

मानव जिवनको विकासमा वनस्पतिको प्रमुख योगदान रहेको छ । तर आदिकालदेखि मानवले वनस्पतिलाई विभिन्न रुपमा प्रयोग गर्दै आएका छन् । कतिपय अवस्थामा मानवले जानेर होस वा नजानेर उनीहरु विभिन्न रुपमा यसको सेवन गर्ने गरेका छन् । अहिले आएर यसको वैज्ञानिक महत्व थाहाँ पाएको होला तर सेवन भने मानवको विकाससँग हुदै आएको छ । मिथिलाञ्चल क्षेत्रको घर आँगनमा तरकारीको रुपमा प्रयोग हुदै आएको वनस्पतिमध्ये एक हुन सोहिजन । यो वनस्पति नभएको ग्रामीण घर थोरै होला । जो परापूर्वकालदेखि सेवन गरिदै आएको छ । अहिले आएर यसको वैज्ञानिक महत्व उजगाएर भएपछि यसको महत्व बढेको होला तर हामीकहाँ यो आजदेखि मात्र नभइ परापूर्वकालदेखि नै सेवन गरिने गरिएको छ । मिथिलाञ्चलको जीवनशैली नै प्राकृतिक रुपमा आत्मसात गरेको कारणले गर्दा समेत यसको महत्व रहेको छ ।
पृथ्वीको उत्पत्ति करिब ४ अर्ब ५० करोड वर्षअघि भएको अनुमान गरिन्छ भने पृथ्वीमा पहिलो जीवको उत्पत्ति ३ अर्ब ५० करोड वर्षअघि भएको मानिन्छ । पृथ्वीमा पहिलो जीवको उत्पत्ति भएको करिब १० करोड वर्षपछि हरितकण अर्थात् क्लोरोफिल भन्ने रङद्रव्य (पिग्मेन्ट)युक्त एक कोषीय जीवको विकास भयो । यसैलाई हामी आज वनस्पति भन्छौँ । यिनै हरितकणले गर्दा वनस्पति हरियो रङको भएका हुन् । हरितकणको मद्दतबाट वनस्पतिले फोटोसिन्थेसिस भनिने जैविक प्रक्रियाद्वारा सौर्य ऊर्जालाई मानिसलगायतका पृथ्वीका सम्पूर्ण प्राणी जगतले बाँच्नका लागि उपयोग गर्ने रासायनिक ऊर्जामा परिणत गर्छ । तसर्थ पृथ्वीका सम्पूर्ण प्राणीको अस्तित्व अन्ततः वनस्पति र तिनमा निहित फोटोसिन्थेसिस् प्रक्रियामा भरपर्छ ।
मिथिलाञ्चलको घर आँगनमा लगाइएका सेवन गरिदै आएको वनस्पती मध्ये एक हुन् सोहिजन अर्थात मोरिंगा । यो मोरिङ्गगेसि परिवारभित्र पर्ने विरुवा हो भने यसको वानस्पतिक नाम मोरिंगा ओलिफेरा हो । यसको विरुवा एउटा काण्ड भएको तर हाँगाहरु तलतिर झुकेका हुन्छन् । सबैभन्दा राम्रो पहिचान त यसको रुद्राक्षको जस्तो लामो कोशा फल लाग्दछ । त्यसैले त यसलाई ड्रम बजाउने लठी जस्तो कोशा भएको विरुवा भनिएको होला । यो कमलो प्रकृतिको छिटो वढ्ने इपिल इपिलको जस्तो पात भएको तर जरा टाढा–टाढासम्म फैलिने र १ मिटर जति अग्लो भएपछि मुलस्तम्भबाट हाँगा पलाउन थाल्दछ । यसको अनारको जस्तै हिउँदमा ९० प्रतिशतसम्म पात झर्दछ । प्राकृतिक रुपमा हुर्किएको विरुवा १५–२० फिटसम्म अग्लो र हाँगाहरु १० मिटर परसम्म फैलिएका हुन्छन् । व्यवसायिक रुपमा खेती गर्दा भने विरुवाको काँटछाट गरेर १–२ मिटर उचाई मात्र राख्ने गरिन्छ । ऐतिहासिक लिखतलाई अध्ययन गर्दा यसको वहुउपयोगिताको महत्वलाई मध्यनजर गर्दै यसको खेती भारतीय उपमहाद्धिपमा परापूर्वकालदेखि गरिदै आएको तथ्यपूर्ण प्रमाणहरु पाइन्छ ।
