
मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरधाममा अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी बैशाख २० गतेदेखि २९ गतेसम्म अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको हो । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको मन्त्री सुरीताकुमारी साहले जानकारी दिइन् ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री साहले बैशाख २० गतेदेखि हुने अन्तर प्रदेश टी २० क्रिकेट प्रतियोगिता बैशाख २९ गतेसम्म सञ्चालन हुने जानकारी दिइन् । क्रिकेट प्रतियोगितामा सात वटै प्रदेश र एक आयोजक टिम गरि कूल आठ वटा टिम रहने आयोजकले जनाएको छ । जनकपुरधामस्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा प्रदेश सरकारको आयोजनामा हुने प्रतियोगिताको संयोजन सहिद कप क्रिकेट कमिटीले गरेको छ भने सहकार्य मधेश क्रिकेट संघ र नेपाल क्रिकेट संघले गरेको हो ।
क्रिकेट प्रतियोगितामा कूल ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ३० लाख रुपैयाँ प्रदेश सरकारले दिने मन्त्री साहले बताइन् । मन्त्री साहले प्रदेश सरकार खेलकुदको विकासमा प्रतिबद्ध रहेको बताउँदै खेलाडी र खेलकुदको विकासको लागि सरकारले खेलकुद विधेयक प्रदेश सभामा पेश गरेको र सो विधेयक अहिले समितिमा छलफलको लागि रहेको जानकारी दिइन् । अब छिट्टै उक्त विद्येयक प्रदेश सभाबाट पारित भएर ऐनको रुपमा आउने उनले बताइन् । उनले ऐन निर्माण भएपछि मधेशको खेलकुद क्षेत्र झनै व्यवस्थित हुने विश्वास व्यक्त गरिन् ।
शहीद कप क्रिकेट कमिटिको संयोजन तथा क्रिकेट एशोसिएशन नेपालको सहकार्यमा संचालन हुने टी–२० क्रिकेट प्रतियोगितामा विजेता टीमलाई नगद दुई लाख ११ हजार रुपैयाँसहित ट्रफी र उपविजेता टीमलाई नगद एक लाख रुपैयाँ एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरीजलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी प्रदान गरिने कमिटीका संयोजक रुपेश कुमार सिंहले जानकारी दिए ।






