
वीरेन्द्र रमण
जनकपुरधाम ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने बताएका छन् । उनले सरकारको हठका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाए ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सरकार संसदीय समिति नबनाएर सहकारी ठगी प्रकरणमा दोषी रहेका गृहमन्त्री रवि लामिछानेलाई जोगाउने खेलमा लागेको आरोप लगाए । नेता निधिले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । नेता निधिले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसविरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाको थुनामा रहेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियासँग समेत निधिले भेट गरेर उनीमाथि नियोजित मुद्दा दर्ता गरेर सरकार सहकारी मुद्दालाई दबाउन खोजेको आरोप लगाए । उनले सिरोहियामाथि नागरिकता मुद्दाको झुठा र नियोजित आरोप लगाएर मुद्दा दर्ता गरिएको समेत जिकिर गरे ।
निधिले सहकारीका विषयमा कान्तिपुरले सत्यतथ्य समाचार प्रकाशित गर्न थालेपछि आत्तिएर गृहमन्त्री रवि लामिछानेको इशारामा नियोजितरुपमा मुद्दा चलाइको र उनीमाथि लगाइएको मुद्दासमेत निराधार रहेको बताए । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौँकेन्द्रित विरोध प्रदर्शन गर्ने बताए । उनले अब विरोधको कार्यक्रम विस्तारै जिल्लाकेन्द्रित समेत हुने र गृहमन्त्रीलाई घुँडा टेकाएर छाडिने बताए । उनले सरकारले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए । उनले आफूले सिरोहियासँग भेटेर सिंगो नेपाली काग्रेस र धनुषावासीको साथ रहेको आश्वासन दिइएको बताए ।
नेता निधिले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस र सबै नेपाली रहेको भन्दै कैलाश सिरोहियाको पक्राउविरुद्ध कांग्रेस रहेको बताए । उनले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गरिनु पर्ने बताए । सिरोहियामाथिका आरोप निराधार र त्रुटीपूर्ण रहेको उनले बताए ।






