
मधेशदृष्टि
जनकपुरधाम ।
प्रदेश सरकारको बजेट कतिसम्म दुरुपयोग हुने गरेको छ भन्ने एउटा उदाहरण बनेको धनुषाको हंसपुर नगरपालिका–४ सुुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर निर्माण गरिएको सार्वजनिक दलान । यो दलान मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १५ लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको हो । दलान नदीको मुहानमै निर्माण गरिएको छ । जसको कुनै औचित्य छैन । यसले भन्छः बजेट दुरुपयोग भएको छ ।
उसो त मधेशमा यस्ता दलान र मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको छ । स्थानीय पालिकाका वडा कार्यालयदेखि प्रदेश सरकारले समेत मन्दिर र दलान निर्माणमा असंख्य लगानी गरेका छन् । अझ कतिपय मन्दिर र दलानमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन् । केही दलान र मन्दिर सम्बन्धित सरोकारवालाले चन्दा संकलनबाट पनि निर्माण गरेर परोपकारी काम पनि गरेका छन् ।
राज्यको लगानीमा निर्माण भएका मन्दिर र दलान वर्षभर प्रायः बन्द रहन्छन् । प्रदेश सरकारले मात्रै मन्दिर र दलानका नाममा बर्सेनी करोडौँ रुपैयाँ भन्दा बढी खर्च गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि करोडौँ रकम मन्दिर र दलानका नाममा छुट्याएको छ । यसअघिका वर्षमा समेत प्रदेश सरकारले मन्दिर र दलानका नाममा यही हाराहारीमा रकम खर्च गरेको पाइएको छ ।
वडा कार्यालयदेखि प्रदेश सरकारले मन्दिर र दलानका नाममा खर्च गरेको अधिकांश रकम दुरुपयोग भएको छ । कतिपय मन्दिर नै नभएको ठाउँमा बजेट खर्च भएको पाइएको छ भने कतिपय स्थानमा बिनाकाम लाखौँको लगानीमा दलान निर्माण गरिएका छन् । स्थानीय अरुण कुमार मण्डलले भने, ‘सुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर सार्वजनिक दलान निर्माण कार्य गरी सरकारी बजेट दुरुपयोग गर्नुका साथै मानवअधिकार हनन समेत गरिएको छ, नदीको मुहानमै दलान बनाउनु बजेटको दुरुपयोगबाहेक अरु केही होइन ।’
उनले त्यस ठाउँमा दलान निर्माण नगर्न अदालतबाट निषेधाज्ञा जारी भए पनि त्यसको बेवास्ता गर्दै उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम मण्डलले मन्त्रालयका कर्मचारीसँग मिलोमतो र कमिसनको खेलमा नदी किनारामा अवैध तरिकाले दलान निर्माण गरेको आरोप लगाए ।
वडाध्यक्ष लालबाबु यादवले दलान निर्माणले स्थानीयलाई कुनै सहजता नभएको उल्टै कृिष क्षेत्रलाई असर गर्ने दाबी गरे । उनले माटो परीक्षण नै नगरी चोरबाटोबाट उपभोक्ता समिति बनाएर दलान निर्माण कार्यलाई मूर्त रुप दिइएको जिकिर गरे । उनले सरकारी बजेट हिनामिना गर्ने उद्देश्यले दलान निर्माण गरिएको र यसका लागि वडालाई पनि कुनै सोधखोज नगरिए बताए । उनले स्थानीयलाई तत्काल निर्माण कार्य रोक्न सहयोगका लागि अपिलसमेत गरे । उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम मण्डल भने सम्पर्कमा आएनन् ।






