

पाकिस्तानमा नेशनल एसेम्बली (प्रतिनिधि सभाको तल्लो सदन) र प्रदेश सभाको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । अहिले सरकार गठनको प्रक्रिया सुरु भएको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र विलावल भुट्टो जरदारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)बीच सत्ता बाँडफाँडका लागि वार्ता सुरु भएको छ । पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ । पीएमएल–एन र पीपीपी मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका छन् । गठबन्धनका लागि यी दुवै दलले साना दल र स्वतन्त्र उम्मेदवारसँग पनि सम्पर्क गरिरहेका छन् । कुनै पनि दलले बहुमत नपाएकाले नयाँ सरकार गठनअघि कडा बार्गेनिङ हुने अपेक्षा गरिएको छ । विडम्बनाको कुरा के छ भने नेशनल एसेम्बलीका साथै खैबर पख्तुनख्वा र पञ्जाब प्रदेशमा सबैभन्दा बढी सिट जितेर पनि पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले समर्थन गरेका उम्मेदवारहरू सरकार बनाउने खेलमा सहभागि छैनन् ।
पाकिस्तानी संसदको कुल ३ सय ३६ सदस्यमध्ये ७० सिटमा (६० जना महिला र १० जना अल्पसंख्यक) आरक्षित गरिएको छ । बाँकी रहेको २ सय ६६ मध्ये २ सय ६५ सिट (एक सिटको निर्वाचन स्थिगित) का लागि गत माघ २५ गते निर्वाचन भएको थियो । जसमा पीटीआईले समर्थन गरेको स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् । पाकिस्तान सेनाको समर्थन रहेको मानिएको पीएमएल (एन)ले ७५ सिट र तेस्रो स्थानमा रहेको पीपीपीले ५४ सिट प्राप्त गरेको छ । त्यसैगरी मुत्तहिद कौमी मूभमेन्ट पाकिस्तान (एमक्यूएम–पी)ले १७ सिटमा विजयी हासिल गरेको छ । अन्य दल र स्वतन्त्रले भने २५ सिटमा सफलता प्राप्त गरेका छन् । आरक्षित सिट प्रत्यक्षतर्फ दलले प्राप्त गरेको परिणाम अनुसार समानुपातिक बाँडफाँड गर्ने गरिन्छ ।
पूर्वप्रधानमन्त्री इमरान खान गत वर्ष अगस्टदेखि जेलमा छन् । उनको पीटीआई पार्टीलाई चुनाव लड्न अयोग्य घोषित गरेको थियो । पार्टीको चुनाव चिन्ह ब्याट समेत जफत भएको छ । पूर्व प्रधानमन्त्री खानको पीटीआई पार्टीलाई चुनावमा भाग लिनबाट रोक लगाइएपछि उनका समर्थकहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारलाई दलको हैसियत नभएपछि खानको पार्टीलाई आरक्षित सिट बाँडिने छैन । त्यसकारण पनि संख्यामा बढी पीटीआई समर्थित उम्मेदवार बढी जिते पनि पीएमएल–एनलाई पाकिस्तानको सबैभन्दा ठूलो दलको हैसियत प्राप्त भएको छ ।
पीएमएल–एन र पीपीपीको गठबन्धन
छ दलीय गठबन्धनमा आबद्ध दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि अब मिलेर पाकिस्तानको आर्थिक सङ्कटलाई पार लगाउने बताएका छन् । पूर्वप्रधानमन्त्री नवाज शरिफले आफ्नो कान्छो भाइ शहबाज शरिफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् । उनले पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियम नवाज शरिफलाई उम्मेदवार बनाएका छन् । पीपीपीले शरिफको पार्टीलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको छ । यो गठबन्धनले सरकार गठनका लागि