
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कांग्रेस र कम्युनिष्टले सत्तामा बसेर देश लुटिरहेको आरोप लगाएका छन् । वीरगंजमा मंगलबार जनयुद्ध दिवसको अवसरमा आजपाले आयोजना गरेको अन्तरक्रियामा पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले कांग्रेस र कम्युनिष्टबीच कुनै फरक नरहेको टिप्पणी गरे । उनले भने, ‘उनीहरुको पार्टीको नाम र झण्डा मात्रै फरक छ तर काम एउटै छ । जसरी हुन्छ शासन सत्तामा बसेर देशलाई लुट्ने । जनतालाई कंगाल बनाउने ।’
पुराना दललाई डाँकाको संज्ञा दिँदै अध्यक्ष साहले डाँकाको गिरोहमा आफनो पार्टी साधु बनेर आएको दाबी गरे । आजपा फरक धरातल र धारबाट बनेको पार्टी भएको बताउँदै साहले उनीहरुको काम देश लुट्ने, हाम्रो काम देश बनाउने भएको बताए । अध्यक्ष साहले माओवादीको ११ वर्षे जनयुद्ध जायज भए पनि त्यसबाट माओवादीकै नेता मालामाल भएको तर जनता भने कंगाल बन्दै गएको आरोप लगाए । उनले जनयुद्ध नेपाल र नेपालीको अवस्था बदल्न र तल्लो वर्गका जनतालाई मालिक बनाउने उद्देश्यले भए पनि त्यो उद्देश्य पूरा हुन नसकेको बताए ।
उनले भने, ‘अहिलेको संविधान धोखाको पुलिन्दा हो । संविधान जारी गर्ने बेलामै आफूले यो संविधान धोखा हो भन्दै हस्ताक्षर नगरेको र अहिले सही साबित भएको छ ।’ अध्यक्ष साहले माओवादी जनयुद्ध र मधेश आन्दोलनलाई धोखा दिएर जारी गरिएको संविधान केबल धोखाको पुलिन्दा नै भएको अडानमा आफू अहिले पनि कायम रहेको बताए । उनले देशमा लोकतन्त्रका नाममा पुराना दलले पालैपालो सत्तामा बसेर देश र जनता लुट्ने काम गरिरहेको आरोप लगाए ।
आजपा केन्द्रीय सचिव एवम् मधेश प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा भएको अन्तरक्रियामा केन्द्रीय उपाध्यक्ष समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह, मधेश प्रदेश इन्चार्ज सुधीर यादव, केन्द्रीय सचिव बाबुराम कौशिक, नेता इस्लाम हवारी, स्थायी कमिटी सदस्य एवम् पर्सा इन्चार्ज कदम रसुललगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो । यसैबीच, जसपा नेपाल परित्याग गरी सैयाँैको संख्यामा आजपा प्रवेश गरेका थिए । नवप्रवेशीलाई र विदेशबाट रोजगारी गरी फर्किएका दर्जनौँ युवालाई फूलमाला लगाएर सम्मान गरिएको थियो ।