मिथिलाञ्चलको घर आँगनमा यो वृक्ष सधै हुन्थ्यो नै । यसको सेवन अनिवार्य जस्तै चूडशिलतमा हुन्छ । अहिले आएर यसको वैज्ञानिक महत्व व्यक्तिले थाहाँ पाएपछि खानेको संख्या बढेपछि मिथिलाञ्चलमो यसको सेवन गर्ने चलन वर्षो पुरानो मानिन्छ । मिथिलाञ्चलवासी कतिको प्राकृतिक र वनस्पतिप्रेमी हुन् सो तथ्यलाई समेत यसले स्थापित गरेको छ ।
तराई मधेशको केही ठाउँमा यसलाई शितलचिनी समेत भनिन्छ । शित्तलचिनीको पात, फूल, फल, बीउ, बोक्रा, जरा सबै भाग प्रयोग हुन्छ । यसको पात कोत्सा र बीउलाई विभिन्न खाद्य परिकारहरूमा प्रयोग गरिन्छ । मधेश क्षेत्रमा मैथिली समुदायमा नयाँ वर्षको जूडसितल पर्वमा यसको कोसाको तरकारी खाने प्रचलन रहेको छ । कलिलो बीउलाई हरियो केराउ मैं प्रयोग गरिन्छ । कलिलो पात तरकारीको रूपमा पकौडा, बाह्रा, साग, अचार, करी आदिमा प्रयोग गरिन्छ । ताजा तथा सुकाएको पात र फूलबाट चियाँ बनाउन र जरा मसलाको रूपमा प्रयोग गरिन्छ । यसको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ, जुन खाना बनाउन तथा श्रृंगारमा प्रयोग गरिन्छ । यसको पात गाईवस्तु बाखा माछा र कुखुराको घाँस दाना र पात र पिना खेतीपातीमा मल र जैविक विषादीको रूपमा प्रयोग गरिन्छ । अर्थात यो वनस्पती गुणले नै भरपुर मानिन्छ ।
यसको जरा, हरिया कोसा, बीउर पातमा विशेष औषधीय क्षमता पनि रहन्छ । यसमा मानव शरिरलाई आवश्यक पर्ने ८० भन्दा बढी पोषण तत्व, ४६ किसिमका एन्टीअक्सिडेन्ट प्रदान गर्दछ । ३६ प्रकारका एन्टीफालामेन्टरी र ८ प्रकारका अत्यावश्यक एमिनो एसिडजस्ता पौष्टिक तत्वहरू पाइन्छन् । शरीरको प्रतिरोधात्मक शक्ति बढाउन, बच्चाहरूमा कुपोषण हटाउन र संक्रमित रोगहरू निको पार्न औषधी एन्टीबायोटिकको रूपमा प्रयोग गरिन्छ । रक्त अल्पता, रतन्धो, बाथरोग, मोटोपना, पेट सम्बन्धी विकार, कपाल झर्ने समस्या, शरीर सुनिएको र नपुंसकता कम गर्न समेत उपयोगी मानिएको छ । यसमा गाँजरमा भन्दा १० गुणा बढी भिटामिन ए, दुधमा भन्दा १७ गुणा बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुणा बढी भिटामिन सी, दहिना भन्दा ८ गुणा बढी प्रोटिन, पालुङ्गोमा भन्दा १७ गुणा बढी फलाम र केरामा भन्दा १५ गुणा बढी पोटासियम पाइन्छ ।
यसको पातलाई मिक्सरमा पिसेर रस बनाएर एक चम्चा मह र आधा कागती हालेर बिहान खाली पेटमा सेवन गरेमा बोसोको मात्रा घट्ने र आफूले चाहे जस्तो शरीर बनाउन मिल्ने हुन्छ । यो जिम गर्ने युवाहरूलाई पनि निकै उपयोगी मानिएको छ । यसले रजस्वला भएका महिलाहरूको गडबडीलाई निकै फाइदा हुनुका साथै पाठेघर सम्बन्धी रोगलाई पनि फाइदा गर्ने गर्छ । एक अनुसन्धान अनुसार प्राकृतिक गुणले परिपूर्ण सितलचिनीमा यति औषधीय गुण