आवश्यक १६९ सिट सजिलै प्राप्त गर्नेछ भन्ने गणित पनि छ । पीएमएल–एन र पीपीपीले सन् २०२२ मा इमरान खानलाई सत्ताबाट हटाउन हात मिलाएका थिए । त्यसबेला नवाज शरिफका भाइ शाहबाज सरिफले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यसपटक पनि उनलाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएको छ । शहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री बन्न सक्ने देखिन्छ । ७१ वर्षीय इमरान खानले आफूलाई झूटा मुद्दामा फसाइएको र यो आफूविरुद्ध राजनीतिक षड्यन्त्रको हिस्सा भएको प्रधानमन्त्रीका उम्मेदवार शहबाजले बताएका छन् । पाकिस्तानको कार्यवाहक सरकारले इमरान खानका यी आरोपहरूलाई अस्वीकार गरेको छ ।
निर्वाचनमा धाँधली र हस्तक्षेपको आरोप
यी निर्वाचनमा ठूलो मात्रामा मत जालसाजी र हस्तक्षेप भएको आरोप लागेको छ । पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा चुनाव लड्ने उम्मेदवारको सम्भावनालाई नोक्सान पु¥याउन यी अनियमितताहरू गरिएको बताइएको छ । तर यी सबै अवरोधका बाबजुद देशभरका मतदाताहरूले ठूलो मात्रामा चुनावमा भाग लिए र इमरान खानको समर्थनमा मतदान गरे । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको समूह अन्य दलभन्दा निकै अगाडि थियो । यद्यपि, पीटीआईले आफ्ना उम्मेदवारहरूले बढी सिट जितेको र उनीहरूले चुनाव जित्ने मार्जिन पनि धेरै रहेको बताएको छ । उनले मतदानमा धाँधली भएको धेरै आरोप लगाएका छन् । पाकिस्तानमा गत हप्ता भएको विवादास्पद निर्वाचनमा विजयी भएका एक राजनीतिज्ञले आफ्नो सिट छोड्ने घोषणा गरेका छन् । मतदानका क्रममा आफूलाई जिताउन धाँधली गरिएको उनको भनाइ छ । जमियत–ए–इस्लामीका हाफिज नईम उर रहमान प्रान्तीय विधानसभा सीट नम्बर पीएस–१२९ बाट विजयी घोषित भएका छन् । यो सीट कराँची सहरमा पर्छ । तर यो हप्ता उनले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफको समर्थनमा चुनाव लडेका उम्मेदवारले आफूभन्दा बढी मत पाएको तर पछि खानको उम्मेदवारको कुल मत घटेको दाबी गरेका थिए । यति मात्र होइन, हाफिज नईम उर रहमानले यसपछि सिट छोड्ने घोषणा गरेका छन् ।
हाफिज नईम उर रहमानले सोमबार आफ्नो पार्टीको पत्रकार सम्मेलनमा भने, ‘यदि कसैले हामीलाई गैरकानूनी रूपमा जिताउन चाहन्छ भने हामी स्वीकार गर्दैनौं ।’ उनले भने, ‘जनमतको कदर गर्नुपर्छ । जित्नेलाई जित्न दिनु पर्छ र पराजित उम्मेदवारलाई हार्न दिनु पर्छ । कसैले अतिरिक्त केही पाउँदैन ।’ रहमानले आफूले २६ हजारभन्दा बढी मत पाएको र स्वतन्त्र उम्मेदवार सैफ बारीले ३१ हजार मत प्राप्त गरेको बताए । पछि, पीटीआई समर्थित उम्मेदवार सैफ बारीलाई मात्र ११ हजार भोट देखाइएको थियो । यद्धपी पाकिस्तानको निर्वाचन आयोगले हाफिज नईम उर रहमानले लगाएको आरोपलाई अस्वीकार गरेको छ । सैफ बारीले सिट छाड्ने घोषणा गरेपछि पीएस–१२९ सिट कसले हात पार्छ भन्ने स्पष्ट छैन । तर यो घटनाले पाकिस्तानको निर्वाचन निष्पक्षताका सम्बन्धमा उठेको शंकालाई फेरि एकपटक रेखांकित गरेको छ ।
इमरान खानको पीटीआई पार्टीका चुनौती के छन् ?
