
मधेशदृष्टि
रौतहट ।
मधेशदृष्टिकर्मी रौतहटका वरिष्ठ पत्रकार सञ्जय मिश्रा एक समारोहकाबीच सम्मानित भएका छन् । देवाही गोनाही नगरपालिकाको सभाकक्षमा शुक्रबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पत्रकार मिश्रा र गौर नगरपालिकाका मेयर शम्भु साहलाई सम्मानित गरिएको हो ।
मधेश प्रदेशमा उत्कृष्ट र कार्य सम्पादकमा पनि सब भन्दा बढी अंक प्राप्त गरेको भन्दै राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य रामकुमार फुयाँलले मेयर साहलाई खाँदा ओढाई कदरपत्रबाट सम्मानित गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा मेयर शम्भु साह नेकपा एकीकृट समाजवादी पार्टीको तर्फबाट गौर नगरपालिकामा निर्वाचित भएका थिए । त्यसतै भ्रष्टाचारविरुद्ध खुलेरै कलम चलाउने, खोजमूलक समाचारसँगै लेख्नमा सदैव क्रियाशील रहेको भन्दै आयोगका वरिष्ठ सदस्य फुयाँलले पत्रकार मिश्रालाई खाँदा ओढाएर कदरपत्रबाट सम्मानित गरेका थिए ।
पत्रकार मिश्रा रौतहटमा रहेर दुईदशक भन्दा बढी समय देखि क्रियाशील पत्रकारिता गर्दै आधादर्जन मीडियासँग आवद्ध रहेका छन् । उनी वीरगंजबाट प्रकाशित मधेशदृष्टि राष्ट्रिय दैनिक, काठमाडौँबाट संचालित न्युज कारखाना, रातोपाटी अनलाईनमा आबद्ध रहेका छन् भने कटहरिया एफएमका स्टेसन म्यानेजरको जिम्मेवारी समेत सम्भालेका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाण्डौँको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव गोविन्द चौलागाइको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अख्तियार दुरूपयोग अनुसंधान हेटौडाका डा. हेम बहादुर केसी, नायव महालेखा परीक्षक मधेश प्रदेश प्रमुख श्याम प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या यादव, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






