
अफरोज अर्पण
वीरगंज ।
इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा(सेहरी) खाई प्रारम्भ हुने रोजा सूर्य अस्ताएपछि बेलुकाको नमाज(मगरिब)को आजान सुनेर व्रत (इफतारी) खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । इस्लामिक पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।
विक्रम सम्बत् (विस) र अंग्रजी पात्रो (इस) को तुलनामा इस्लामिक पात्रो (हिजरी सम्बत्) मा ३५४–३५५ दिन मात्र हुने भएकाले रमजानको महिना प्रत्येक वर्ष १०–१२ दिन अगाडि सर्दै आइरहेको हुन्छ । २५–२६ वर्षको अवधिमा रमजान महिनाले अंग्रेजी वर्षको पूरै एक वर्षको चक्र पूरा गरेको हुन्छ । हामीले यसो विचार गर्ने हो भने, रमजान कुनै वर्ष जाडो महिनामा पर्छ भने कुनै गर्मी महिनामा परिरहेको हुन्छ । विसंको पूरै वैशाखदेखि चैतसम्म रमजान महिनाले फन्को मारिरहेको हुन्छ ।
रमजानमै मुसलमानको धार्मिक ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीनदुःखीलाई सेवा गर्नु, फित्र (रमजान महिना दिइने दिइने विशेष दान) निकाल्नु, जकात (धार्मिक कर) निकाल्नु यो महिनाको ठूलो विशेषता हो । खाडी मुलुकलगायत विदेशमा आइतबार चन्द्रमा (चाँद) देखिएपछि सोमबारदेखि व्रत सुरु भएको छ भने नेपाललगायत भारतमा सोमबार चन्द्रमा देखिएपछि आज मंगलबारदेखि रमजान व्रत सुरु भएको छ । शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ ।
रमजान मुख बारेर भोकै (व्रत) बस्ने पर्व मात्र नभइ हात, गोडा, आँखादेखि विभिन्न शारीरिक अंकको पनि व्रत बस्नु पर्छ । रमजान महिनाभर रोजा मात्र बसेर हुँदैन, हातले कुनै गलत काम गर्नु, गलत काममा पाइला चाल्नु, झुटो बोल्नु, कसैको कुरा काट्नु, झैझगडा गर्नु, गलत नजर राख्नु, शारीरिक सम्पर्क गर्नुजस्ता कुरालाई बर्जित गरिएको हुन्छ । रमजान एउटा पवित्र महिना भएकाले पनि यो महिनामा धार्मिक कार्य पवित्रताका साथ गर्नु पर्ने हुन्छ । यो महिनामा बाँकी महिनाको तुलनामा ७० गुणा बढी लाभदायक हुने भएकाले दानपुन, अरिब असहायलाई खाना खुवाउने, बढीभन्दा बढी अल्लाहको इबादत(उपासना) गर्ने गरिन्छ ।
दैनिक पाँचपटक पढिने नमाजमा रातिको इशाको नमाजमा तराबही (रमजानमा पढिने विशेष नमाज) पनि पढने गरिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । रमजानले मानिसमा सहनशीलता, दयालुपन बढाउँछ भने गरिब र असहायप्रति सहानुभूति, भोकै बस्नुको पीडाको अनुभूति गराउँछ । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन । रमजानको २९ वा ३० औँ दिनको भोलिपल्ट मुसलमानहरुले आफ्नो महत्वपूर्ण पर्व ईद–उल–फित्र (ईद) मनाउने गर्दछन् ।






