
वीरेन्द्र रमण
जनकपुरधाम ।
आर्थिक वर्षको झण्डै ७ महिना बितिसक्दा पनि मधेश प्रदेश सरकारको विकासको बजेट खर्चमा सुधार आउन सकेको छैन । प्रदेश सरकारले गौरवका योजनामा भन्दा बढी धेरै टुक्रे योजनामा ध्यान केन्द्रित गरेका कारण बजेट खर्चमा सुधार आउन नसकेको हो ।
मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको जानकारीअनुसार, मधेश प्रदेशमा अहिलेसम्म ९ प्रतिशत बजेट मात्रै खर्च भएको छ । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बजेट रहेकामा जम्मा ४ अर्ब ६९ करोड १९ लाख ६ हजार १ सय २१ रुपैयाँ बजेट मात्रै खर्च भएको छ । विकास बजेटको खर्च मधेश प्रदेशमा भने निकै चिन्ताजनक अवस्थामा छ । मधेश प्रदेशमा चालुतर्फ १३ प्रतिशत र पुँजीगततर्फ ६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षमा चालुतर्फ १८ अर्ब ५४ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेट रहेकामा २ अर्ब ५३ लाख ५० लाख ३५ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च भएको छ । त्यसैगरी, पुँजीगततर्फ २५ अर्ब ५७ करोड ८९ लाख ४ हजार रुपैयाँ खर्च भएको छ ।
मधेश प्रदेश, अर्थ मन्त्रालयका निमित्त सचिव अजयकुमार लाल कर्णले बजेट निर्माण गरेर विभिन्न मन्त्रालयमा पठाउने गरिएको जानकारी दिँदै खर्च गर्ने दायित्व मन्त्रालयको रहेको बताए । उनले खर्च बढाउन सम्बन्धित मन्त्रालय नै जिम्मेवार रहेको बताए । उनले भने, ‘हामीले बजेट पठाउने हो, तर किन खर्च भएन वा कुनै खर्चमा कानुनी अड्चन छ भने त्यसको सहजीकरण मन्त्रालयको काम हो ।’ अहिलेसम्म कानुनी समस्याका विषयमा कुनै मन्त्रालयले जानकारी नगराएको उनको तर्क छ ।
मधेश प्रदेश सरकारले मधेशमा गौरवको योजना भन्दा पनि बढी वितरणमुखी योजनालाई प्राथमिकतामा राखेका कारण खर्चमा समस्या आइरहेको छ । विभिन्न मन्त्रालयले धेरै भन्दा धेरै टुक्रे योजनालाई प्राथमितकता दिएका कारणसमेत खर्च बढ्न नसकेको विज्ञहरुको कथन छ । ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको मधेश प्रदेश सरकारले दीर्घकालीन प्रदेश गौरवको आयोजनालाई प्राथमिकता दिनुको साटो १० लाखदेखि ५० लाख रुपैयाँसम्मका टुक्रे वितरणमुखी योजनामा काम केन्द्रित गरेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले आर्थिक पारदर्शिता र सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको प्रतिबद्धतासहित माघ २२ गते १९ बुँदे निर्देशन जारी गरेका थिए । तर, एकमहिना नबित्दै मुख्यमन्त्री र मन्त्रीमा देखिएको बजेट मोह र टुक्रे योजनाका कारण यादव नेतृत्वको सरकार पहिलो बजेटमै निकै आलोचित बन्न पुगेको छ । मधेश प्रदेश सरकारले गौरवको योजना प्राथमिकतामा राख्नुको साटो नेता र कार्यकर्ता पाल्न साना योजनामा बजेट बाँडिरहेको छ ।
प्रदेश सरकारले टुक्रे योजनालाई प्राथमिकतामा राखेर बजेट निकासा गर्न थालेको छ । विगतमा समयमा काम गर्न नसकेपछि विकास बजेट फ्रिज हुने गरेको मधेश प्रदेशमा यसपटक पनि काम नै हुनसकेको छैन । मुख्यमन्त्रीलगायत मन्त्रीले प्रदेश गौरवका योजनालाई प्राथमिकतामा राख्ने सार्वजनिक मञ्चमा प्रतिबद्धता जनाए पनि कार्यकर्तालक्षित योजनालाई प्राथमिकता दिएका हुन् । मधेश प्रदेशको भौतिक विकास मन्त्रालयमा समेत खर्चको अवस्था सन्तोषजनक देखिएको छैन । मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्राविधिक काम गर्न बाँकी रहेका कारण बजेट खर्च गर्न नसकएको बताउँदै अब योजनाका कामलाई तिव्रताका साथ अगाडि बढाइएको कारण बजेट खर्चसमेत बढने जिकीर गरे ।
मधेश प्रदेश, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रवक्ता पवन पञ्जियारले केही समय बजेट नै रोक्का रहेको र पछि सचिवको अभावमै काम अगाडि बढाउन समस्या भएका कारण खर्च बढ्न नसकेको बताए । उनले नयाँ सचिव आएकाले काम हुने र बजेट खर्च बढ्ने बताए ।






