मेडिकल व्यवसायी पण्डित अख्तियारको निशानामा, मधेश प्रदेशको बदमासी ढाकछोप गर्न दौडधूप

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मेडिकल व्यवसायी विशाल पण्डितको देशैभरको मेडिकल उपकरण खरिद प्रकरण विवादमा परिरहँदा उनले बदमासी र भ्रष्टाचार गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित, कोशी प्रदेश प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको विषयको मुद्दा दायर गरेको हो । दुई करोड ८९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएपछि पण्डितका बदमासीहरु अरु छताछुल्ल हुने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाबाट हुने स्वास्थ्य सामग्री खरिदमा विगत दुई दशकदेखि सेटिङ साम्राज्य चलाइरहेका विशाल पण्डित पछिल्लो समय प्रदेश सरकारका मेडिकल उपकरणमा पनि पनि सेटिङमा काम गरिरहेका छन् ।

पण्डितका दुई कम्पनी हस्पिटेक इन्टरप्राइेजज र लाइफलाइनका नाममा कारोबार भइरहेको छ । पण्डितको हस्पिटेक र लाइफलाइनले उपकरण क्षेत्रमा ७० प्रतिशत भन्दा बढी ठेक्का सेटिङमा लिइरहेको छ । ४० लाख रुपैयाँ पर्ने उपकरण सरकारी अस्पताललाई २ करोड रुपैयाँमा खरिद गर्न लगाएर राज्यधनमा लुट मच्चाउँदै आइरहेको समाचार आएपछि पछिल्लो समय पण्डितको केन्द्र सरकार मातहत, कोशी, मधेश, र सुदूरपश्चिम प्रदेशमा भएका खरिद प्रकरण पनि विवादित भएका छन् ।

के हो पण्डितको कारोबार ?
स्वास्थ्य सामग्री खरिदपूर्व ‘स्पेसिफिकेसन’ बनाउँदा नै आपूर्ति शाखाले स्पेसिफिकेसनमा प्रतिस्पर्धामा गुणस्तरीय सामान खरिद गर्नु पर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख छ । तर पण्डितलाई काम दिन स्पेसिफिकेसन बनाउँदा नै आपूर्ति शाखाका प्रमुखले सेटिङ भएका कम्पनीका सामानलाई मात्र मिल्ने गरी बनाउने गरेका छन् ।

यसका लागि अनुकुलका बायोमेड इन्जिनियर करारमा राख्नेसम्मको काम पण्डितले गर्न भ्याउँछन् । मधेश प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले सर्लाही र सिरहाका लागि खरिद गर्न लागेको सिटी स्क्यान मेसिन प्रकरणमा पनि पण्डितले यसै गरेका थिए । केन्द्रका निर्देशक डा. मनिष पाण्डेलाई हातमा लिएर भएका बायोमेड इन्जिनियर सरुवा गरी करारमा बायोमेड इन्जिनियर नियुक्त गरेर बदमासी गर्न खोजिएको थियो ।

सर्लाही र सिरहामा सिटी स्क्यान मेसिन खरिदका लागि भएको बदमासीबारे मधेशदृष्टिले लगातार समाचार प्रकाशन गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लेखा समिति र अख्तियार दुरुयोग अनुसन्धान आयोग महोत्तरीमा उजुरी परेको छ । यो बीचमा सिटी स्क्यान खरिद प्रकरणमा जोडिएका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह भने बर्खास्तमा परिसकेका छन् । यता, पण्डितका साझेदारहरु पनि भने उजुरीकर्तालाई फकाउन केन्द्रित भएको पाइएको छ । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री हटेर नेकपा एमालेका नयाँ स्वास्थ्यमन्त्री आए पनि ‘सेटिङ’ कायम रहेकाले यो घटनालाई थप नउचाल्न भन्दै पण्डित समूहले उजुरीकर्ता समूहलाई फकाउन लागेको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘जे जति मिडियाबाजी र उजुरी भए पनि काम अघि बढिरहेको छ, नयाँ मन्त्री आए पनि काम सजिलै हुने भएकाले यसलाई अब थप नउचालिदिनु होला । आगामी कारोबारहरुमा सँगै हुनेछौँ ।’ उजुरीकर्ताको उजुरीमा छानबिन हुनुपर्नेमा उल्टै पण्डित समूहले फकाउन लाग्नु, नयाँ मन्त्रीलाई पनि नजरअन्दाज गरेर कुनै छानबिन नहुने र काम आफूहरुले भनेअनुसार नै हुने गरी थप सेटिङ भइरहेको पण्डित समूहका सदस्यहरुले बताउने गरेका छन् ।

