
वीरेन्द्र रमण
जनकपुरधाम
उच्च अदालत जनकपुरले गरेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरुलाई सफाइ दिएपछि असन्तुष्टि जनाउदै वादी पक्षका दुईजनाले इजलासमै विरोध गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । धनुषा, सबैला नगररपालिका वडा नम्बर १ का रामसेवक राउत पत्नी सिकिल देवी गडेरी र सोही ठाउँका सिताराम साहका छोरा श्याम किसोर साहसमेतको जाहेरीमा नेपाल सरकार पक्ष मुद्दामा प्रतिवादीलाई उच्च अदालत जनकपुरले सफाइ दिएपछि असन्तुष्टि जनाउँदै इजलासमा नाराबाजी गर्दा पक्राउ गरिएको हो ।
सञ्जीव राउत र राम सागर साह पक्राउ परेका हुन् । उनहिरुमाथि अदालतले अवहेलना मुद्दा दर्ता गरेको छ । उच्च अदालत जनकपुर ४ नम्बर इजलासका न्यायाधीश किरणकुमार पोखरेल र ओम प्रसाद अर्यालको इजलासले मुद्दामा प्रतिवादीलाई जिल्ला अदालत धनुषाको फैसला उल्टाउदै सबैलाई सफाइ दिएको हो । यसैको विरोध गर्दै उनीहरुले इजलासमा नाराबाजी गरेका हुन् ।
उच्च अदालत जनकपुरका उपरजिस्ट्रार सुशीलकुमार यादवले जिल्ला अदालत धनुषाले महेश यादव, महेन्द्र यादव, राम बिहारी भनिने लाल विहारी यादवसहित तीनजनालाई जन्म कैद सजाय सुनाएको थियो । त्यसैगरी प्रतिवादी जगदीश यादव, पुष्प नारायण यादव, राम विलास यादव, प्रदीप यादव, बुधेश्वर यादव, राजदेव यादव, सिताशरण यादव, देव लाल यादव, लक्ष्मीनारायण यादव, सन्तोष यादव, जगदीश राउत, महेन्द्र यादव, जिवछ यादव, दुर्गा प्रसाद साह, देवनारायण मण्डल, अच्छे लाल महतोलाई एक वर्ष कैद सजाय जिल्ला अदालतले तोकेको थियो ।
उनीहरुलाई समेत उच्च अदालत जनकपुरले सफाइ दिएको छ । जन्मकैद र एक वर्ष कैदको सजाय भएका सबै प्रतिवादीलाई सफाइ दिएपछि वादी पक्षको व्यक्तिले फैसलाको विरोध गर्दै नाराबाजी गरेका हुन् । सबैलामा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनका विषयमा २०७१ चैत ८ गते छलफल भइरहेको अवस्थामा भएको विवाद र कुटपिटबाट राम सेवक राउत गडेरी र राम प्रकाश यादवको मृत्यु भएको थियो । कांग्रेस, माओवादी, माओवादी र एमालेकै एक पक्ष समेतका कार्यकर्ताको समूहले चुनावमा कसलाई अध्यक्ष उठाउने भन्नेबारे छलफल गर्न रामदेव ठाकुरको घरमा भेला भए । सोहीक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका स्थानीय योगनारायण यादव नेतृत्वको समूहले आक्रमण गरेका थिए ।
स्थानीय विभिन्न मुद्दामा मातृका यादव र एमालेका योगनारायण यादबबीच टकराव हुँदै आएको थियो । योग नारायण यादव समूहले सार्वजनिक जग्गा प्लटिङ गरेर बेच्न खोज्दा ६ महिनाअघि मात्रै सबैलामा विवाद भएको थियो । सोही विवादपछि व्यवस्थापन समितिको विषयमा समेत विवाद भएको थियो । झडपमा परेर गम्भीर घाइते भएका स्थानीय रामसेवक राउत गडेरीको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने बैठकमा सहभागी रामप्रकाश यादवको राति १ बजे गोली हानी हत्या भएको थियो ।






