

मद्रसा के हो ?
मद्रसा अरबी शब्द हो जसको अर्थ सिकाइको केन्द्र हुन्छ । अर्थात् मद्रसा यस्तो ठाउँ हो जहाँ सिक्ने र अध्ययन गर्ने गरिन्छ । मद्रसा शिक्षण सम्बन्धी कुनै पनि संस्थाको लागि प्रयोग गरिने शब्द हो चाहे त्यो धार्मिक होस् वा सांसारिक । मद्रसा शब्दले खास प्रकारको धार्मिक स्कुल वा कलेजलाई जनाउँदछ जहाँ इस्लाम धर्मको अध्ययन गरिन्छ । यद्यपि त्यहाँ त्यही मात्र विषयहरूको अध्ययन हुन्छ भन्ने चाहिँ होइन । नेपालमा र सम्पूर्ण भारतीय उपमहाद्वीपमा मद्रसा भन्नाले परम्परागत इस्लामी संस्थालाई जनाउँदछ जहाँ परम्परागत इस्लामी शिक्षा अध्ययन–अध्यापन हुने गर्दछ । सामान्यतः नेपालमा मद्रसा शब्दले तीन किसिमका इस्लामी शैक्षिक संस्थालाई जनाउँदछ; पहिलोलाई जामिया वा दारुल उलूम भनिन्छ । यसमा सामान्यतया कलेज र विश्वविद्यालय तहको अध्ययन अध्यापन हुने गर्दछ । दोश्रोलाई मद्रसा भनिन्छ । यसमा सामान्यतया प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको अध्ययन अध्यापन हुने गर्दछ । तेश्रोलाई चाहिँ मक्तब भनिन्छ । यसमा सामान्यतया पूर्व प्राथमिक र कहिलेकाहीँ प्राथमिक तहको अध्ययन अध्यापन हुने गर्दछ ।
इस्लामी शिक्षा
इस्लामको परम्परा सिक्नु र सिकाउनुबाट प्रारम्भ हुन्छ । कुरआन शब्द जुन मुसलमानहरूको प्रमुख धार्मिक ग्रन्थ हो, को शाब्दिक अर्थ पढ्नु र पाठ गर्नु हुन्छ । ईश्वरीय श्लोकहरूको अवतरण पूरा भएर कुरआनको रूपमा संग्रहित भएपछि, यो ग्रन्थ इस्लामी शिक्षाको केन्द्र भाग बन्यो । मुसलमानहरूले यसलाई अल्लाहको पूर्ण पवित्र वाणीको रूपमा ग्रहण गरे । त्यसैले यसलाई परिवर्तन वा संशोधन गर्न सकिँदैन । प्रत्येक मुसलमानका लागि हार्दिक रूपमा यस ग्रन्थका मार्गनिर्देशनहरूलाई मान्नु र अनुशरण गर्नु कर्तव्य (ड्युटी) भयो । इस्लामी शिक्षा धार्मिक ज्ञानको प्रसार गर्नुमा मात्र सीमित छैन, यसले मुसलमानहरूलाई मानव कल्याणका निम्ति आवश्यक पर्ने सवै खाले सांसारिक शिक्षा हासिल गर्न पनि निर्देश गर्दछ । यी निर्देशहरूले इस्लामी शिक्षाको रूपमा बुझिने भिन्न शिक्षा प्रणालीलाई विकसित गर्ने कार्यमा जीवन्त भूमिका निर्वाह गरेका छन् । इस्लामी शिक्षा प्रणालीले इस्लामी ज्ञानको प्रसारका लागि निश्चित उद्देश्य, पाठ्यक्रम संरचना र शैक्षिक संस्थाहरूको श्रृंखलालाई आफूभित्र समाहित गरेको छ ।
मद्रसा शिक्षाको लक्ष्यः एक दार्शनिक दृष्टिकोण
शिक्षाको लक्ष्यले विभिन्न दार्शनिक श्रोतहरूद्वारा निर्धारित जीवनको त्यस लक्ष्यलाई निर्देशित गर्दछ जसले कुनै विशेष समूहको मानिसहरूको जीवनलाई प्रभावित गर्दछ । शिक्षा जीवनको लक्ष्य प्राप्त गर्ने एक मात्र गाडी हो । मुस्लिम धार्मिक मान्यता–प्रधान समाज भएकोले उसको जीवनको लक्ष्य मुख्यतः धर्मद्वारा निर्देशित भएको हुन्छ । इस्लामी मान्यता अनुसार मानिसको जीवनको लक्ष्य परलोकमा मोक्ष प्राप्ति हो । मुसलमान न्यायको अन्तिम दिन (कयामत) माथि आस्थावान हुन्छ जुन दिन अल्लाहले मानिसको कर्मको फैसला गर्नेछन्, उसलाई कर्म अनुसार पुरस्कारको रूपमा स्वर्ग र दण्डको रूपमा नर्क प्रदान गर्नेछन् । मुसलमानले शिक्षालाई जीवनको लक्ष्य प्राप्त गर्ने साधनको रूपमा प्रयोग गर्दछ । जीवनको यो महान् लक्ष्य प्राप्त गर्नका लागि इस्लाम धर्मले शिक्षा हासिल गर्न बडो स्पष्ट निर्देशन दिएको छ । इस्लाम धर्मको अनुयायीको रूपमा मुसलमानको पहिलो कार्य अल्लाहको इच्छाको अनुसरण गर्नु हो जुन पवित्र कुरआनको रूपमा संग्रहित छ । कुरआनले पनि मुसलमानलाई सवै प्रकारका ज्ञान हासिल गर्न आदेश दिएको छ जुन समाज कल्याणको लागि आवश्यक हुन्छ ।
मियाँसाहिब (१९९१) ले मुसलमानका लागि शिक्षाको दुई व्यापक क्षेत्रको बारेमा बताएका छन् —
(क) फर्ज–ए–ऐन (अनिवार्य उत्तरदायित्व वा प्रत्येक मुसलमानले प्राप्त गर्नुपर्ने शिक्षा)
(ख) फर्ज–ए–कफाया (सामाजिक वा सामूहिक उत्तरदायित्व)
फर्ज–ए–ऐन त्यस प्रकारको शिक्षा हो जुन प्रत्येक मुस्लिमको लागि अनिवार्य छ । फर्ज–ए–ऐनमा समाहित शिक्षा (ज्ञान) प्राप्त गर्नु प्रत्येक मुस्लिम व्यक्तिको अनिवार्य कर्तव्यभित्र पर्दछ । फर्ज–ए–कफाया त्यस प्रकारको शिक्षा हो, जुन समुदायका अन्य सदस्यहरूको कल्याणका लागि मुस्लिम समुदायका केही सदस्यहरूले हासिल गर्दछ । समाजको कुनै वा केही व्यक्तिले यो शिक्षा (ज्ञान) प्राप्त गरेमा समाज वा समुदायका सवै मानिसहरूको कर्तव्य पूरा हुन्छ र उनीहरू पापबाट मुक्त हुन्छन् ।
