
मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई दरिलो झापड प्रहार गरेको बताएका छन् । महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले महाधिवेशन उद्घाटन शत्रमा उपस्थित भिडले जसपा कमजोर गरेर संघीयता समाप्त पार्ने मनसुबा बोकेकाहरुले दरिलो झापड भेटेको प्रतिक्रिया दिए ।
संघीयता पक्षधर मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकुलता, सत्तापक्षको षड्यन्त्रका बीच समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भइसकेको दाबी गरे ।
हिमाल, पहाड र मधेशको ऐक्यवद्धताले जनता समाजवादी पार्टी नेपालको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको भए पनि संघीयताविरोधीले भविष्यमा गर्नसक्ने षड्यन्त्रलाई पराजित गर्न सचेत रहन नेता कार्यकर्तालाई निर्देश समेत दिए । जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेताहरु हरिनारायण यादव, डा. सुरेन्द्र यादव, लाल किशोर साह, स्थानीय आयोजक समितिका संयोजकको उपस्थिति थियो ।