हुन्छ, यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति पाउन सकिन्छ । सितलचिनीमा भिटामिन ए र बी बढी मात्रामा पाइन्छ । भिटामिन सी समेत पाइन्छ । यी तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृक्तिक खाद्य पदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फास्फोरस एवं खनिज तत्व प्रचूर मात्रामा हुन्छ । यसको नियमित सेवन गरे रक्तअल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने अध्ययनले बताएको छ ।
यो हेमोग्लोबिन बढाउनमा सहायक हुन्छ । एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको फूलले दाल झान्नाले शरीरमा आइरनको मात्रा दिने गर्छ भनिएको छ । मुख्यतः पेटसम्बन्धी सबै प्रकारका विकारबाट छुटकारा पाउन सितलचिनीको सेवन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ । कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ‘ए’ पर्याप्त हुने भएकोले रतन्धो रोग लाग्दैन । रतन्धो भिटामिन ‘ए’कै कमीले गर्दा हुने रोग हो । गठिया र मोटोपनाले पीडितहरूको लागि यो उपयोगी छ । यो वायुनाशक हुन्छ । यसैले गर्दा सितलचिनी खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले सुन्निएको कम गर्छ । सितलचिनी वीर्यवर्धकसमेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ ।
आयुर्वेदका थुप्रै औषधि तयार पार्न सितलचिनीको जरो, बोक्रा, फूल, बीउ र फल नै उपयोग गर्न सकिने बहुउपयोगी विरूवा हो । सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने ८० भन्दा बढी पोषकतत्व, ४६ किसिमका एन्टीअक्सीडेन्ट, ३६ प्रकारका एन्टीफालामेन्टरी, ८ प्रकारका अत्यावश्यक एमिनो एसिडजस्ता पौष्टिक तत्वहरू पाइन्छन् । यो वनस्पतिबारे विश्व स्वास्थ्य सङ्गठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दैछ । अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ ।
एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो । तर पौष्टिक उपहार नै अपहेलित छ । अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधी बाँड्दै हिँड्छ । तर हाम्रै घर अगाडि रहेको वनस्पतिको उत्पादनमा ध्यान दिन सकेका छैनौँ । मिथिललाञ्चल क्षेत्रमा सदियौदेखि प्रयोग हुदै आएको यस वनस्पतिको जब विभिन्न निकायहरुले यसको महत्व उजगर गरियो तब मात्रै हामीले यसको महत्व थाहाँ पायाँै । तर हाम्रो पुर्खाहरु कतिपयको प्रकृतिक र वनस्पति सेवनप्रति गम्भीर थिए भन्ने यसको प्रमाणको रुपमा यसलाई लिन सकिन्छ । अहिले आएर यसको कतिपय ठाउँमा व्यवसायी खेतीसमेत शुरु गरिएको छ । मिथिला क्षेत्रमा दैनिक जीवनमा प्रयोग हुदै आएको वनस्पतीको सेवन र यसको उपयोगितालाई जनस्तरमा पुर्याउनुपर्ने आवश्यकता रहेको छ ।