नेपाल र भारतीय उपमहाद्वीपमा मद्रसाहरू फर्ज–ए–ऐन सँग सम्बन्धित शिक्षा प्रदान गर्ने केन्द्र बनेका छन् । उनीहरूले फर्ज–ए–ऐनको मान्यताअनुसारको शिक्षा प्रदान गर्ने पाठ्यक्रमहरूलाई प्रयोगमा ल्याएका छन् । यी मद्रसाहरूले पूर्ण धार्मिक पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्दछन् जसलाई धार्मिक विषयको रूपमा बुझ्ने गरिन्छ । मद्रसा शिक्षाको यस दार्शनिक र धार्मिक धारणाको कारणले मद्रसा शिक्षा राज्यको मूलधारको शिक्षासँग सामान्यतः मेल खाँदैन । मूलधारको शिक्षा फर्ज–ए–कफाया प्रकृतिको शिक्षा (सामाजिक वा सामूहिक उत्तरदायित्व) सँग सम्बन्धित छ । इस्लामी शिक्षाको दार्शनिक मान्यता अनुसार फर्ज–ए–ऐन (व्यक्तिसँग सम्बन्धित) र फर्ज–ए–कफाया (समूहसँग सम्बन्धित) दुवै प्रकृतिको शिक्षा मुस्लिम समुदायको निम्ति आवश्यक छ । यही कारण हो जसले गर्दा भारत र भारतीय उपमहाद्वीपका अन्य राष्ट्रहरूमा दुई प्रकारका मद्रसा र दुई किसिमका पाठ्यक्रमहरू छन् ।
पहिलो वर्गमा चाहिँ यस्ता मद्रसाहरू छन् जुन राज्यको मूल शैक्षिक धारसँग जोडिएका छन् र अर्को वर्गमा चाहिँ स्वतन्त्र प्रकृतिका मद्रसाहरू छन् । विभिन्न देश र राज्यहरूमा मद्रसा बोर्डहरू छन्, जस्तै— भारतको बिहारमा बिहार मद्रसा बोर्ड, बंग्लादेशमा बंग्लादेश मद्रसा एजुकेशनल बोर्ड । यी मद्रसाहरू राज्यको शिक्षाको मूलधारसँग जोडिएका छन् । यसरी नै, भारतमा सयौँ स्वतन्त्र मद्रसाहरू छन् । दारुल उलूम देउबन्द (लखनऊ), नदवतुल उलमा (लखनऊ), अल्–जामिया अल्–सलफिया र दारुल–उलूम मञ्जर इस्लाम (बरेली) जस्ता स्वतन्त्र मद्रसाहरूले आफ्नो स्वतन्त्र पाठ्यक्रम र पाठ्यपुस्तक विकास गरेका छन् । र, यी मद्रसाहरूबाट जारी गरिएका शैक्षिक प्रमाणपत्रहरूलाई भारतमा मान्यता प्राप्त छ जबकि यी मद्रसाहरू राज्यको मूल शैक्षिक धारमा समाहित भएका छैनन् । यसरी, भारत, पाकिस्तान र बंग्लादेश जस्ता दक्षिण एसियाली राष्ट्रले मद्रसा शिक्षालाई आफ्नो देशको शिक्षा प्रणालीमा समावेश गरेका छन् । मुस्लिम नागरिकले यस प्रणालीद्वारा यी देशहरूमा शिक्षा हासिल गरिरहेका छन् । भारतका केही राज्यहरूमा स्वायत्त प्रकृतिका मद्रसा बोर्डहरू छन् जसले मद्रसाहरू सञ्चालन र नियन्त्रण गर्दछन् । सरकारले तिनीहरूलाई आर्थिक श्रोत जुटाउँछ । यी मद्रसाहरूका शैक्षिक प्रमाणपत्रहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ ।
मद्रसाको इतिहास
इस्लामको प्रसारको युगमा फर्केर हे¥यौं भने, पैगम्बर मुहम्मद (सल्ल.) स्वयंले शिक्षाको प्रबद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको पाउँछौं । सफा पहाडको फेदमा स्थित दारुल अर्कममा पैगम्बर मुहम्मद (सल्ल.) ले पहिलो मद्रसा स्थापित गरेर स्वयंले प्रशिक्षण दिनुभएको थियो । इस्लामी शिक्षामा आधारित यस प्रथम शैक्षिक प्रतिष्ठानमा अबू बकर (रजि.), उमर (रजि.) र केही अन्य सहाबीहरू पहिला विद्यार्थीहरू थिए । उहाँले पछि पढाउने जिम्मेवारी इब्न उम्मे मक्तुम र मास आब बिन् उमैरलाई सुम्पेर मदिना पलायन हुनुभयो । शिक्षाको प्रसारको लागि मुसलमानबाट भएको पहलको रूपमा उहाँले बद्र–युद्धमा जितेर बन्दी बनाइएका ६०–७० जना सत्रुलाई प्रत्येकलाई १० जनाका दरले बालबालिकाहरूलाई शिक्षा दिएमा कैदमुक्त गरिदिने घोषणा गर्नुभएको थियो । पैगम्बर मुहम्मद (सल्ल.) मदीना आउनुभएपछि उहाँले नबबी मस्जिदनजिकै एउटा शैक्षिक संस्था स्थापना गर्नुभयो । यसलाई मद्रसा–ए–सुफ्फा भनिन्थ्यो । यस शैक्षिक संस्थामा विद्यार्थीहरूलाई बस्ने सुविधा पनि थियो जहाँ गरीब र शहरबाहिरका विद्यार्थीहरू बस्ने गर्थे । अबू होरैरः, मुयाज इब्न जबाल, अबूजर जिफारी जस्ता सहाबीहरू त्यहाँका विद्यार्थी थिए । यो मद्रसा बिस्तारै मदीनाको केन्द्रीय शैक्षिक संस्थाको रूपमा रूपान्तरण भयो ।
