
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले नेपालका आराध्यदेव पशुपतिनाथको दर्शन तथा पूजाआराधना अब वीरगंजमा पनि हुने व्यवस्था महानगरले मिलाएको बताएका छन् । नेपालको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रबाट आउनु भएका पीठाधीश, पीठाचार्यसहितको टोलीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सिंहले धार्मिक पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले काम गरि रहेको दाबी गरे ।
उनले भारतबाट पशुपतिनाथको दर्शनका लागि आउने धार्मिक पर्यटकहरुलाई वीरगंजमै पशुपतिनाथको दर्शन गर्ने व्यवस्था महानगरपालिकाले मिलाएको र यसमा आम वीरगंजवासीको साथ र समर्थन आफूले पाएको दाबी गरे । वीरगंजमा धार्मिक पर्यटनका लागि अहिले गीता मन्दिरको सौन्दर्यकरण गर्ने कार्य भईरहेको बताउँदै यसअघि महानगरले वीरगंजको गहवामाई मन्दिर, विर्ता मन्दिर, विन्वासिनी रामजानकी मन्दिर लगायतका मठमन्दिरहरुको सौन्दर्यकरण गरिसकेको दाबी गरे ।
उनले पीठाधीश लगायतको टोलीलाई वीरगंजमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउन आग्रह समेत गरे । टोलीले बुधबार वीरगंजका विभिन्न धार्मिक स्थलहरुको स्थलगत निरिक्षण गरी देवघाट तर्फ प्रस्थान गरेको छ ।






