
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टीले आइतबार भन्सार विभाग घेराउ गरेको छ । चोरी तस्करी नियन्त्रणको नाममा बारा, पर्सा, रौतहट लगायत तराईका जिल्लाहरुमा जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्नु पर्ने, भन्सार कानुनमा रहेका विभेदकारी एवम् लूटकारी प्रावधान हटाउन आम सम्पर्क मञ्चद्वारा भन्सार विभाग मार्फत सरकार समक्ष माग प्रस्तुत गर्दै भन्सार विभाग घेराउ गरेको हो ।
आम जनता पार्टीले भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनु पर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनु पर्ने, भन्सार महशुल नबुझाएकै कारण निजी सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नु पर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नु पर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नु पर्ने, भन्सारबाट उठेको राजस्व रकमको २५% सम्बन्धित प्रदेशलाई र २५% सिमासँग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।
आइतबार दिउँसो भएको शान्तिपूर्ण धर्नामा प्रहरीले आम जनताापर्टीका दुई दर्जन बढी कार्यकर्तालाई बल प्रयोग गरी पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा राजु साह, चन्दन साह, संजय साह, उपेन्द्र साह, मनोज यादव, आर्य पाण्डे, कनक सिंह, विनोद साह, राज कुमार विक, चन्द्र लाल साह, वरुण जयसवाल, विजय लामा, बलभन्द्र आचार्य, हिरालाल साह लगायतका रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार साँझ छोडेको छ ।