ईसाको सातौं शताब्दीमा इस्लाम धर्मको उदय भएदेखि नै मद्रसा परम्परागत इस्लामी (धार्मिक) शिक्षाको लागि मुस्लिम समुदायद्वारा भरोसायोग्य ठाउँ बन्न थालेको थियो । साउदी अरबबाहिर पहिलो मद्रसा फातिमिद खलिफाहरूद्वारा १००५ मा इजिप्ट (मिश्र) मा स्थापना भएको मानिन्छ । यस पहिलो मद्रसामा सवै प्रकारका सामग्रीहरू उपलब्ध थियो; जस्तै— पुस्तकालय, विभिन्न विषयहरू पढाउने शिक्षकहरू । यस मद्रसाको उल्लेखनीय कुरा चाहिँ यसको पाठ्यक्रम थियो जसमा धार्मिक शिक्षा, खगोल शास्त्र, वास्तुकला र दर्शनशास्त्र समावेश थिए । सुन्नी मुस्लिमहरूले मिश्र (इजिप्ट) कब्जा गरेपछि उनीहरूले इस्लामको आफ्नै अवधारणा प्रतिस्थापित गरे र त्यहाँ प्रारम्भिक ज्ञानमा आधारित पुस्तकहरू समावेश गराए । बग्दादमा निजाम–उल–मुलक हसन बिन्–अल् तुसीले १०६७ मा निजामिया नामको पहिलो व्यवस्थित मद्रसाको स्थापना गरे । निजामिया मद्रसाले कर्मचारी, प्रशासक, शाही अदालतका लागि न्यायधीश र मुफ्ती (धर्माधीश) सम्बन्धी प्रशिक्षण दिने योजना बनायो । यस मद्रसाका शिक्षक तथा विद्यार्थीहरू कुलीन वर्गका थिए । मद्रसाका मुख्य लक्ष्यहरूमध्ये पहिलो चाहिँ प्रशासक हुने लायकका कर्मचारी उत्पादन गर्नु र फिकः (इस्लामी विधिशास्त्र) को अध्यापन गराउनु थियो । मद्रसाको यो लक्ष्य परिपूर्ति भइरहेको थियो ।
सुन्नी सम्प्रदायका हनफी, हम्बली, मालिकी र साफई सवै खेमाका मद्रसाहरूका आ–आफ्नै पाठ्यक्रमहरू थिए । यी मद्रसाहरूको मुख्य लक्ष्य भनेको इस्लामी कानूनको समझ विकसित गर्नु नै रहेको थियो । त्यसैले यिनमा कुरआन, हदीस, कियास (कारणमा आधारित तर्क), इज्मा (मुस्लिम समुदायको सामूहिक निर्णय) प्रमुख विषयहरू समावेश थिए । यी मद्रसाहरूको पाठ्यक्रममा अरबी व्याकरण, तर्क शास्त्र, दर्शन शास्त्र आदि विषयहरू पनि समावेश गरिएका थिए । रहमान नामक एक लेखक (२००४) का अनुसार शाह अब्दुल रहिम भन्ने एक मुस्लिम विद्वान्ले १७१८ मा बग्दादको रहमानिया मद्रसाका लागि एक पाठ्यक्रम विकसित गर्ने प्रयास गरेका थिए ।
भारतीय उपमहाद्वीपमा मद्रसाको अभ्यास:
मुस्लिम विद्वान् निजामुद्दीन सिहाल्वीले १७४८ मा फरंगी महल लखनऊमा मद्रसाको लागि पहिलो मापदण्ड पुगेको पाठ्यक्रम विकसित गरे । यिनीबाट विकसित पाठ्यक्रमलाई ‘दर्श–ए–निजामी’ को नामले चिनिन्छ । यसअघि शाह अब्दुर्रहीमद्वारा तयार पारिएको पाठ्यक्रममा मंकुलात (अध्यात्मिक ज्ञान) माथि जोड दिइएको थियो । ‘दर्श–ए–निजामी’ मा माकुलात (सामान्य ज्ञान) माथि जोड दिइएको थियो । यसअघि व्याकरण, तर्कशास्त्र र दर्शन शास्त्रमाथि बढी पुस्तकहरू थिए । भारत, पाकिस्तान, बंग्लादेशजस्ता दक्षिण एसियाली राष्ट्रहरूले आफ्नो मूल शिक्षा प्रणालीमा मद्रसा शिक्षालाई पनि समाहित गरेका छन् । यी राष्ट्रहरूमा लाखौंको संख्यामा मुसलमानहरू मद्रसामा शिक्षा हासिल गर्दछन् । भारतका केही राज्यहरूमा स्वायत्त मद्रसा बोर्डहरू छन् जसले मद्रसाहरू सञ्चालन गर्दछन् र तिनलाई नियमन गर्दछन् । सरकारले तिनीहरूलाई आवश्यक कोषको व्यवस्था गरेको हुन्छ । तिनका शैक्षिक प्रमाणपत्रले मान्यता प्राप्त गरेको छ । पाकिस्तानमा मद्रसाहरू नीजि इन्टरप्राइजेजको रूपमा सञ्चालित छन् । यद्यपि सरकारले तिनीहरूलाई कोष उपलब्ध गराउँदछ । बंग्लादेशमा मद्रसाहरू अझ बढी व्यवस्थित छन् । त्यहाँ मद्रसाहरू सरकारको नियमित बजेटबाट सञ्चालित छन् । यी मद्रसाहरूले इस्लामी शिक्षा मात्र प्रदान गर्दैनन् बरु यिनीहरूले मुस्लिम विद्यार्थीहरूलाई आधारभूत शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । सामान्यतः यी मद्रसाहरूको मुख्य विषयहरूमा कुरआन, हदीस, फिका, इस्लामी इतिहास, अरबी र उर्दू जस्ता भाषा विषयहरू पर्दछन् ।
भारतमा मुसलमानको प्रवेशपछि भारतीय उपमहाद्वीपमा मद्रसा शिक्षाको बिस्तार भयो । दारुल उलूम देउबन्द, नदवतुल ओलमा, दारुल उलुम मञ्जर इस्लाम बरेली, अल्–जामिया अल्–सलफिया, जामेअतुल फलाह, मद्रसा अस्सरफिया मुबारकपुर, मद्रसा अहमदिया सलफिया दरभंगा भारतका निकै प्रख्यात मद्रसाहरू हुन् ।
‘तारिख–ए–फेरिश्ता’ अनुसार भारतमा पहिलो मद्रसा चाहिँ पश्चिमी भारतको मुलतान प्रान्त (हाल पाकिस्तान) मा स्थापना भयो । सम्भवतः छैठौं शताब्दीमा नसिरुद्दीन कबाचाले मौलाना कुतबुद्दीन कसानीका लागि मद्रसा फिरोजी भवन बनाएका थिए । यो मद्रसा नै भारतीय उपमहाद्वीपमा औपचारिक रूपमा स्थापना भएको पहिलो मद्रसा हो भन्ने विश्वास गरिन्छ ।
नेपालमा मद्रसा शिक्षा
