
मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी नेपालका नेता एवम् मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले घर झगडाका कारण घरमै आगो लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सहकर्मी सञ्चारसंस्था टिभी वीरगंज तथा रेडियो वीरगंजको कुराकानीमा मधेश प्रदेश सभा सदस्यसमेत रहेका जसपा नेपालका नेता राउतले आपसी विवाद अन्तरद्वन्द्व आपसमै बसेर समाधान गर्नुको साटो आफैँ बसेको घर फुटाउनु जायज नभएको दाबी गरे ।
उनले भने, ‘मधेश आन्दोलनको नेतृत्व गर्ने मधेशी जनता र मधेशका लागि बलिदानी दिएको संगठन फुटाउनु मधेशी जनताको भविष्यसँग खेलवाड गर्नु हो ।’ उनले जसपा नेपालबाटै मन्त्री, सांसद, मेयर, अध्यक्ष बन्ने अनि त्यही पार्टी टुक्राटुक्रा बनाएर हिँड्ने प्रवृत्ति ठीक नभएको बताए । उनले मधेशका जनताले जसपा नेपाललाई साथ दिने बताउँदै हिजो आफूलाई जन्माएको संगठनलाई कसैले बिर्सिन नहुनेमा जोड दिए ।
हिजोसम्म आफू बसेको घर ठीक हुने तर आज त्यही घर बेठीक भएको भन्दै फुटाउनेहरु पुनः भोलि त्यो घर पनि फुटाउँदै जाने र विलय हुने दाबीसमेत पूर्वमुख्यमन्त्री राउतले गरे । उनले आगामी दिनमा संगठन अझ मजबुद र बलियो बनाउँदै अघि बढ्ने बताए ।






