
अनिल पोखरेल
राजविराज ।
नक्कली बिल भर्पाई र झुठा बिल भुक्तानी गरेको आरोपमा निलम्बित भएका सप्तरीको बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले विशेष अदालतबाट सफाइ पाएपछि शुक्रबार पालिकामा पदभार ग्रहण गरेका छन् । नगर उपप्रमुख रेनु कुमारी साह, दीलिप कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गर्दै पदभार ग्रहण गराएका हुन् ।
मेयर सिंहसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत (अधिकृत छैठौँ) अर्जुनप्रसाद यादव र कृषि समूहका सदस्यसहित आठजनाले नै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासबाट मंगलबार अन्तिम फैसलामा सफाइ पाएका थिए ।
नगर प्रमुख सिंहसहित आठजनाविरुद्ध बोदेबरर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको र नक्कली बिल भर्पाई र झुठा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित आठ जनामाथि भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सप्तरीको १८ मध्ये चार पालिका प्रमुख निलम्बित भएका छन् । दुईदिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएका हुन् भने एक पालिका प्रमुख सात महिनाअघि नै निलम्बित भइसकेका छन् । यस्तै, एक पालिका प्रमुख विशेष अदालतबाट दोषीसमेत ठहर भएका छन् ।
सप्तरीमा निलम्बित भएमा चार नगर प्रमुखमा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले मात्र सफाइ पाएका हुन् । सप्तरीकै शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादव विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् भने विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवको भने भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि उनी पदबाट निलम्बितमा छन् ।






