
मधेशदृष्टि
वीरगंज ।
पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा पक्राउ गरेका ३ चिनियाँ नागरिकलाई आइतबार सार्वजनिक गरेको छ । चीनको हुनान प्रान्तका ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तकै ३६ वर्षीय सियाङ जियाओलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरूलाई प्रहरीले वीरगंजको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । उनीहरूका साथबाट प्रहरीले कम्प्युटर डेक्सटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्री बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुले दैनिक ८ सय रुपैयाँ ज्यालादारीमा भारतीय तथा नेपाली कामदार प्रयोग गरेर कारोबार गरिरहेका थिए । उनीहरुले कारोबार गर्दाको रकम भारतीयको खातामा पनि जम्मा भएको देखिएको छ । भारतीय सिमकार्डहरु प्रयोग भएको आधारमा प्रत्येक मोबाइल नम्बरबाट भारतीय बैंकमा खाता रहेको समेत प्रहरीले पत्ता लगाएको छ । चिनियाँ नागरिकको कारोबारमा भारतीय नागरिकको खातासमेत जोडिएको पाइएको छ । उनीहरुका साथबाट नेपाली, कम्बोडियाको रुपैयाँसमेत बरामद भएको छ ।
इन्टरनेट डिभाइसबाट डिजिटल ठगीको कारोबारमा चिनियाँ नागरिकको संलग्नताले अरु धेरै शंका उपशंका उब्जिएको छ । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । वीरगंज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठनजिक रहेको घरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुंगेलकै नेतृत्वमा छापामारी भएको थियो । छापामारीमा ठूलो मात्रामा कम्प्युटरलगायतका इलेक्ट्रोनिक सामग्री र चिनियाँ नागरिक नियन्त्रणमा लिइएको थियो । चिनियाँ गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराधसम्बन्धी गतिविधि गर्दै आएको प्रहरीको आशंका थियो । गिरोहका अरु पनि थप व्यक्ति संलग्न रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