फिलिप्स ब्रान्डका मेडिकल उपकरणका आपूर्तिकर्ता धादिङका पण्डित सिंहदरबारसँगै जोडिएको होटल बसेरा बुटिकका सञ्चालक पनि हुन् । उनको होटलमा ठूला दल भनिएका नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेसका शीर्ष नेताहरुको पनि उठबस हुने गरेको छ । पछिल्लो समय प्रदेश सरकारका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, उपकरण खरिद गर्नु पर्ने अन्य मन्त्रालयका मन्त्री र कर्मचारीहरु पनि पण्डितको होटल बसेरा बुटिकमै खाइपिइमा पुग्ने गरेका छन् । पछिल्लो समय मधेशमा आँखा गाडेका पण्डितले सत्तामा रहेका र सत्तामा पुग्न सक्ने शक्तिसँगै मुख्यमन्त्रीको पार्टी र सचिवालयका वरिष्ठ तथा पूर्व अधिकृतहरुलाई पनि सेवा दिएर ‘मेवा’ लिने काम गरिरहेका छन् ।

पण्डितले कसरी मिलाउँछन् सेटिङ
विशाल पण्डितले स्वास्थ्य सेवा विभागले २०७६ जेठ १ मा टेन्डर गरी १२८ स्लाइसको सिटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिदका लागि प्रक्रिया अगाडि बढाएको घटना हेरौँ । उपकरणको टेन्डरमा पहिले नै पण्डितको हस्पिटेक इन्टरप्राइजेजसँग सेटिङ गरी विभागले ४० लाख रुपैयाँ मूल्य पर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ करोड रुपैयाँमा खरिद गरिएको थियो । आर्थिक वर्ष २०७३–७४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का तत्कालीन उपकुलपति गणेश गुरुङले २२ करोड रुपैयाँ मूल्य पर्ने क्यान्सरको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ४० करोड रुपैयाँमा पण्डितको कम्पनीबाट खरिद गरेका थिए ।

गुरुङले पण्डितकै कम्पनीसँग खरिद गर्नका लागि टेन्डर सूचनामै ब्रान्ड किटान गरेर स्पेसिफिकेसन बनाएका थिए । जबकि, वीर अस्पताललाई दिएकै टेमोथेरापी मेसिन पण्डितकै कम्पनीले त्रिवि शिक्षण अस्पताललाई २८ करोड रुपैयाँमा दिएको थियो । करोडौँका उपकरणमा २ सय गुणाभन्दा बढी मूल्य लिने पण्डितलाई राजनीतिक संरक्षण छ यद्यपि कोशी प्रदेश सरकारबाट उनको बदमासी अख्तियारको मुद्दामा परेपछि अन्यत्र पनि उनको धन्दाबारे अख्तियारको चासो हुने अपेक्षा अरु मेडिकल उपकरण व्यवसायीले गरेका छन् ।

मधेशमा के थियो बदमासी ?
मधेश प्रदेश सरकारले सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानका लागि गरेको टेन्डरमा बदमासीबारे मधेशदृष्टिले खुलासा गरेको  थियो । यसका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामका स्थायी बायोमेड इञ्जिनियर शैलेन्द्र यादवलाई अन्यत्र सरुवा गरिएको थियो । करारमा कन्सल्टेन्ट भनेर बायोमेड इन्जिनियर बन्दना मिश्र नियुक्त गरिएको थियो । मिश्रले तयार पारेको परियोजनाका आधारमा २० करोड रुपैयाँको सिटी स्क्यान मेसिन खरिदका लागि ‘रुमसहित मेसिनका लागि स्पेलक’ गरिएको थियो । केन्द्रले तयार पारेको मापदण्डमा काठमाडौँस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै टेन्डर भर्न मिल्ने गरी टेन्डर गरिएको भन्दै अन्य सप्लाइ कम्पनीहरुले आपत्ति जनाएका थिए । केन्द्रले गरेको टेन्डरमा फर्म भर्न सक्ने मापदण्डमा हस्पिटेकले मात्रै सामान दिनसक्ने मापदण्ड राखिएको थियो । हस्पिटेकले नेपालमा फिलिप्स कम्पनीको सामान बेचिरहेको छ ।

सेटिङमै बहाल कर्मचारी सरुवा गरेर करारका कर्मचारी भर्ती गरेर भनिएको कम्पनीलाई टेन्डर दिलाउन भएको स्पेस लकको समाचार प्रकाशनपछि मेडिकल उपकरण व्यवसायी नारायण कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा उजुरी गरेका थिए । उजुरीमा आपूर्ति केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डे, बायोमेड कन्सल्टेन्ट वन्दना मिश्रलाई पनि कारबाही माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button