
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सीता जयन्तीलाई सरकारी क्यालेण्डरमा समावेश गर्नुपर्ने माग गरेका छन् । आजपा काठमाडौँ उपत्यका विशेष कमिटी र राम मन्दिर बतिसपुतलीको संयुक्त आयोजनामा बिहीबार काठमाडौँको बतिसपुतलीस्थित राम मन्दिरमा आयोजित सीता जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।
नेपालको राष्ट्रिय विभूती एवम् विश्वमै नेपाललाई चिनाउने सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा राखेर उत्सवका रुपमा सीता जयन्ती मनाउनुपर्ने उनले बताए । ‘हामीले रामनवमी मनाउँछौँ । त्यो खुशीको कुरा हो । तर नेपालको राष्ट्रिय विभूती, नेपाललाई विश्वमै चिनाउने सीता माताको जन्मजयन्ती किन नमाउँने । सरकारी क्यालेण्डरमा सीता जयन्ती किन उल्लेख नगरेको म सरकारसँग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘सीता जयन्ती सरकारी क्यालेण्डरमा राख्नुपर्छ । नेपालभरी भव्यरुपमा हामीले सीता जयन्ती मनाउँछौँ । राम नवमीमा विदा दिने सरकारले आफ्नै देशको राष्ट्रिय विभूतीलाई विर्सन मिल्दैन् ।’
आजपा अध्यक्ष साहले विगत एक दशकदेखि सीता जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारमा सहभागि साहले सीता जयन्ती सरकारी क्यालेण्डरमै राख्नुपर्ने अडान राखेका थिए । तर त्यतिबेला सरकारले उनको माग सुनुवाई नगरेको उनले बताए । आउने दिनमा सरकारले सरकारी क्यालेण्डरमै सीता जयन्ती राख्नका लागि जनदबाब आवश्यक रहेको उनले बताए । ‘हाम्रो समाजमा पुरुषहरु आफ्नो योगदानको बारेमा चर्चा गर्छन तर महिलाको योगदानको बारेमा चर्चा हुँदैन् । पुरुषको जन्मदिन भव्यरुपमा मनाउँने तर महिलाको जन्मदिन नमनाउने विषय ठिक होईन्’ साहले भने, ‘सीता माताको सहित महिलाहरुले गरेको योगदानको चर्चा हुन आवश्यक छ । देश, समाजका लागि योगदान गर्ने महिलाको पुरष जस्तै सम्मान हुनुपर्छ ।’
आजपा काठमाडौँ उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवम्ं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष अरुण घिसिङ, प्रवक्ता चन्द्रभुषण साह लगायतको विशेष सहभागिता रहेको थियो । सोही कार्यक्रममा विभिन्न क्षेत्रमा उच्च योगदान गर्ने महिलाहरुलाई सम्मानित गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।






