा सुधारको खाँचो औल्याए । अहिलेको निर्वाचन प्रणाली खराब नभएको तर निर्वाचन प्रणालीलाई खराब बनाइएकोले अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि दलको एकल बहुमत आउन नसक्ने कुरामा सत्यता रहेको उनले बताए । त्यसैका लागि अहिले निर्वाचन प्रणालीलाई बदल्न खोजेको सुनाउँदै उनले निर्वाचन प्रणाली कस्तो बन्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेको बताए ।
‘नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्यो भने एउटा गन्तव्यमा पुग्न सकिन्छ’ भन्ने कुरा आफूले विगतदेखि पटकपटक भन्दै आएको स्मरण गर्दै नेता कोइरालाले अहिले त्यही कुरामा एमाले र कांग्रेसबीच समझदारी भएको बताए । अब बन्ने गठबन्धन सरकारले पार्टीभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्नसके सम्बृद्ध देश बनाउन सकिने कुरामा दुई मत नभएको उनले दाबी गरे । सो अवसरमा नेता कोइरालाले नेपाली कांग्रेस र एमालेबीचको सहमतिलाई गाउँगाउँसम्म पुर्याउन नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।