नेपालमा मद्रसा शिक्षाको इतिहासबारे स्पष्ट कुनै धारणा बनेको छैन । इतिहासकारहरूका अनुसार मुसलमानहरू तेह्रौं शताब्दीमा नेपालका पहाडी जिल्लाहरूमा प्रवेश गरेका थिए । त्यसै समयमा काठमाडौं उपत्यकामा मस्जिदहरूको निर्माण भएको देखिन्छ । मस्जिदहरूमै मुसलमानहरूले आफ्ना बालबालिकाहरूलाई आधारभूत इस्लामी शिक्षा दिन थाले । धर्मगुरुहरूले यी मस्जिदहरूमा धार्मिक शिक्षा प्रदान गर्न शुरुआत गरे । यसरी नै तराई÷मधेशमा मुसलमानहरू त्यसभन्दा पहिलेबाट नै बस्दै आएका थिए । स–साना मक्तबहरूको प्रयास तराईमा पहिलेबाट नै भइसकेको थियो । भारतको लखनऊ, रामपुर, ढाकाजस्ता शहरहरूमा मद्रसा शिक्षा फस्टाएपछि यसको प्रभाव नेपालको तराईका जिल्लाहरूमा परेको स्वतः अनुमान गर्न सकिन्छ । यसरी के विश्वास गर्न सकिन्छ भने नेपालमा मद्रसाहरूको स्थापना मल्लकालमा नै भएको हो ।
राणाकालमा शिक्षामाथि राणाहरूको हस्तक्षेप भएपछि मद्रसाहरूलाई पनि यसले गाँजेको थियो । त्यसैले राणा कालपछि चाहिँ मद्रसाहरूको संख्यामा ठूलो वृद्धि भएको तराईका पुराना मद्रसाहरूको स्थापना कालले प्रष्ट्याउँछ । पञ्चायती कालमा मद्रसाहरू नेपालमा सयौंको संख्यामा अस्तित्वमा थिए । २०४६ सालको परिवर्तनपछि मद्रसाहरूको संख्यामा झन् वृद्धि भएको यथार्थ हो । २०५२ सालमा सरकारले मद्रसा जाँचबुझ कार्यदल बनाएर मद्रसाहरूको सर्वेक्षण गर्दा मद्रसाहरूको लगभग संख्या स्पष्ट भएको थियो । २०६३ सालमा सरकारले निःशुल्क मद्रसा दर्ताको प्राबधान ल्याएपछि मद्रसा र खास गरी साना मद्रसा (मक्तब) को संख्यामा झन् ठूलो वृद्धि भएर आयो । हाल सयौंको संख्यामा ठूला मद्रसाहरू छन् । सरकारी आँकडा अनुसार ११९७ मद्रसाहरू दर्ता भएका छन् । केही मद्रसाहरूमा स्नातक तहसम्मको अध्ययन–अध्यापन हुन्छ । केही बालिका मद्रसा (बनात) हरू पनि सञ्चालनमा छन् जसमा स्नातक तहसम्मको शिक्षादीक्षा दिइन्छ ।
कपिलवस्तु कृष्णनगरको जामिया सेराजुल उलूम, सुनसरी जल्पापुरको दारुल उलूम नुरुल इस्लाम, सुनसरी भुटहाको जमिअतुल इस्लाह अल् इस्लामिया, रौतहटको राजपुर फरहदवास्थित मद्रसा महमुदिया नेपालका ठूला मद्रसाहरू हुन् । काठमाडौंको नेपाली जामे मस्जिदकै परिसरमा भएको मद्रसा इस्लामिया (स्कूल) नेपालको सर्वाधिक प्राचीन मद्रसाहरूमध्ये पर्दछ ।
मौलिक हकको रूपमा शैक्षिक हक
मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २६ अनुसार प्रत्येक व्यक्तिलाई कमसेकम प्रारम्भिक र आधारभूत तहसम्म निःशुल्क शिक्षाको अधिकारक छ । विश्वका प्रायः सवै मुलुकहरूमा बिना कुनै भेदभाव सबै बालबालिकाहरूलाई आधारभूत शिक्षा उपलब्ध गराउन विभिन्न प्रयासहरू भएका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २१ मा सामाजिक न्यायको प्रत्याभूतिको कुरा उल्लेख गर्दै भनिएको छ– आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, उत्पीडित वर्ग, गरीब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने अधिकार हुनेछ ।
नेपाल सरकारले विना कुनै धरौटी मद्रसाहरूलाई प्राथमिक स्कूलको रूपमा दर्ता गर्ने प्रतिबद्धता जनाउँदै यसको व्यवस्था ग¥यो । यसपछि ठूलो संख्यामा मद्रसाहरू सरकारकामा दर्ता भए । तर, यो व्यवस्था चुनौतिपूर्ण पनि छ । देशका धेरै मुसलमानहरू, खास गरी मौल्वीहरूले यस प्रयासबारे असन्तुष्टि जाहेर गरेका छन् । उनीहरूको सोचाइ अनुसार सरकारको यस पहलले मद्रसाको सांस्कृतिक वातावरण प्रदुषित गर्न सक्दछ ।
मद्रसा शिक्षा
‘मद्रसा शिक्षा’ एक महत्वपूर्ण विषय हो जसलाई राज्यद्वारा दशकौंदेखि राज्यको मूल शैक्षिक प्रवाहबाट अलग गरी राखियो । यसका बावजुद मुस्लिम समुदायले मद्रसा शिक्षालाई दशकौंदेखि अस्तित्वमा राख्यो । उनीहरूले विना कुनै आर्थिक लाभ र विना कुनै सरकारी सहयोग सयौं मद्रसा चलाए । मद्रसाहरूको विषयमा राज्यले न कहिल्यै कुनै चासो राख्यो न यसको व्यवस्थापनलाई कुनै बाधा नै पु¥यायो, यसरी मद्रसा शिक्षा प्रणाली दशकौंदेखि राज्यविहीन अवस्थामा चलिरह्यो । नेपाल र भारतीय उपमहाद्वीपमा, मद्रसा धार्मिक र सांस्कृतिक शिक्षा प्रदान गर्ने मुस्लिम समुदायको सबैभन्दा विश्वसनीय एवम् भरोसायोग्य शैक्षिक संस्थाको रूपमा रहेको छ । नेपालमा मद्रसा सयौं वर्षदेखि अस्तित्वमा रहेको छ । यसले परम्परागत शैलीमा मुस्लिम समुदायलाई शिक्षा प्रदान गर्दै आएको छ ।
