
एसपी गौरव
सर्लाही ।
विभिन्न स्थानबाट नियन्त्रणमा लिएका २१ लाख रुपैयाँ भन्दा बढीका भन्सार छलीका सामान जिल्ला प्रहरी कार्यालय सर्लाहीले भन्सार कार्यालय मलंगवामा बुझाएको छ । विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिप, कार र मोटरसाइकलसहित भन्सार छलीका विभिन्न सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ लाख ४६ हजार दुई सय ९५ रुपैयाँबराबरका विभिन्न किसिमका भन्सार छलीका सामान सर्लाही भन्सार कार्यालय मलंगवालाई बुझाएको हो ।
विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा संकलन गरिएका सवारीसाधनसहितका सामग्री आवश्यक कारबाहीका लागि भन्सारमा बुझाइएको प्रहरीले बुझाएको छ ।
जिल्लाका विभिन्न स्थानबाट अवैधरुपमा भन्सार छलेर छिमेकी देश भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा विभिन्न किसिमका कपडा, किराना तथा कस्मेटिक सामान भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । पाँच वटा मोटरसाइकल र २ वटा जिप, कारसमेत रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।






