अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मिथिलाञ्चलसहित तराई मधेशका क्षेत्रमा आइतबार चैती छठ पर्वअन्र्तगत अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको छ । कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्वपूर्ण मानिने चैती छठअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिइने छ ।

जनकपुरको गंगा सागर, अरगजा सर ,धनुष सरलगायतका सरोवरमा उल्लेख्यरुपमा श्रद्धालुको भिड देखिएको थियो । छठ पर्वलाई लिएर सरोवारहरु भव्य रुपमा सजाइएको थियो । साँझ श्रद्धालुहरु अर्घका लागि नजिकको सरोवरहरुमा पुजन सामग्री लिएर पुगेका थिए । कात्तिक र चैत महिनामा दुई पटक मनाइने छठको समान धार्मिक महत्व छ ।

छठ पर्वको पहिलो दिन नहाय खाय हुने गर्छ, जसमा ब्रतालु चोखो बन्दै प्याज–लसुनलगायतका बस्तुहरु परित्याग गरी सात्विक बन्ने गर्छन् । पर्वको दोस्रो दिन खरना मनाइन्छ । खरनाका दिन व्रतीहरू दिनभर उपबास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवता पूजा गर्छन् र राति अरबा अरबाइन खानेकुरा खाने चलन छ ।

त्यस्तै, षष्ठीका दिन मुख्य पूजा गरिन्छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलासयमा गई अर्घ दिइएको छ । घरघरमा गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी अर्घ दिइने चलन रहेको छ । मुख्य पूजामा परिवारका सम्पूर्ण सदस्य भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलासय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन् ।

त्यस्तै, पर्वअन्तर्गत सोमबार बिहान पुनः छठघाट पुगेर अघिल्लो दिनको क्रम दोहो¥याइ सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने रीति छ । ब्रतालुहरू आइतबार राति ब्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुनेछ ।

मिथिलामा यो पर्व द्वापर युगमा जाम्बवतीका गर्भबाट उत्पन्न कृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेको र त्यसै बेलादेखि यो प्रारम्भ भएको मानिन्छ । यस्तै, महाभारतकालमै पाण्डवले गुप्तबास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ । यो ब्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button