सामान्यतः, मद्रसाले इस्लाम धर्मसँग सम्बन्धित धार्मिक शिक्षा (दीनी तालीम) भनेर चिनिने धार्मिक, सांस्कृतिक र नैतिक शिक्षा प्रदान गर्दछ । इस्लामी शिक्षाको परम्परा कुरआन पढाइ र पाठ (तिलावत) बाट शुरु भयो । इस्लाम धर्मको प्रारम्भिक दिनहरूमा अल्लाहका अन्तिम दूत मुहम्मद (सल्ल.) स्वयंले आफ्ना अनुयायीहरूलाई ईश्वरीय प्रकाशना (श्लोक) हरूको व्याख्या गरी शिक्षा दिनुहुन्थ्यो । यी ईश्वरीय प्रकाशना अवतरण हुने काम पूरा भएपछि यी प्रकाशना (श्लोक) हरूको संकलनको रूपमा कुरआन अस्तित्वमा आयो र यही ग्रन्थ इस्लामी शिक्षा (दीनी तालीम) को केन्द्र बन्यो । इस्लामी शिक्षा आध्यात्मिक ज्ञानको प्रचार गर्नुसम्म मात्र सीमित छैन । मानव हितमा प्रयोग हुने सवै खाले ज्ञान यसको दायरामा रहेको छ । इस्लामी शिक्षा प्रणालीमा खास उद्देश्य, पाठ्यक्रम संरचना र इस्लामी ज्ञानको प्रसारका लागि शैक्षिक ज्ञानको एक श्रृंखला समाहित भएको हुन्छ ।
नेपालमा मद्रसाहरूको अवस्था
१. भौतिक पूर्वाधार,,
नेपाली मद्रसाहरूको अवस्था राम्रो छैन । मद्रसामा पर्याप्त कक्षा कोठा, कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, खानेपानी, शौचालय, खेल मैदानहरूको समुचित व्यवस्था छैन । अधिकांश मक्तब (पूर्व–प्राथमिक र प्राथमिक स्तरका मद्रसा) हरूसँग पर्याप्त कक्षा कोठा र कार्यालयहरू छैनन् । कैयौं ठाउँमा मक्तबहरू मस्जिदमा नै सञ्चालित भएको पाइन्छ । प्रयोगशालाको कुरा गर्ने हो भने यो कल्पनाभन्दा बाहिरको कुरा हो । साधारणतया मद्रसाहरूमा अध्ययन–अध्यापनको आधुनिक तरीका प्रयोग गरिएको पाइँदैन । धेरैजसो मद्रसाहरूमा उपयुक्त ढंगले फर्निचर आदिको व्यवस्था गरिएको छैन । ठूला मद्रसाहरूमा छात्रावासको व्यवस्था रहेको पाइन्छ । तर, यी छात्रावासहरू साँघुरा छन् । छात्रावासमा साधारणतया एउटा कोठामा ४ देखि १६ जनासम्म विद्यार्थी बस्दछन्, कोठाको संख्या पनि न्यून रहेको पाइन्छ । आर्थिक समस्याले गर्दा विद्यार्थीहरूलाई भुईंमा नै सुत्नु पर्ने बाध्यता छ । धेरैजसो मद्रसाहरूको खेल मैदान छैन । यदि छ भने पनि आर्थिक श्रोतको सीमितताले गर्दा खेलकुद सामग्रीको अभाव रहेको छ । मद्रसाहरूमा खेलकुद प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । त्यस्तै, मद्रसाका विद्यार्थीहरू स्थानीय (जिल्ला), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा प्रतिस्पर्धा गर्न पाएका छैनन् ।
२. विद्यार्थी र शिक्षक
नेपालभरिका मद्रसाहरूमा लगभग अढाई लाख विद्यार्थी अध्ययरत् छन् । सरकारी तथ्याङ्क मुताबिक १,१९७ मद्रसा जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छन् । यतिकै संख्यामा समुदायद्वारा सञ्चालित मद्रसा (मक्तब) हरू दर्ता नै नभई सञ्चालनमा रहेको देखिन्छ । धेरै मस्जिदहरूमा पूर्व–प्राथमिक स्तरमा धार्मिक शिक्षा दिइन्छ जसलाई ‘मक्तब’ भनिन्छ र जसको कहीँ कतै कुनै अभिलेख र तथ्याङ्क राखिएको छैन । प्रायः गरीब तथा अनाथ विद्यार्थीहरू मद्रसाहरूमा अध्ययन गर्दछन् । सम्पन्न मानिसहरूले मद्रसाहरूमा आफ्ना बालबालिकाहरूलाई बिरलै भर्ना गराउँदछन् । प्रायः मद्रसाहरूमा नाम मात्रको शुःल्क लिइने भएको र मक्तबमा त झन् कुनै शुःल्क नै नलिने भएकोले गरीब परिवारका मानिसहरू आफ्ना बालबालिकाहरूलाई मद्रसा र मक्तबमा पढाउन आकर्षित भएका छन् । मद्रसाहरूमा सामान्यतः छात्रभन्दा छात्राहरूको संख्या बढी देखिन्छ । किनभने मुस्लिम अभिभावकले आफ्ना छोरीहरूलाई मद्रसामा नै पढाउन सुरक्षित ठान्दछन् ।
नेपालमा मद्रसाको दर्ता प्राबधानपछि मद्रसाको शिक्षक र शिक्षकको लैङ्गिक तथ्याङ्कमा एउटा ठूलो परिवर्तन आएको देखिन्छ । पहिले पहिले मद्रसाहरूमा कार्यरत् शिक्षकहरूमा इस्लामी अध्ययन गरेका पुरुष शिक्षकहरू मात्र देखिन्थे । अहिले चाहिँ मूलधारको शिक्षा प्राप्त शिक्षकहरूको उच्च उपस्थिति देखिन्छ जहाँ महिला शिक्षकहरूको संख्या पनि उल्लेखनीय रहेको छ । पहिले चाहिँ मुस्लिम महिला शिक्षिकाहरू मूलधारको विद्यालयहरूबाट शिक्षा प्राप्त गरेका मध्येबाट हुन्थे जबकि पुरुष मुस्लिम शिक्षकहरू चाहिँ मद्रसाबाट शिक्षा प्राप्त शिक्षक हुन्थे । तर, हाल मद्रसाहरूमा महिला तथा पुरुष दुवै प्रायः मद्रसाबाट शिक्षा प्राप्त गरेका हुन्छन् । प्रायः शिक्षकहरू प्रशिक्षित भएका छैनन् । तिनीहरूको तलब–सुविधा एकदमै नाजुक रहेको देखिन्छ । यी शिक्षकहरूले नियमति रूपमा तलब पाएको अवस्था छैन । यिनीहरूले कहिलेकाहीँ ६ महिनासम्म तलव पाउँदैनन् र पाए पनि खण्ड खण्ड गरी पाउँछन् ।
