अजयकुमार झा र ‘अष्टावक्र गीता’

[mashshare]
–सञ्जय साह मित्र

मनको भावलाई प्रवाह दिन कुनै भाषाले रोक्नु हुँदैन । आफ्नो लेखनीको गति जुन भाषाले समात्छ, लेखकलाई सोही भाषामा लेख्न सजिलो हुन्छ । यसको अर्थ यो पनि हो कि कतिपयलाई मातृभाषामा लेख्न सजिलो हुन्न तर अन्य भाषामा भने लेख्न सजिलो हुन्छ । मुख्य गरी विकासोन्मुखी वा लोपोन्मुखी भाषाका वक्ताहरुलाई सम्बन्धित मातृभाषामा बोल्न जति सजिलो हुन्छ, लेख्न त्यत्ति सजिलो हुँदैन । यस किसिमको लेखाइमा भाषाले दुई तहमा काम गरेको हुन्छ । सोचाइको तहम मातृभाषाले काम गरेको हुन्छ जसलाई पहिलो तह मान्न सकिन्छ भने अभिव्यक्तिको तहलाई दोस्रो तह मान्न सकिन्छ जसमा लेख्न सकिन्छ । आधुनिक शैलीमा इन्पुट मातृभाषामा, प्रोसेसिङ द्वैध भाषामा र अभिव्यक्ति अर्को भाषामा हुने हुन्छ । तर, कतिपय प्रतिभाशाली व्यक्तित्वहरु भने एकभन्दा धेरै भाषामा समान दक्षता राख्न सक्छन् । मातृभाषामा र अन्य आर्जित भाषामा पनि समान दक्षता राख्ने र अभिव्यक्ति दिने यसै प्रतिभावान व्यक्तिहरुमा अजयकुमार झा पनि एक हुन् ।

मूलतः पूर्वीय वाङ्मयका ज्ञाता अजयकुमार झा महोत्तरीका निवासी हुन् । मडई मूल घर भई सदरमुकाम जलेश्वरका निवासी साहित्यकार झा विभिन्न भाषामा कलम चलाउँछन् । हिन्दी भाषामा साहित्यकार झा निकै परिचित वक्ता पनि हुन् । केही महिनादेखि मर्यादापुरुषोत्तम रामको विषयमा भारतका विभिन्न धार्मिकस्थलमा प्रवचनसमेत दिइरहेका झाका गहन वैचारिक, दार्शनिक तथा शोधपरक रचनाहरु भारतका विभिन्न प्रतिष्ठित दैनिक अखबारहरुमा निरन्तर आइरहेका छन् । बज्जिका र नेपाली भाषामा पनि उत्तिकै बेजोड कलम चलाउने बहुभाषिक साहित्यकार झाको रुचि भाषाको उत्पत्ति, संरचना तथा भाषामा रहेका मौलिक शब्दको संरक्षणमा पनि रहेको छ । बालबालिकालाई मातृभाषामा लेख्न सल्लाह दिने, संरक्षण दिने तथा बालरचनालाई विभिन्न पत्रपत्रिकामा पु¥याउन माध्यमको काम गर्ने झा कुशल संगठक पनि हुन् । जनकपुर तथा जलेश्वरमा रहेका विभिन्न साहित्यिक, सांस्कृतिक तथा अन्य संघसंस्थामा रहेर झाले समाजमा एक सक्रिय र सचेत नागरिकको भूमिका निर्वाह गरिरहेका छन् । शिक्षण पेसामा रहेका झा परम्परागत मौलिक संस्कृतिको उन्नयनमा पनि तल्लीन छन् । पूर्वीय वाङ्मयका गुढ रहस्यलाई सरल भाषामा निकाल्न सक्ने खुबी भएका झालाई ‘स्वामी देवस्वरूप’को उपाधि दिइएको छ ।

