जनकपुर उत्साहित

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८१–८२ को बजेटमा यस्तो प्रस्ताव गरिएको छ । सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास गर्ने कुरा गरे पनि कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका कारण सरकारी घोषणाप्रति स्थानीयमा आशंका छ ।

जनकपुरलाई वैवाहिक गन्तव्य बनाउने योजना पहिलोपटक अर्थमन्त्री सुरेन्द्र पाण्डेले अघि सारेका थिए । तर कार्यान्वयनमा आउन सकेन । बजेट पुस्तिकामा मात्रै सीमित बनाएका थिए । तर यसपटकको बजेटमा योजना प्राथमकितामा राखिएपछि स्थानीय खुशी देखिएका छन् । स्थानीयले घोषणा कार्यान्वयनमा जोड दिएका छन् । त्रेतायुगमा राम सीताको विवाहस्थल मणिमण्डलमा विवाह गर्न भव्यरुपमा संरचना निर्माण भइरहेको छ । संरचना निर्माण भएर सञ्चालनमा आए पनि जनकपुरमा आएर विवाह गर्ने चलन बढ्ने छ भने जनकपुरमा पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

स्थानीय प्रमोदानन्द झाले जनकपुरधाम उपमहानगरपालिका–१३ मा रहेको मणिमण्डलमा विवाह गर्न आवश्यक पूर्वाधार विकास भइरहेको र पूर्वाधार निर्माणमा सक्रियताका साथ लागेर सरकारले यसलाई प्रचारप्रसार गरे जनकपुरमा विवाह गर्न आउनेको संख्यामा वृद्धि हुँदा पर्यटकको आवागमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । जनक दरबारदेखि बेहुलाबेहुलीको बस्ने बासस्थान हुँदै विवाहस्थल निर्माण भइरहेको छ । यसले समेत पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा छ ।

होटल व्यवसायी अप्पु साहले जनकपुरधाम धार्मिक नगरी भएकाले जनकपुरमा आउने पर्यटक नै होटल व्यवसायीको आधार रहेको बताए । उनले सरकारको घोषणाले पर्यटकीय गतिविधि फस्टाउने आशा बढेको बताए । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले सरकारले बजेटमा जनकपुरलाई वैवाहिक गन्तव्य बनाउने घोषणाको स्वागत गरे । उनले यसले जनकपुरको पर्यटकीय विकासमा टेवा पुग्ने बताए ।

विवाहका लागि नेपाल र भारतका विभिन्न स्थानबाट आउनेको आकर्षण बढाउन शहरी विकास तथा भवन निर्माण विभागले १८ करोड १५ लाख २२ हजार रुपैयाँको लागतमा मिथिलाको झझल्को दिने दुईतले जनक दरबार, धर्मशाला, पार्टी प्यालेस, विवाहका लागि मण्डपलगायत भौतिक संरचना निर्माण थालेको हो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण ५ वर्ष पुग्न लागे पनि बहुप्रतीक्षित आयोजना पूरा हुनसकेको छैन ।

काठमाडौँ स्वयम्भुको रबिना कन्स्ट्रक्सनले २०७८ जेठभित्र पूरा गर्ने लक्ष्यसहित २०७५ साल मंसिरमा ठेक्का कबुल गरेको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम भएको छ । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ । आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button