उपप्रधानमन्त्रीलाई ४५१ किलोको माला

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम
नेकपा एमाले धनुषाको पछिल्लो राजनीति फूलको माला कत्रो बनाउने भन्नेमा केन्द्रित हुन थालेको देखिएको छ । केही दिनअघि १० हजार जनता सहभागी गराउन नसक्ने अवस्थापछि तय भएको पार्टी अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रमसमेत स्थगित भएको क्षतिपूर्ति माला कारोबारमा जोडिएको थियो । त्यतिखेर ओली आउने भनेर भनिए पनि १० हजार भन्दा कम जनता उपस्थित हुने भएपछि अध्यक्षलाई तयार पारिएको माला उपाध्यक्ष विष्णु पौडेललाई लगाइएको थियो । यद्यपि मुलुकको सत्ता गठबन्धन फेरबदलका कारण अध्यक्ष ओली आउन नसकेको भन्दै एमालेले बताउँदै आएको छ ।

बिहीबार चैँ उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री भएपछि पहिलोपटक गृहनगर जनकपुर आउँदा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । यो स्वागत पनि फूलमालामै जोडिएको थियो । महासेठलाई नेकपा एमाले उपमहानगर कमिटीले विमानस्थलमै ४ सय ५१ किलोको माला लगाएर स्वागत गरेको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले वर्तमान गठबन्धन जनताको हितमा रहेको बताउँदै गठबन्धन चार वर्षसम्म चल्ने बताए । उनले भौतिक पूर्वाधारको विकासविना देश समृद्धितर्फ जान नसक्ने बताउदै सरकारको लक्ष्य नै भौतिक पूर्वाधारसँगसम्बन्धी रहेको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीको समेत प्रष्ट निर्देशन रहेको, भौतिक पूर्वाधारसँगसम्बन्धी चाहे त्यो हुलाकी सडक होस् वा लोकमार्ग तथा मध्य पहाडी लोकमार्ग होस्, सबैको काम क्रियाशीलताका साथ अगाडि बढाइने छ ।’ ढिलासुस्ती हटाएर देखिएका समस्या समाधान गर्दै कामलाई सक्रियतापूर्वक अगाडि बढाइने उनले बताए ।

महासेठले हरेक राजनीतिक दलसँग सहकार्य गरेर सरकार अगाडि बढ्न चाहेको बताउँदै विपक्षमा बसेका दलसँगसमेत सहकार्य गरेर अगाडि जान सकिने बताए । महासेठले कसैको पनि बहुमत नभएको अवस्थामा प्रतिपक्षमा बसेको कांग्रेस पहिलो दलका रुपमा प्रधानमन्त्रीको प्रतीक्षारत दाबेदार भएकाले एमालेसँग सहकार्यमा बस्नु स्वाभाविक रहेको बताए । उनले कांग्रेसले प्रधानमन्त्री बन्न उचित लागेको वर्तमान सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्रीको विरोध गर्नु कांग्रेसका लागि सुहाउदो काम नभएको बताए ।

कांग्रेसले उठाएको विषयवस्तुको विषयमा सरकारले छानबिन गरिरहेको बताउँदै छानबिनमा दोषि देखिए जो कोहीलाई पनि सरकारबाट बाहिर जानै पर्ने बताउदै अहिले नै हतार गरेर विरोध गर्नु उचित नभएको बताए । उनले मधेश सरकारसहित सातवटै प्रदेश सरकार पुनर्गठनका लागि दलहरुबीच छलफल भइरहेकाले सिघ्र निस्कर्ष आउने बताए । उनले अहिले समय परिपक्व नभइनसकेको बताउँदै मधेश सरकारमा पनि एमालेले पठाउने मन्त्रीहरुबारे निस्कर्षमा पुगिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button