राम एकबाल झा र मीणादेवीबाट सन् १९६८ मा जन्मेका झाको रुचि शिक्षण, लेखन र पत्रकारितामा रहेको छ । नेपाली साहित्यमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक गरेका झाका व्याकरण तथा भाषा सम्बद्ध कृतिहरु प्रकाशित छन् । महागीता काव्यानुवाद, भाव उद्बोधिनी गीता, भाव, वेदना, स्मृति, मन्थन, एक दृष्टिकोण, अद्वैत, हृदयक उद्गार, शुभकामना, भेदान्त, राष्ट्रियता, यथार्थ जस्ता हिन्दी, मैथिली र नेपाली भाषामा प्रकाशित उनका कृतिहरुमा कुनै अनुवाद, कुनै भावानुवाद, कुनै लेख, कुनै भजन, कुनै कविता तथा कुनै नाटक रहेका छन् । यसरी हेर्दा किंडल अनलाइनमा प्रकाशित झाका रचनाहरु बहुविधा र बहुविषयक रहेको भए पनि मूलतः पूर्वीय दर्शन र वाङ्मयकै रहेको स्पष्ट हुन आउँछ । नेपाल हिन्दी प्रतिष्ठान जनकपुर तथा सरस्वती राजनारायण प्रतिष्ठान जनकपुरद्वारा पुरस्कृत र सम्मानित झालाई बज्जिका सम्मान पनि प्राप्त छ । यसै गरी भारतको दिल्लीमा भाषा सहोदरी हिन्दी प्रशस्तिपत्रद्वारा सम्मानित झालाई रविन्द्र साह स्मृति सम्मान, नेपाल निजामती कर्मचारी युनियन सम्मानका साथै नापी कार्यालयद्वारा प्रशंसापत्र प्राप्त भएको छ । यसै गरी विश्व हिन्दी दिवसको अवसर पारेर भारतको महावाणिज्य दूतावास वीरगंजले झालाई सम्मानित गरेको छ । जलेश्वर एमफएममा कार्यक्रम संचालनदेखि हिमालिनी हिन्दी पत्रिकामा निरन्तर लेखन गर्ने झाले विभिन्न खोज तथा अनुसन्धान पनि गरेका छन् । झाले नाटक तथा एकांकीको निर्देशन तथा अभिनय समेत गरेका छन् । बहुमुखी प्रतिभा धनी झाको पछिल्लो प्रकाशित कृति हो – अष्टावक्र गीता । यो हिन्दी भाषामा काव्यात्मक भावानुवाद कृति हो । यसमा झाको अनुसिर्जन कौशल तथा प्रतिभा दुवैको दर्शन गर्न पाइन्छ ।

आध्यात्मिक र दार्शनिक सन्देश दिने हिन्दी भाषामा प्रकाशित ‘अष्टावक्र गीता’ मा लखनऊका राम निवास सिंह, अमनपुरका आचार्य भवनेश्वर चौधरी, आचार्य मा प्रेम रेखा, महाराष्ट्रकी डा. कृष्टि सुभांगी तथा महाराष्ट्र खामगांंव, बुलधानाका कृष्णा वागलले यस कृतिलाई सफलताको शुभकामना दिँदै पूर्वी दर्शनको अत्यन्त महत्वपूर्ण कृति मानेका छन् । कृतिकार झाले प्रस्तावनामा स्वयं यस कृतिलाई वेदान्त दर्शनको सर्वोच्चमान्य ग्रन्थको रुपमा स्वीकार गरेका छन् । भनिन्छ, गीतामा भगवान श्रीकृष्ण र अर्जुनबिचको सम्वाद छ । महाभारत युद्धको प्रारम्भमा अर्जुनले युद्ध गर्न नमानेपछि युद्ध गर्नको लागि भगवान श्रीकृष्णले अर्जुनलाई जुन उपदेश दिए, जसलाई सुनेर अर्जुनले युद्ध गरेर विजय प्राप्त गरे, त्यही सम्वादलाई आज विश्वले गीताको रुपमा स्वीकार गरेको छ । यसलाई श्रीम्दभाग्वतगीता भन्ने गरिन्छ । यसपछि अर्को गीता भनेको अष्टावक्र र राजा जनकबिचको सम्वाद हो । यसलाई अष्टावक्र गीता भनिन्छ । विचार गर्दा अर्जुन गीताभन्दा अष्टावक्र गीता जेठो हो । राजा जनक र अष्टावक्रबिच भएको शास्त्रार्थ नै अष्टावक्र गीता हो । यस ग्रन्थले आत्मबोधमाथि जोड दिन्छ । आत्मबोध हुनको लागि पूजा, प्रार्थना, भजन, यज्ञ, योग, ध्यान, समाधि आदिको आवश्यकता पर्दैन । अष्टावक्र गीताले यो भन्दछ कि गीताज्ञानले ज्ञानमार्गबाट सोझै र तत्क्षण नै आत्मबोध हुने शिक्षा दिन्छ । आत्मबोध जुनसुकै बेला पनि मानिसलाई हुन सक्छ । अष्टावक्रको ज्ञानले अर्थात् अष्टावक्रसित जुन शास्त्रार्थ भएको थियो, त्यस शास्त्रार्थले सिरध्वज जनकलाई तत्काल आत्मबोध भएको थियो ।