मद्रसाका शिक्षकहरूले आर्थिक तथा सामाजिक समस्याहरूको सामना गरिरहेका छन् । केही मद्रसाहरू छात्रामा आधारित छन् । यस्ता मद्रसाहरूलाई ‘बनात’ भनिन्छ । बनातहरूमा प्रायःजसो महिला शिक्षक छन् । तर यी बनातहरू पुरुषहरूबाट नै सञ्चालित रहेको देखिन्छन् । बनातहरूको व्यवस्थापन समितिमा पुरुष मात्रै रहेको पाइयो । यद्यपि केही अधवैंस पुरुषहरू पनि बनात शिक्षकको रूपमा काम गरेको पाइयो । नेपालमा बनातहरू निकै लोकप्रिय छन् । मानिसहरू आफ्ना बालिकाहरूलाई बनातमा भर्ना गर्न रुचाउँछन् । बनातहरूमा छात्राहरूले व्यवस्थित युनिफर्म लगाउँछन् । प्रायः साना उमेरका बालिकाहरूले सलवार, कुर्ता लगाउँछन् र टाउकोसमेत शरीरका माथिल्ला हिस्सा शलले छोप्दछन् । किशोरी तथा वयष्क छात्राहरूले सो पोसाकमाथि काला बुर्का (नकाब) लगाउने गर्छन् । साधारणतया मद्रसाहरूमा सह–शिक्षालाई प्रोत्साहन गरिंदैन । मद्रसाका माथिल्ला कक्षाहरूमा छात्राभन्दा छात्रहरूको संख्या नपत्याउँदो तरीकाले अधिक हुन्छ । मुसलमानहरू सह–शिक्षा रहेको मद्रसा÷विद्यालयमा सामान्यतः ठूला कक्षाहरूमा वयष्क केटीहरूलाई पढाउन मन पराउँदैनन् । त्यसैले मद्रसाहरूले सामान्यतः तल्ला कक्षा (पूर्व–प्राथमिक वा प्राथमिक) हरूमा मात्र छात्राहरूको भर्ना लिन्छन् जो उमेरमा साना हुन्छन् । केही मद्रसाहरूमा तल्ला कक्षाहरूमा छात्रभन्दा छात्राहरूको संख्या बढी छ ।
मुस्लिम समुदायले देशभरि नै ठूलो संख्यामा कन्या–मद्रसा (बनात) हरू स्थापना गरिरहेका छन् । उनीहरूले बालिकाहरूलाई बनातमा पठाउन रुचाउँछन् । र, सामान्यतः मक्तबहरूमा चाहिँ छात्र र छात्रा दुवैको संख्या बराबरी नै रहेको पाइन्छ । तराई क्षेत्रमा चार प्रकारका मद्रसाहरू छन् ः जामिया÷दारुल उलूम, मद्रसा, मक्तब र बनात (कन्या–मद्रसा) । बनात चाहिँ सवभन्दा आकर्षक ठाउँ बन्न थालेको छ । यो आकर्षण एकातिर र अर्कातर्फ बनातहरूमा गरीब बालिकाहरूलाई छात्रवृत्तिको व्यवस्था हुने भएकोले मुसलमानहरूले आफ्ना बालिकाहरूलाई बनातमै भर्ना गर्न मन पराउँदछन् ।
मक्तब र मद्रसाका तल्ला कक्षाहरूमा विद्यार्थीको ठूलो संख्या हुने गर्दछन् तर माथिल्ला कक्षाहरूमा पर्याप्त विद्यार्थी हुँदैन । यसका तीन कारण छन्:—
क. मुस्लिम समुदायमा एउटा साझा सोच विकसित भएर गएको छ । उनीहरूले पूर्व–प्राथमिक एवम् प्राथमिक तहमा आफ्ना बालबालिकाहरूले उर्दू र अरबीको ज्ञान हासिल गरून् भन्ने चाहन्छन् । त्यसपछि उनीहरूले आफ्ना बालबालिकाहरूलाई सरकारी वा नीजि विद्यालयहरूमा पठाउँदछन् जहाँ आधुनिक पाठ्यक्रमअनुसार अध्ययन–अध्यापन हुने गर्दछन् ।
ख. गरिबीले गर्दा ठूलो संख्यामा मुसलमानहरू आफ्ना बालबालिकाहरूलाई पढाउन असक्षम छन् । ठूलो संख्यामा विद्यार्थीहरू पूर्व–प्राथमिक र प्राथमिक शिक्षापछि नै पढ्न छोड्दछन् ।
ग. मद्रसाको आधारभूत स्तरको शिक्षा प्राप्त गरी अझ माथिल्लो तहको शिक्षाका लागि अति न्यून विद्यार्थी गएको पाइन्छ । यसको पछाडिको एउटा कारण के हो भने प्रायःजसोले मद्रसामा दिइने शिक्षा हासिल गरेर आफ्नो पेसागत भविष्य उज्जवल देख्दैनन् । यसले गर्दा सामान्यतः विद्यार्थीहरूले आफ्नो पढाइ बीचमा नै छाड्दछन् ।
व्यवस्थापन समिति
धेरैजसो मद्रसाहरूमा मद्रसालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि व्यवस्थापन समिति गठन भएको देखिन्छ । यी समितिहरू मद्रसा सञ्चालन र यसकालागि आर्थिक श्रोत जुटाउन उत्तरदायी हुन्छन् । यस समितिले मद्रसाका सवै खाले कार्यहरू गर्छ । समितिका सदस्यहरूले मद्रसाको अध्ययन–अध्यापनको विधि र शिक्षकहरूको क्रियाकलाप तथा नियमितता सम्बन्धी कुराहरूको निरीक्षण गर्दछन् । साधारणतया व्यवस्थापन समिति र अभिभावकहरूबीच राम्रो सम्बन्ध स्थापित भएको हुन्छ । यी अभिभावकहरू मद्रसाका स्थायी चन्दादाता पनि हुन् ।
पाठ्यक्रम, पाठ्यपुस्तक र मूलप्रवाहीकरण
पाठ्यक्रम भन्नाले शिक्षाका लक्ष्यहरू हासिल गर्न विद्यालयद्वारा गरिने योजनाबद्ध तथा निर्देशित सम्पूर्ण कार्यहरूलाई बुझाउँछ । अर्थात्, पाठ्यक्रम भन्नाले त्यस्तो योजना हो जहाँ विद्यालयद्वारा बालबालिकाहरूलाई प्रदान गरिने ज्ञान, सीप अभिवृद्धि तथा सम्पूर्ण अनुभवहरू व्यवस्थित गरिएको हुन्छ । विद्यालय शिक्षाको सन्दर्भमा नेपालमा दुई किसिमका पाठ्यक्रमको अवधारणा प्रयोगमा आएको देखिन्छ:—
