
मधेशदृष्टि
राजविराज ।
उच्च अदालत जनकपुर राजविराज इजलासले राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको छ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन र नगरपालिका कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको छ । आदेशमा गुरुङलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित कामकाज गर्न गराउन कुनै बाधा व्यवधान वा अवरोध नगर्नु नगराउनु नियमावली, २०७३ को नियम ४२९१० बमोजिम भनी विपक्षी कार्यवाहक नगर प्रमुख इसरत परबीन समेतका नाममा उच्च अदालत अन्तरिम आदेश जारी गरिएको आदेशमा भनिएको छ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीश विमल प्रसाद सुवेदी र पूर्ण प्रसाद राजवंशीको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश जारी भएको हो । यसअघि फागुन २ गते न्यायाधीश कौशल चन्द्र सुवेदीको एकल इजलासले फागुन ६ सम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएका थिए भने फागुन ६ मा न्यायाधीश अर्जुन अधिकारी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले फागुन १० सम्म त्यही आदेशलाई निरन्तरता दिएको थियो ।
आफूलाई गैरकानुनी ढंगले संघीय मामिला तथा सामान्य मन्त्रालय फिर्ता पठाउने निर्णय गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरुङले कार्यवाहक नगरप्रमुख इसरत परविन सहित राजविराज नगरपालिका कार्यालयलाई विपक्षी बनाएर फागुन १ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेशनको रिट दायर गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने मिति २०८० माघ १९ गतेको निर्णयसँग सम्बन्धित सक्कल फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी विपक्षीबाट झिकाउन साथै सो मिति २०८० फागुन १० सम्म विपक्षीको नाउँमा यस अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई समेत स्वतः निरन्तरता दिएको छ” फागुन ६ गते अदालतले जारी गरेको आदेशमा भनिएको थियो ।






