‘लास’ राखेर बार्गेनिङ गर्दा स्वास्थ्य संस्था असुरक्षित : कार्की 

लापरवाही र महंगो उपचारको मारमा सर्वसाधारण : मेयर 

[mashshare]
अफरोज अर्पण 
वीरगंज । 
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल कुमार कार्कीले मृतकको शव राखेर लेनदेनको बार्गेनिङले स्वास्थ्य क्षेत्रमा द्वन्द्व निम्तियाएको बताएका छन् ।
शनिबार वीरगंजमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६(पहिलो संशोधन २०७९)बारे प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले डाक्टरको विभिन्न प्रयासका बावजुद पनि विमारीलाई बचाउन नसक्दा विरामीका आफन्तहरु शवलाई राखेर गर्ने बार्गेनिङलाई रोक्नुपर्नेमा जोड दिए ।
चिकित्सकहरुले आफ्नो ‘डिउटी’ इमान्दारीपूर्वक निर्वाह गर्दा हुन गएको भवितव्यको कारण भौतिक आक्रमणको सिकार भइरहेको उनको भनाई छ ।
उनले भने, ‘डाक्टरलाई भगवानको दर्जा दिइन्छ तर धेरै प्रयासका बावजुद पनि भोली विरामी ‘एक्सपाएर’ भयो भने डाक्टरलाई दुव्र्यवहार गरिन्छ, कुटपिट गरिन्छ ।’ डाक्टरलाई भगवान नभइ उसले गरिरहेको पेशाको रुपमा हेरिदिन उनको आग्रह छ । स्वास्थ्य क्षेत्रलाई शान्ति र सुरक्षित क्षेत्र बनाउन सबै सरोकारवालाहरुले ऐनको प्रचार प्रसारको आवश्यकतामा जोड दिए ।
ऐनले स्वास्थ्य क्षेत्रमा तोडफोड गर्ने, आगजनी गर्ने, चिकित्सकलाई कुटपिट गर्ने व्यक्ति वा समूहलाई कारवाही गर्न मात्र जोड नदिएको बताउँदै यसले स्वास्थ्य क्षेत्रमा विरामी, कुरुवा, तिनका आफ्न्त, अस्पताल प्रशासन र चिकित्सकबीचको द्वन्द्व र विवादलाई न्युनिकरण गर्ने दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ऐनले चिकित्सकहरुको हकहितको कुरा गरेपनि उनीहरुको जिम्मेवारीबारे प्रष्ट नपारेको टिप्पणी गरे । स्वास्थ्य क्षेत्रमा हुने गरेको विवादमा एक पक्षलाई मात्र दोषी देखाएर पन्छिन नमिल्ने उनको तर्क छ । सरकारी अस्पतालमा समयमा नआउने तथा लापरवाही गर्ने डाक्टरहरु आफ्नो निजी अस्पतालमा गम्भीरताका साथ उपचार गर्ने हुँदा डाक्टर प्रति विरामी तथा सर्वसाधारणको विश्वास गुम्दै गएको बताए ।
उनले भने, ‘आफन्तलाई थाहा हुँदैन एम्बुलेन्स चालकहरुले ‘सेटिङ’ गरेर निजी अस्पतालमा विरामी पुर्याउने गरेका छन् । सरकारी अस्पतालमा इमन्दारीपूर्वक आफ्नो काम नगर्ने डाक्टर सावहरु निजी अस्पताल र क्लिनिकमा दिनरात मिहिनेत गरिरहेका हुन्छन्, यो यस्तै चल्ने हो भने सरकारी स्वास्थ्य क्षेत्र कसरी सुधार हुन्छ ?’ सरकारी अस्पतालमा लापरवाही र हेलचेक्रेयाई हुने तथा निजी क्षेत्रमा महंगो शुल्क तिनुपर्दा यी दुवै प्रवृतिको मारमा आमसर्वसाधारण परेको हुँदा यता तर्फ पनि चिकित्सक संघले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख इम्तियाज आलमले चिकित्सा पेशा सम्मानको क्षेत्र भएकोले गम्भीरतापूर्वक आफ्नो पेशाको धर्मलाई निर्वाह गर्न आग्रह गरे । कोरोना संक्रमण, भूकम्प तथा राष्ट्रिय विपद्को समयमा स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय रहेको भन्दै उपप्रमुख आलमले स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गरे । महानगर स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रको सुरक्षाका सवालमा प्रतिवद्ध रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशका संयोजक डा. निरज कुमार सिंहले पेशागत रुपमा स्वास्थ्य क्षेत्र सुरक्षित नहुँदा स्वास्थ्यकर्मीहरु पलायन भइरहेको बताए । डा. सिंहले लाखौँ खर्च गरेर कोही डाक्टर बन्छ तर उसले कति पारिश्रमिक पाउँछ, सरकारले यदि डाक्टरहरुलाई सेवा सुविधा दिएर राख्यो भने किन कोही डाक्टर निजीमा जान्छ वा पलायन हुन्छ  भनेर तर्क गरे । उनले चिकित्सकमाथि हुने गरेको दुव्र्यवहार, कुटपिट, संस्थामा हुने गरेको तोडफोड र आगजनीले स्वास्थ्य क्षेत्र असुरक्षित भएको बताए । ऐनको कार्यान्वयन र सर्वसाधारणमा जनचेतना बढाएमात्रै यस्तो समस्यामा कमी आउने उनको भनाई छ । उनले गुनासो गर्दै भने, ‘काम गर्दै जाँदा केही भवितव्य हुन जान्छ । यसको दोष डाक्टरलाई दिइन्छ । शुरुमा डाक्टरलाई भगवान भनिन्छ, विरामी ठिक भयो भने यो त डाक्टरको कम नै हो भनेर भनिन्छ । पछि विरामी ‘एक्सपायर’ भयो भने त्यही डाक्टरलाई डाकु र ज्यानमाराको संज्ञा दिइन्छ । यो चिकित्सा पेशाको लागि दूर्भाग्य हो ।’
कार्यक्रममा बोल्दै संघका पर्सा जिल्ला अध्यक्ष मनोज गुप्ताले भवितव्यलाई लापरवाहीको संज्ञा दिएर स्वास्थ्य क्षेत्रमा हुने गरेको दुव्र्यवहार, तोडफोड र आगजनी मान्य नहुने बताए । उनले भने, ‘यो ऐन सामान्य पहलले आएको होइन् धेरै स्वास्थ्यकर्मीहरुको संघर्षले आएको हो । यसको कार्यान्वयनमा सबैको उत्ति कै साथ र सहयोगको आवश्यकता छ ।’
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ऐनको कार्यान्वयनमा जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध गरेको बताए ।
कार्यक्रममा विभिन्न वक्ताले विरामी र स्वास्थ्य संस्थाबीच विवाद हुनु पूर्वको कारण बारे आफ्नो धारणा राखेका थिए । विरामी र तिनका कुरुवालाई उपचारका क्रममा निरन्तर परामर्शको कमी, उपचारमा लाग्ने खर्चको अनुमानित जानकारीको अभाव, डाक्टरको हेलचेक्रेयाई तथा लापरवाही, विरामी र कुरुवामा धैर्यताको कमी, स्वास्थ्य संस्थाका प्रशासनको व्यवहार जस्ता कारणले स्वास्थ्य क्षेत्रमा विवाद हुँदै गइरहेको उनीहरुको धारणा थियो ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनबारे देशैभरी प्रचार प्रसार तथा अन्तरक्रिया र छलफल गर्दैछ । कार्यक्रममा बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button