(क) केन्द्रीय पाठ्यक्रम: पाठ्यक्रम विकास केन्द्रबाट विकसित एकै प्रकारको पाठ्यक्रम देशभर लागू गरिँदै आएको छ । केन्द्रीय पाठ्यक्रम खास स्थान विशेषको आवश्यकतामा मात्र आधारित नभई औसत राष्ट्रिय आवश्यकतालाई दृष्टिगत भई तयार हुन्छ । यस प्रकारको पाठ्यक्रमले स्थानीय आवश्यकतालाई प्रतिनिधित्व गर्दैन ।
(ख) स्थानीय पाठ्यक्रम: स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूकै सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । अर्थात् स्थानीय ज्ञान, सीप, र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यक्रमलाई नै स्थानीय पाठ्यक्रमको रूपमा लिन सकिन्छ जसले स्थानीयतालाई जोड दिन्छ । मद्रसाको सन्दर्भमा नेपाल सरकारले प्रथमपटक २०६५ मा प्राथमिक तह (कक्षा १–५) को पाठ्यक्रम विकास गरेको थियो । २०६८ मा पाठ्यक्रम विकास केन्द्रले पुनः मद्रसाको आधारभूत हत (कक्षा १–५) को पाठ्यक्रम विकास ग¥यो । सोही अनुसार पाठ्यक्रम विकास केन्द्रले हालसम्म कक्षा तीनसम्मका उर्दू, अरबी, सामाजिक अध्ययन (उर्दूमा) र दीनियात (धार्मिक शिक्षा–उर्दूमा) आदि पाठ्यपुस्तक छपाइ पनि सकेको छ । तर, यी प्रकाशित पाठ्यपुस्तकहरू उपयुक्त माध्यमबाट अहिलेम्म मद्रसाहरूलाई वितरण भइसकेको छैन ।
धरैजसो मद्रसाहरूमा शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले विकसित गरेको नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन आदि विषयहरूलाई पनि समावेश गरिएका छन् । तर, धेरैजसो मद्रसाहरूमा प्रायः यी विषयहरूलाई खासै महत्व दिइएको अवस्था छैन । र, केही मद्रसाहरूमा यी विषयहरूको पढाइमा पनि गुणस्तर भने कायम गरिएको छ ।
प्राचीन पाठ्यवस्तु
मुस्लिम धार्मिक मान्यता–प्रधान समाज भएकोले उसको जीवनको लक्ष्य मुख्यतः धर्मद्वारा निर्देशित भएको हुन्छ । इस्लामी मान्यता अनुसार मानिसको जीवनको लक्ष्य परलोकमा मोक्ष प्राप्ति हो । मुसलमान न्यायको अन्तिम दिन (कयामत) माथि आस्थावान हुन्छ जुन दिन अल्लाहले मानिसको कर्मको फैसला गर्नेछन् र उसलाई कर्मअनुसार पुरस्कारको रूपमा स्वर्ग र दण्डको रूपमा नर्क प्रदान गर्नेछन् । मुसलमानले शिक्षालाई जीवनको लक्ष्य प्राप्त गर्ने साधनको रूपमा प्रयोग गर्दछ । इस्लाम धर्मको अनुयायीको रूपमा मुसलमानको पहिलो कार्य अल्लाहको मार्गदर्शन र इच्छाको अनुसरण गर्नु हो जुन पवित्र कुरआनको रूपमा संग्रहित छ । कुरआनले मुसलमानलाई सवै प्रकारका ज्ञान हासिल गर्न आदेश दिएको छ जुन समाज कल्याणको लागि आवश्यक हुन्छ ।
मद्रसाको मूल मर्मबारे चासो
वर्तमान अवस्थामा मुस्लिम समुदायले कस्तो किसिमको पाठ्यक्रमको अपेक्षा गर्दछ वा सरकारको मद्रसा शिक्षालाई मूलप्रवाहीकरणमा ल्याउने नीतिले कस्तो किसिमको पाठ्यक्रम र पाठ्यवस्तु तयार पार्ने कुराले बडो महत्व राख्दछ । सरकारको मूलप्रवाहीकरणको नीति र मुस्लिम समुदायमा मद्रसा शिक्षाका सरोकारवालाको सोचको बीच केही असन्तुलन रहेको देखिन्छ । खास गरी प्राथमिक स्तरका मद्रसाका सञ्चालकहरू मद्रसालाई शिक्षाको मूलप्रवाहमा लैजान चाहेको देखिन्छ वा उनीहरू मूलप्रवाहीकरणको प्रक्रियामा गइसकेका छन् । तर, निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक र कलेज स्तरका मद्रसाहरूको सोच मूलप्रवाहीकरणको विषयमा फरक रहेको देखिन्छ । उनीहरू सरकारी नीतिबमोजिम हुबहु मूलप्रवाहीकरणमा जान इच्छुक छैनन् ।
ठूला मद्रसाका सञ्चालकहरू यी मद्रसाहरूमा फर्ज–ए–ऐन प्रकृतिको शिक्षा दिन चाहन्छन् । अर्थात् ठूला मद्रसाहरूलाई उनीहरूले विशुद्ध धार्मिक प्रकृतिकै मद्रसाको रूपमा स्थापित गर्न चाहन्छन् । उनीहरूलाई के सन्देह छ भने मूलप्रवाहीकरणको नीतिमा गएर माध्यमिक स्तरसम्म सन्तुलित पाठ्यक्रम जसमा धार्मिक विषयका अतिरिक्त नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कम्युटर साइन्स र प्राविधिक विषयहरूलाई समेटियो भने यसको आकर्षणले उच्च शिक्षामा विद्यार्थीहरू धार्मिक विषय लिएर पढ्न रुचाउने छैनन् । यसरी केही वर्षपछि धार्मिक विषयहरू बिलोप हुनेछन् र समाजमा इस्लामविद् र धर्मगुरुहरूको अभाव हुनेछ । यसले मुस्लिम समाजलाई इस्लाम धर्मको विशुद्ध धार्मिक शिक्षाबाट अलग गर्नेछ । यो विचारमा आफ्नै शक्ति र तर्क पनि छ ।