पीटीआईसामु धेरै चुनौती छन् । पहिलो र सबैभन्दा महत्त्वपूर्ण चुनौती विजयी उम्मेदवारहरूलाई वफादार र एकताबद्ध राख्नु हो । पीटीआईका विजयी उम्मेदवारहरूसँग कुनै पनि कानुनी अवरोध बिना कुनै पनि अन्य राजनीतिक दलमा प्रवेश गर्ने विकल्प छ । पीटीआई समर्थित उम्मेदवारहरू स्वतन्त्र रूपमा चुनाव लडेका छन्, त्यसैले उनीहरूले संसदमा सांसदको रूपमा मान्यता प्राप्त गरी आरक्षित सीटहरूमा भाग लिनको लागि पार्टीमा सामेल हुनुपर्नेछ । आरक्षित सिटको कोटा आम निर्वाचनमा राजनीतिक दलले जितेका सिटको अनुपातमा हुन्छ । आरक्षित सिट नपाउँदा राष्ट्रिय र प्रदेश सभामा उनीहरूको संख्या घट्नेछ । निर्वाचन परिणाममा पीएमएल–एन र पीपीपी दोस्रो र तेस्रो दल हुन् । दुवैले प्रदेश र केन्द्रमा गठबन्धन र सरकार गठनका लागि वार्ता सुरु गरेका छन् । जबकि इमरान खानको पीटीआई अझै आफ्नो अस्तित्वको लागि संघर्ष गरिरहेको छ । उनीहरू पार्टीको खोजीमा छन् जससँग उनीहरूले गठबन्धन वा विलय गर्न सकुन र पार्टीको रूपमा पीटीआईको स्थिति कानुनी रूपमा पुर्नस्थापित गर्न सकुन । यद्यपि, पीटीआई नेता गौहर खानले पीएमएल–एन र पीपीपीसँग कुनै पनि गठबन्धनको सम्भावनालाई अस्वीकार गरे । उनले प्रतिपक्षमा बस्ने संकेत गरेका छन् ।
खान प्रति मतदाता आकर्षित हुनुका कारण
सनाउल्लाह खानले पनि इमरान खानले सहानुभूतिको भोट पाएको विश्वास गरेका छन् । उनी भन्छन्, ‘एउटा व्यक्तिलाई जेलमा राखेर एउटै मुद्दामा सजाय दिँदा ऊ जेलमै रहन्छ, त्यसोभए हप्तामा तीनवटा मुद्दामा सजाय किन दिनुहुन्छ ? चुनावअघि तीनवटा मुद्दामा सजाय सुनाउँदा इमरान खानप्रति सहानुभूतिको लहर पैदा भयो । फेब्रुअरी ८ मा यो लहर भोटमा परिणत भयो । तर यसमा के गर्ने हाम्रो हातमा थिएन । यो अदालतमा निर्भर थियो, जसले तिनीहरूलाई यति चाँडो सजाय दियो । राजनीतिक विश्लेषक प्रोफेसर (डाक्टर) आदिल नजमका अनुसार पाकिस्तानको राजनीतिक भविष्य अब १८ देखि २९ वर्षका युवाको हातमा छ । तिनीहरूको जनसंख्या ६० प्रतिशत भन्दा बढी छ । प्रोफेसर नजमले केही वर्षअघि गरेको अनुसन्धानका अनुसार सन् २०४५ सम्म हुने पाकिस्तानको निर्वाचनमा नयाँ मतदाताले महत्वपूर्ण भूमिका खेल्नेछन् ।
डा नजम भन्छन्, ‘संसारभरि नै युवामा राजनीतिप्रति चासो जगाउनु र कसैलाई भोट दिन मनाउनु निकै गाह्रो काम मानिन्छ, तर, पीटीआईलाई हेर्दा युवालाई आफ्नो पक्षमा ल्याउन सफल भएको छ । तर, आफ्नो साढे तीन वर्षको शासनकालमा इमरान खानले युवाका लागि धेरै अवसर सिर्जना गर्न सकेनन् न त उनीहरूलाई आफूले वाचा गरेको रोजगारी उपलब्ध गराउन सकेनन् ।’ यसपछि पनि क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खानतर्फ युवाको झुकाव किन ? उनको निष्पक्षताको विचारबाट युवा प्रभावित भएको डा नजम बताउँछन् । उनी भन्छन्, ‘युवालाई विद्रोहको कथा बढी आकर्षक छ । यसले मतदातालाई पीटीआईतर्फ आकर्षित गरेको छ ।’ उनी भन्छन्, ‘सामाजिक सञ्जाल र युवा मतदाताले विश्वभरको राजनीतिको गतिशीलतालाई पूर्णरूपमा परिवर्तन गरिदिएको छ । पाकिस्तानको परिप्रेक्ष्यमा, परिवारले सधैं महत्त्वपूर्ण भूमिका खेलेको छ – मानिसहरूले आफ्नै परिवारबाट कसैलाई मतदान गर्नेछन् । अहिले प्रविधिले सामाजिक सञ्जालमा नयाँ समुदाय सिर्जना गरेको छ । अहिले फेसबुक, टिकटक, ट्विटर र व्हाट्सएपमा रहेका समुदायहरूले उही भूमिका खेलिरहेका छन् । जहाँ पीटीआई आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छ ।
कहाँ चुक्यो पीएमएल–एन
चुनावमा इमरान खानको पार्टीलाई कसरी प्रताडित गरियो भन्ने सबैलाई थाहा छ । जबकि पाकिस्तानी सेनाको समर्थन पाएको मानिएको पीएमएल एनले चुनावी प्रचारका लागि फ्री ह्यान्ड पाएको छ । चुनावअघि इमरान खानलाई तीनवटा मुद्दामा ३१ वर्षको जेल सजाय सुनाइएको थियो र नवाज शरिफलाई पाकिस्तान फिर्ता ल्याइएको थियो र उनलाई पहिले दोषी ठहर गरिएको मुद्दामा सफाइ दिइएको थियो । यसपछि पनि तीन पटकका पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनको पार्टीले मतदातालाई लोभ्याएर बहुमत ल्याउन किन असफल भयो ? गुञ्जरावलाको सिटबाट पराजित भएका पीएमएल–एनका उम्मेदवार खुर्रम दस्तगीरका अनुसार पार्टीले युवाहरूको मन जित्न सकेन । जसका कारण मध्य पञ्जाबका ती क्षेत्रहरूमा पनि पराजयको सामना गर्नुपरेको थियो जहाँ पहिले यसको बलियो समर्थन थियो । उनी भन्छन्, ‘यो सामाजिक सञ्जाल र टिकटकको जमाना हो । म विश्वास गर्छु कि हामीले हाम्रो सन्देश दिन असफल भयौं र युवाहरूलाई आफ्नो बारेमा बताउन असफल भयौं । पीएमएलको राजनीति तल्लो तहमा छ, जबकि हाम्रो प्रतिद्वन्द्वी इमरान खानको पार्टी तहरीक–ए–इन्साफ सोशल मिडियामा सक्रिय छ । यो सबैभन्दा ठूलो भिन्नता थियो । चुनावी नतिजामा पनि यो प्रष्ट देखिन्छ ।’
खुर्रम दस्तगीरले पार्टीले आत्मसमीक्षा गर्नुपर्ने र यो प्रक्रिया सुरु भइसकेको बताए । अर्को वरिष्ठ पीएमएल–एन नेता र पीडीएम सरकारमा गृहमन्त्री, राणा सनाउल्लाह पनि फैसलाबादमा पराजित भएका छन् । गगनचुम्बी मुद्रास्फीति र इन्धनको मूल्यवृद्धिले मतदाता आक्रोशित भएको उनको भनाइ छ । पीडीएम सरकारमा सर्वसम्मतिले निर्णय भए पनि पीएमएल–एनले जनताको आर्थिक कठिनाइको जिम्मेवारी लियो । उनी भन्छन्, ‘फैसलाबाद मजदुरहरूको सहर हो । मानिसहरू दुःखी थिए र आफ्ना आवश्यकताहरू पूरा गर्न सक्षम थिएनन् । त्यसैले उनीहरुले भोटिङमार्फत आक्रोश पोखेका छन् । यो हाम्रो गल्ती थिएन, यो इमरान खानको थियो । उनले अर्थतन्त्र तहसनहस पारेका थिए । हामीसँग १८ महिना मात्रै थियो । यस अवधिमा उनले आफ्नो आन्दोलनले सरकारलाई समस्यामा पारे । पीडीएम गठबन्धनमा थप १० दल सामेल थिए । तर जब उनीहरूको कार्यको जिम्मेवारी लिने कुरा आयो, हामीसँग अर्को विकल्प थिएन । उनलाई पीएमएल–एनको ढोकामा छोडियो ।’





