
समाजमा दैनिकजसो विभिन्न प्रकृतिका अपराजन्य घटनाहरु भइरहेका छन् । चोरी, डकैतीदेखि हत्या हिंसासम्मका जघन्य पराधका घटनाहरु हरेक दिन सार्वजनिक भइरहदा समाजमा सुरक्षाको अवस्था कस्तो भन्ने कुरालाई दर्शाएको छ । नागरिक स्तरमा अपराधजन्य घटनाहरु न्युनिकरणका लागि पहल नभएका हो या सुरक्षा संयन्त्रको कमजोरी हो ? भन्ने प्रश्नमा घोत्लिनुपर्ने बेला भएको छ । मधेश प्रदेशका आठ वटै जिल्लाको मात्रै कुरा गर्ने हो भने पनि एकदिनमा चार–पाँच वटा वेवारिसे शवहरु भेटिएका छन् । चोरी डैकती र लागु औषध बरामदका घटनाहरु पनि हरेक दिन दोहोरिदै आएका छन् । लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्ने गरेको भए पनि यस्ता घटनाहरु कमि आउन सकिरहेको देखिदैन । भारतसँगको खुला सिमानका कारण तराई मधेशमा अपराधको ग्राफ केही बढेको देखिए पनि यस क्षेत्रमा प्रहरी प्रशासनको सक्रियता पनि उत्तिकै रहेको सुरक्षा निकायका अधिकारीको तर्क छ । अपराधजन्य घटनाहरु भइसकेपछि बाहिरिएको तथ्याङ्क डरलाग्दो देखिरहेका बेला यस्ता घटनाहरु न्यनिकरणका लागि कसको भूमिका के हुन सक्छ भन्ने विषयमा कुनै पनि निकायको गम्भीरता देखिदैन ।
मधेश प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म मात्रै एक सय नौ जनाको हत्या भएको छ । पछिल्लो चार वर्षको अवधिमा चार सय ३१ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले प्रष्ट पारेको छ । उक्त तथ्याङ्कलाई मात्रै आधार मान्ने हो भने हरेक तीन दिनमा एक जनाको हत्या भएको देखिन्छ । हत्या जस्तो जघन्य अपराधको यो आँकडा आफैमा डरलाग्दो र चिन्ताजनक हो । यो बाहेक मधेश प्रदेशमा हरेक दिनजसो भेटिएका वेवारिसे शवहरुको अवस्था पनि उत्तिकै छ । हरके वर्ष करिब ७० को हाराहारीमा वेवारिस शवहरुको सनाखत हुन नसकेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । यसरी समाजमा हत्या हिंसाका घटनाहरुको बढ्दो ग्राफलाई न्युनिकरण गर्नका लागि सरकारी संयन्त्रहरुको प्रभावकारिता देखिदैन । समाजमा यौनदुव्र्यवहार, घेरलु हिंसा, जबर्जस्तीकरणी, कुटपिट, बालविवाह, बोक्सीको आरोप, बालविवाह, बहुविवाह, दाइजो प्रथालगायतका घटनामा महिला तथा बालबालिका बढी पीडित छन् ।
चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा मधेश प्रदेशमा यौनजन्य अपराधसम्बन्धी एक सय ४०, बालविवाह तथा बहुविवाहसम्बन्धी ३९, जातीय छुवाछुतसम्बन्धी चार, बोक्सी आरोपमा सात, दाइजो, जबर्जस्ती करणी र घरेलु हिंसाका कारण कर्तव्य ज्यानसम्बन्धी चार उजुरी परेका छन् । यस अवधिमा जबर्जस्ती करणी र बालयौन दुरुपयोगसम्बन्धी मधेश प्रदेशमा एक सय ४० उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा बोक्सीको आरोप देशभर दर्ता भएका ४३ उजुरीमध्ये ३२ वटा उजुरी मधेश प्रदेशमा परेका थिए । गत वर्ष देशभर अपहरण जबर्जस्तीकरणीका ५९ उजुरीमध्ये पनि ३३ उजुरी मधेश प्रदेशमा परेका थिए । यसरी समाजमा अपराधको अवस्था मधेश प्रदेशमा झनै विकराल देखिन्छ । समाजमा भइरहेका आपराधिक गतिविधीको कारण समान्य रिसिबीदेखि योजनाबद्ध ढंगबाट हुने गरेको खुल्ने गरेको छ । कतिपय घटनाहरुमा आफन्त र परिवारकै सदस्यहरुको समेत संलग्नता देखिनुले हरेक घर परिवार आफैमा जिम्मेवार हुनुपर्छ भन्ने कुरालाई थप प्रस्ट पारेको छ । त्यसैले सभ्य र सुरक्षित समाज निमार्णका लागि सरकारी सुरक्षा संयन्त्रहरुको थप प्रभावकारितासँगै नागरिक आफै पनि सचेत हुन जरुरी छ ।