अर्काथरिका मुसलमानहरू धार्मिक शिक्षा र रोजगारमुलक तथा उत्पादनसँग जोड्ने शिक्षाबीच तालमेल चाहन्छन् । उनीहरू माध्यमिक तहसम्म धार्मिक शिक्षा र रोजगारमुलक आधुनिक शिक्षालाई सँगै लगी कलेज स्तरमा धार्मिक विषय पढ्ने रोजाइमा जाने र विज्ञान, वाणिज्य तथा मानविकी पढ्ने रोजाइमा जाने दुवै ढोका खुल्ने गरी मद्रसा पाठ्यक्रमको निर्माण हुनुपर्छ भन्ने सोच राख्दछन् । यसरी पाठ्यक्रम, पाठ्यवस्तु र मद्रसाको मूलप्रवाहीकरणको विषयलाई लिएर मद्रसाका सञ्चालक र विद्वान्हरुबीच दुई भिन्न दृष्टिकोण छ । र, दुवै दृष्टिकोणको आफ्नै महत्व छ ।
शिक्षाको माध्यम
नेपालका मद्रसाहरूमा शिक्षाको माध्यम मुख्यतः उर्दू भाषा रहेको छ । यद्यपि विषयहरूको गाम्भीर्यताको हिसाबले फरक फरक विषयहरू फरक भाषामा पनि अध्यापन गर्ने गरिन्छ ।
परीक्षा प्रणाली
नेपालका अधिकांश मद्रसाहरूमा आ–आफ्नै किसिमको परीक्षा प्रक्रियाहरू रहेका छन् । व्यवस्थित मद्रसाहरूले त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षाहरू लिने गरेका छन् । मासिक टेस्ट, एकाई परीक्षाहरूको चलन मद्रसाहरूमा बिरलै पाइन्छ । मद्रसाहरूको संख्या नेपालमा दुईदेखि तीन हजारको हाराहारीमा रहेका छन् । ११९७ वटा मद्रसाहरू नेपालमा त सरकारी निकायमा दर्ता नै भइसकेका छन् । तर, यी मद्रसाहरूले परीक्षा प्रणालीलाई सामूहिक मुद्दा बनाएर आन्तरिक परीक्षाको बोर्ड बनाएर परीक्षा लिने चलन पनि छैन । सवै मद्रसाहरूले आ–आफ्नै ढंगले परीक्षा सञ्चालन गरेका छन् । मद्रसाको वार्षिक परीक्षा सामान्यतः रमजान महिनाअघि नै सिध्याएर मद्रसाहरूले एक महिने विदा दिने गरेका छन् । ईदुल फित्र पछि शैक्षिक सत्र शुरु हुने गर्दछन् । प्रायः संसारभरि नै मद्रसाहरूमा यो अभ्यास रहेकोले नेपालको शैक्षिक सत्र र परीक्षा तालीकासँग मद्रसा शिक्षाको परीक्षा तालीका र शैक्षिक सत्रबीच सामञ्जस्य स्थापित हुन नसक्ने देखिन्छ ।
आय श्रोत
मद्रसाहरू आर्थिक रूपमा चन्दा–अनुदानमा निर्भर छन् । स्थानीयवासी मुसलमानहरूको घर–घरबाट संकलन गरिने स्थानीय चन्दा मद्रसाहरूको एक महत्वपूर्ण आयश्रोत हो । मद्रसाहरूले देशका अन्य शहर र गाउँहरूमा पनि चन्दा संकलन गर्दछन् । त्यसरी नै केही मद्रसाहरूले विदेशमा पुगेर पनि चन्दा असुल गर्दछन् । विदेशमा खाडी मुलुक र भारत प्रमुख हुन् । केही मद्रसाहरूले मात्र खाडीमा चन्दा असुसल गर्दछन् । यस किसिमको चन्दा विशेष गरी रमजान महिनामा संकलन गर्ने गरिन्छ । रमजानको अवसरमा संसारभरिका मुसलमानहरू जकातको नाममा दान गर्ने गर्दछन् ।
दर्ता भएका मद्रसाहरूले सरकारबाट पनि ‘पर चाइड फण्ड’ (पीसीएफ)को रूपमा आर्थिक अनुदान प्राप्त गर्दछन् । नेपालमा यो एक नयाँ अभ्यासको रूपमा आएको छ । तर, मद्रसाहरूका लागि यो अनुदान पर्याप्त छैन र सबै मद्रसाहरूका लागि यो सहज पनि छैन । मद्रसाहरूले पीसीएफ बाहेक केही अन्य सरकारी तथा गैर–सरकारी सहयोग पनि प्राप्त गर्न सक्छन् र केहीले प्राप्त पनि गरिरहेका छन् । पीसीएफ बाहेक कहिलेकाहीँ स्थनीय तह, स्थानीय विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालयले पूर्वाधार विकासका लागि मद्रसाहरूलाई सहयोग गर्दछन् । त्यस्तै, युनिसेफ, वल्र्ड भिजन, विश्व शिक्षा जस्ता विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायका अनुदान पनि मद्रसाहरूको आयश्रोतमा पर्दछन् । केही मद्रसाहरूले विद्यार्थीहरूबाट न्यून शिक्षण शुःल्क पनि संकलन गर्दछन् । तर, अधिकांशले चाहिँ विद्यार्थीहरूसँग मासिक शुःल्क नलिने गरेका छन् ।
औपचारिक सामुदायिक विद्यालय र मद्रसा
मद्रसाहरू मुस्लिम समुदायको पहिचान र संस्कृतिको मुख्य प्रतिक मानिन्छ । भनिन्छ आफ्नो संस्कृति भुल्ने समुदायको पतन हुन्छ । आज मद्रसाको हाम्रो समाजमा जुन स्थान हुनुपर्ने हो त्यो छैन । मद्रसाले अपनाएको शिक्षा प्रणाली प्रभावकारी देखिँदैन न त यो आजको समकालीन विश्वको आवश्यकतामा आधारित छ । समकलीन सन्दर्भमा यो पर्याप्त आधुनिक छैन जसले इस्लामी मान्यतालाई उपयुक्त व्याख्या गरोस् । इस्लाम धर्मसँग सम्बन्ध गाँसिएको मद्रसा शिक्षाको पाठ्यक्रमको आजको विज्ञान, प्रविधि, कला, मानविकी र व्यवस्थापनजस्ता विषयहरूसँग तालमेल मिलाइएको छैन । यसले मद्रसालाई विश्वभरि व्याप्त आवश्यकतामा आधारित शिक्षा प्रणालीसँग अलग्ग गरिदिएको छ ।






