
सरकारको नेतृत्वका विषयमा तत्काल कुनै सहमति भएको छैन तर छलफलबाट टुंगोमा पुग्नेछौँ ।
– भरतप्रसाद साह,
संसदीय दलका नेता, माओवादी
एमाले मधेश प्रदेशमा ठूलो दल भएकाले सरकारको नेतृत्वमा दाबी रहनेछ तर सहमतिमा टुंग्याउँछौँ ।
– सरोज यादव
संसदीय दलका नेता, एमाले
जसपा नेपाल सरकारमा रहने अथवा छाड्ने भन्ने निर्णय सोमबार बस्ने पार्टी बैठकले गर्नेछ ।
– मनिष सुमन
प्रवक्ता, जसपा नेपाल
मधेश सरकारको परिवर्तित घटनाक्रमबारे खास छलफल भएको छैन, समय आएपछि निर्णयमा पुग्छौँ ।
– जितेन्द्र सोनल
संसदीय दलका नेता, लोसपा
३० दिनभित्र नयाँ किसिमको समीकरणसहित पाँचौँपटक विश्वासको मत पाउँछु, राजीनामा दिन्नँ ।
– सरोजकुमार यादव
मुख्यमन्त्री, मधेश सरकार
वीरेन्द्र रमण
जनकपुरधाम ।
चौथोपटक विश्वासको मत दिएका दिनदेखि नै प्रदेश सभासमेत सञ्चालनको हैसियत गुमाएको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टीका सरोजकुमार यादव नेतृत्वको सरकार आइतबारदेखि अल्पमतमा परेको छ । अब सरकार बहिर्गमनको बाटोमा उभिएको छ । मधेश प्रदेश सरकारबाट सत्तारुढ दुई प्रमुख दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग भएपछि जसपा नेपाल नेतृत्वको सरकार पाँचौँपटक विश्वासको मत लिने या चुपचाप राजीनामा दिने अवस्थामा पुगेको हो । यादव नेतृत्व सरकारमा अब जसपा नेपाल र नेकपा एकीकृत समाजवादी मात्र समेटिएको छ ।
संघीय सरकारबाट जसपा नेपाल फिर्ता हुने तयारी गरिरहेको अवस्थामा आइतबार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिँदै मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक घटनाक्रम फरक ढंगले विकसित भएको हो । नेकपा एमाले र माओवादीबीच छलफल भएपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने सहमति बनेको हो । मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर माओवादीबाट मन्त्री रहेका भरतप्रसाद साह र युवराज भट्टराईले राजीनामा बुझाए । भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिए भने अर्थमन्त्री दाबी गरिरहेका साह वन वातावरण मन्त्रीमा थन्क्याइएका थिए । उनले अर्थ मन्त्रालय नपाएपछि अन्य मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गर्दै आएका थिए ।
उनले मधेश प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको र सरकारलाई पटकपटक जनमुखी काम गर्न आग्रह गर्दासमेत सत्ता साझेदार दललाई समेत विश्वासमा नलिएर एकलौटी गर्न खोजेपछि आफूहरुले सरकार छाडेको साहको तर्क थियो । उनले जसपा नेतृत्वको सरकारले संघीयतालाई संस्थागत गर्न र मधेशमा भष्टाचार मौलाएकामा न्यूनीकण गर्न खास ध्यान नदिएर संघीयताप्रति नै वितृष्णा हुने गतिविधि गरिरहेको आरोप लगाए । उनले भने, ‘हामीले मधेशी जनताको अपेक्षा पूरा गर्ने कार्य सरकारबाट नभएपछि मधेशी जनताको अधिकार र अपेक्षा पूरा गर्ने सरकार बनाउँछौ, यसतर्फ माओवादी अग्रसर भएको छ ।’ साहले अहिले सरकारलाई दिइएको समर्थन फिर्ता लिएर नयाँ सरकार बन्ने ढोका खोलेकाले सबै दलहरुसँग सहकार्य गरेर नयाँ सरकार बनाउने तयारीमा लाग्ने बताए । उनले अहिले नै यो दलको नेतृत्व भन्दा पनि सहमतिमा नेतृत्व टुंगो लगाउनेसमेत प्रष्ट पारे । साहले सरकारको नेतृत्वका विषयमा तत्काल कुनै सहमति नभएको र यस विषयमा छलफलबाट टुंगोमा पुगिने बताए ।
साहले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको र मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर नयाा सरकार निर्माणको लागि बाटो खोल्नुपर्ने बताए । उनले भने, ‘सरकार अल्पमतमा परिसकेको छ बरु राजीनामा दिएर मार्ग प्रशस्त गर्दा वेश हुन्छ ।’
माओवादीका मन्त्रीहरुले राजीनामा दिएको केही समयपछि नै नेकपा एमालेका मन्त्रीहरुले समेत राजीनामा दिएर सरकारलाई दिइएको समर्थन फिर्ता लिएको थियो । मधेश सरकारमा सहभागी एमालेका ६ मन्त्री–राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाए भने प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ताको पत्र बुझाए । एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह, सञ्चार तथा कानून, सत्रुघन सिंह स्वास्थ्य तथा जनसंख्या, प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्री थिए । त्यस्तै, केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र शारदा थापा गृह, सञ्चार तथा कानून राज्यमन्त्री थिए ।
राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले नयाँ घटनाक्रम मुलुकमा सिर्जना भएको र संघीय सरकारमा समेत जसपा नरहनेजस्तै बुझिएपछि आफूहरुसमेत बस्नुको औचित्य नरहेको कारण राजीनामा दिइएको बताए । उनले नेकपा एमाले मधेश प्रदेशको ठूलो दल भएकाले सरकारको नेतृत्वमा दाबी रहने बताए । उनले नयाँ सरकार गठनका विषयमा प्रदेश सभामा रहेका विभिन्न दलसँग छलफल गरिने र त्यसपछि निर्णय लिइने बताए ।
नेकपा एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि खाली भएको मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवले आफैँले लिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह, सञ्चार तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मा आफैँले लिएका हुन् । यसका लागि मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद पुनर्गठन गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल सरकारमा रहने अथवा छाड्ने भन्ने निर्णय सोमबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने प्रवक्ता मनिष सुमनले बताए । माओवादी केन्द्र र एमालेले सरकारबाट बाहिरिएको घटनाक्रमलाई नजिकबाट हेरिरहेको भन्दै मधेश प्रदेशसभा सदस्यसमेत रहेका प्रवक्ता सुमनले सोमबार बस्ने बैठकबाट सरकारमा रहने अथवा नरहने निर्णय लिइने बताए ।
मधेश प्रदेशमा १ सय ७ सांसद रहेकामा एकजना निलम्बनमा परेकाले १ सय ६ जना सांसद कायम छन् । मधेश प्रदेश सभामा नेकपा एमाले २५, नेपाली कांग्रेस २२, जसपा नेपाल १९, माओवादी केन्द्र ९, लोसपा ८, जनमत १३, नेकपा एस ७, नागरिक उन्मुक्ति पार्टी १, राप्रपा नेपाल १, संघीय समाजवादी पार्टी १ सदस्य छ ।बहुमत सदस्यका लागि ५४ प्रदेशसभा सदस्य आवश्यक रहेकामा पार्टी विभाजनअघि जसपा नेपालसँग १९ प्रदेशसभा सदस्य थिए । अहिले सरकारमै रहेका नेकपा एसले समेत के गर्ने भन्ने निर्णयमा पुगेको छैन । नेकपा एसका संसदीय दलका नेता एवम् भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले सरकारबारे निर्णय गर्न बैठक भइरहेको बताए ।
नयाँ गठबन्धन बनाउन छलफल
नेकपा एमाले र माओवादी केन्द्र जसपा नेतृत्वको सरकारबाट बाहिरिएपछि सरकार गठनका लागि नयाँ गठबन्धन बनाउने गृहकार्य शुरु भएको छ । नयाँ गृहकार्यअनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपाबीच छलफल शुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएर सरकारबाट समर्थन फिर्ता गरेपछि जनमत र लोसपासँग छलफल भएको हो । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको निवासमा जनमतका संसदीय दलका नेता महेशकुमार यादव र लोसपा नेता उपेन्द्र महतो र रानी शर्मा तिवारीबीच नयाँ सरकारको विषयमा छलफल भएको हो । छलफल सकारात्मक रहेको नेताहरुले बताए ।
लोसपाका नेतृ रानीकुमारी तिवारीले नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिएको र छलफल अगाडि बढ्ने बताइन् । उनले आफूहरु सरकारका विषयमा सकरात्मक रहेको बताइन् । उनले भनिन्, ‘उहाँहरु सरकारबाट बाहिरिनुभएको छ, हामीसँग छलफल गर्नु भएकामा हामी सकारात्मक छौँ, अब छलफल गरेर बाँकी विषय टुंगोमा पुर्याउने छौँ ।’
पाँचौँपटक विश्वासको मत पाउछु
दुई सत्तारुढ दलको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले र माओवादीले सरकारबाट समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा नपरेको दाबी गरेका छन । उनले आफूले राजीना नदिने तर विश्वासको मतको सामना गर्ने बताए । मधेशदृष्टिसँग कुरा गर्दै कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिने कानुनी प्रावधान रहेकाले विश्वासको मत सामना गर्ने प्रष्ट पारे । उनले भने, ‘पाँचौपटक विश्वासको मत पाउने छु, यसमा कुनै शंका छैन ।’
उनले ३० दिनसम्म आफूलाई सरकारमा रहने अधिकार भएकाले राजीनामा दिने सम्भावना नरहेको बताए । उनले केही दलले समर्थन फिर्ता लिएपछि मधेशमा नयाँ किसिमको समीकरण बन्ने प्रष्ट पारे । उनले ३० दिनभित्र आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए ।
उपयुक्त समयमा निर्णय गर्छौँ
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जितेन्द्र सोनल आइतबार राति नै काठमाडौँ हिँडेका छन् । मधेश सरकारमा परिवर्तित घटनाक्रममा लोसपाले साथ दिए बहुमत पुग्ने पक्का छ । यस्तो अवस्थामा लोसपाले पनि मुख्यमन्त्री दाबी गरिरहेको अवस्थामा एकाएक आइतबार साँझ नेता सोनल काठमाडौँ हिँडेका हुन् । उनले भने, ‘एकाएक काठमाडौँबाट बोलावट भयो, रातारात काठमाडौँ जाँदैछु ।’ उनले मधेश सरकारको परिवर्तित घटनाक्रमबारे खास छलफल नभएको र उपयुक्त समयमा उपयुक्त निर्णय गरिने तयारी रहेको बताए । भने, ‘आइतबार खास केही छलफल भएको छैन, काठमाडौँ हिँडेको छु, मधेश सरकारबारे समय आएपछि निर्णयमा पुग्नेछौँ र निर्णय उपयुक्त लिनेछौँ ।’