प्रस्तुत ‘अष्टावक्र गीता’ गीतामा बिस अध्याय रहेका छन् । कृतिमा पहिले प्रश्न र त्यसपछि जवाफ आएको छ । यस कृतिको मुख्य विशिष्टता यो छ कि संस्कृत भाषाको श्लोक पनि दिइएको छ र त्यस श्लोकलाई हिन्दी भाषामा श्लोकानुवाद गरिएको छ । यो शब्दानुवाद होइन, भावानुवाद हो । वास्तवमा यो अनुवादभन्दा बढी अनुसिर्जन हो जसलाई आजभोलि अंग्रेजीमा ‘ट्रान्सक्रियसन’ भनिन थालिएको छ । ट्रान्सक्रियसनको अब्बल उदाहरण यस कृतिमा अनुसर्जक झाको उच्च प्रतिभा वा बौद्धिक क्षमतालाई देख्न सकिन्छ । संस्कृतको एक श्लोकलाई अत्यन्त सरल तर उच्च कलात्मक र साहित्यिक हिन्दी भाषामा झाले अन्त्यानुपास र भावकोसमेत संयोजन गरी अनुवाद गरेका छन् । झाको अनुवादलाई अध्ययन गर्दा अनुवादभन्दा मौलिक लेखनको स्वाद बढी पाइन्छ । जनकसितको सम्वादलाई झाले जति सरल बनाएर प्रस्तुत गरेका छन्, त्यत्ति मिठासपूर्ण पनि बनाएका छन् । यसमा एकातिर जनकमा रहेको ज्ञानपिपासालाई सार्वजनिक गरिएको छ भने अर्कोतिर अष्टावक्रको ज्ञानको उच्चतालाई प्राथमिकता दिइएको छ । कोही जति धेरै माथि उठेर प्रश्न गर्न सक्छन्, उसमा त्यत्ति धेरै उच्च कोटिको दर्शन बुझ्ने क्षमता पनि रहेको हुन्छ । जसले उच्च कोटिको दार्शनिक प्रश्न गर्न सक्छन्, तिनलाई सन्तुष्ट पार्ने उत्तरदातामा पनि त्यत्तिकै उच्च कोटिको दार्शनिक क्षमता हुनुपर्छ । यहाँ तराजुको एउटा पल्लामा कुनै सामान राख्दा अर्कोतिर बराबर हुनको लागि पनि कुनै सामान त्यत्तिकै गहन हुनु अनिवार्य हुन्छ भन्ने कुरालाई पनि देखाइएको छ ।

