साम्प्रदायिक झडपमा अनिश्चितकालीन कर्फ्यु

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घन्टापछि कर्फ्यु लगाइएको छ । प्रहरीको अन्तिमसम्मको प्रयास असफल भएपछि शनिबार दुई समुदायबीच झडपको विवादमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । ईशनाथ नगरपालिका–७, घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबीच झडप भएको हो । मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा प्रहरीसँगै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । दोहोरो झडपमा कैयौँलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउराटोलमा पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको बताइन् । घिउरागाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसले बाटो अवरुद्ध गरेका थिए । उनीहरुले ट्र्याक्टरमा डिजे बाजा बजाएका कारण बाटो अवरुद्ध गरेको मुस्लिम पक्षको तर्क थियो । शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दू समुदाय बाटोमै मूर्ति राखेर धर्ना बसेका थिए ।

सिडियो हीरालाल रेग्मीको रोहवरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीको मूर्ति सेलाउन लैजाने, डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमतिविपरीत मुस्लिम समुदायका केही उच्शृंखल युवाले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रवक्ता गिरीले बताइन् । स्थिति अरु तनावग्रस्त बनेपछि मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआइजी दिपेन्द्र श्रेष्ठ घटनास्थल पुगेका थिए ।

शनिबार भएको झडपमा दुवै पक्षका मानिसरु घाइते भएका थिए । भारतीय सिमानासँग जोडिएको क्षेत्र नम्बर २ अन्तर्गतको त्यहाँ लामो समयदेखि हिन्दूको पूजापर्वमा बाधा अवरोध हुँदै आएको छ । दशहारा, झण्डी, सरस्वती पूजा, लगायत धार्मिक पर्वमा अर्का समुदायका मानिसले विभिन्न बाधा अवरोध गर्ने गरेको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button