सिरध्वज जनकको सम्मान त विश्वव्यापी छँदैछ तर अष्टावक्र गीतामा आएको ज्ञानले अष्टावक्रजस्तो व्यक्तित्वको बौद्धिक, दार्शनिक तथा ज्ञानको क्षमताको उच्च सम्मान भएको छ । वैदिक ज्ञानको अपार विद्वान अष्टावक्रको उच्च सम्मान यस कृतिमा पनि तिनको दार्शनिक क्षमताले प्रमाणित गरेको छ । पहिचान तथा कर्तव्यको क्षेत्रमा पनि मानिस हुँदा गर्नुपर्ने धेरै र बुझ्नुपर्ने धेरै ज्ञानको स्रोतको रुपमा यस कृतिलाई लिन सकिन्छ । यसभन्दा पहिले अष्टावक्र गीता कहिल्यै नपढेका बौद्धिक व्यक्तित्वका लागि यो अनमोल रत्न हो भने जसले अष्टावक्र गीता कुनै अन्य प्रकाशनको अध्ययन गरेका छन्, तिनका लागि यो कृति बिल्कुलै नयाँ स्वादमा प्राप्त हुने सम्पूर्ण ज्ञानको पुनप्र्राप्ति हो, पुनर्ताजगी हो ।

आत्मा के हो, मुक्ति कसरी पाइन्छ, मुक्ति भनेको के हो, वैराग्य के हो, मोहमाया के हो, जस्ता दार्शनिक प्रश्नको सरल हल यसमा खोजिएको छ । ज्ञानको स्वरुप कस्तो हुन्छ, अज्ञान के हो जस्ता समस्याको निदान पनि दार्शनिक रुपमै कृतिमा गरिएको छ । एक ठाउँमा यसरी भनिएको छ :
हो स्वयं ज्योतिर्मय सर्वथा दोष मुक्त
हो असंग अक्रिय निर्विकार औं मुक्त ।
ज्ञानले मानिसमा नम्रता ल्याउँछ, विवेकले मानिसलाई ज्ञानी बनाउँछ । विवेक र ज्ञान दुवैले मानिसभित्रको अहमलाई नाश गर्दछ । मानिसमा प्रज्ञाचक्षु अभ्यन्तरमा हुन्छ । मानिसले आफूलाई नै मुक्त गर्न सम्भव छ जस्ता अत्यन्त दर्शनिक एवम् गहन भावहरु यसमा अभिव्यक्त भएका छन् । सिरध्वज जनकले जसरी ज्ञानवान पुरुष अष्टावक्रको सम्मान गरेका छन्, उक्त तहको सम्मान केवल जनकजस्तो विद्वानले नै गर्न सक्छ । आत्मज्ञानीदेखि योगी र विद्वान तथा राजाको कर्तव्यबारे यस कृतिमा निकै राम्रोसित व्याख्या गरिएको छ । वास्तवमा यो कृति सानोमा पनि निकै मूल्यवान रहेको छ ।

कृतिले एकातिर अष्टावक्रको विद्वताबारे पाठकलाई जानकारी गराउँछ भने अर्कोतिर यसले कृतिको भावानुवादकको पनि भाषिक कौशलका साथै विद्वताबारे प्रकाश पार्दछ । यो कृति निकै मूल्यवान छ । पूर्वी दर्शनमा रुचि राख्नेको लागि विशिष्ट कृतिको रुपमा रहेको यस अष्टावक्र गीताको प्रकाशन आफैँमा एउटा युगीन कार्य भएको छ । अध्यात्म, ज्ञान, दर्शन तथा वेदान्त साहित्यमा अभिरुचि राख्नेको लागि यस कृतिले जीवनमार्गलाई अझ सरल बनाउने अभिप्रेरणा दिन सक्छ । ज्ञानपिपासुलाई यस ग्रन्थले अलिकति भए पनि ज्ञानामृतले तृप्त पार्न सक्छ । जीवन र जगत्का अत्यन्त गूढ रहस्यलाई सरल भाषामा व्याख्या गर्ने यस सूत्रात्मक ग्रन्थले ग्रन्थकार स्वामी देवस्वरुप अजयकुमार झाको समग्र व्यक्तित्वलाई अझ उचाइमा पु¥याउने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button