हाइटेसनबारे सुरक्षा अधिकारी र स्थानीयबीच छलफल

[mashshare]

एसपी गौरब
सर्लाही ।
सर्लाहीको उत्तरी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको हाइटेसन लाईनको तार विस्तारको विषयलाई लिएर सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र स्थानीय जनप्रतिनिधिले स्थानीयबासीसँग छलफल गरेका छन् । हाइटेसन लाईनको तार विस्तारको विषयलाई लिएर जिल्लाका सुरक्षा प्रमुखहरुका साथै नगर प्रमुख, उपप्रमुखलगायत स्थानीयबीच पटक पटक छलफल भएको भए पनि कुनै निष्कर्ष निस्कन सकिरहेको छैन ।

२०४२/०४३ सालमा सर्वे भई सोहीअनुसार हाइटेसनको तार विस्तारको काम सुरु भएको भए पनि स्थानीयले उचित मुआब्जा नपाउँदासम्म तार विस्तार गर्न नदिने अडान लिएका कारण सो क्षेत्रमा काम प्रभावित भएको छ । विद्यमान कानुनमा अन्य कुनै व्यवस्था नभएकोले एक आपसमा बसेर छलफल गरि समस्या समाधान गरेर जानुपर्ने भएकोले स्थानीयसँग छलफल गरेको र राज्यको नियमानुसार मुआब्जा उपलब्ध गराउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए । उनले राज्यको नियमानुसार मुआब्जा उपलब्ध गराउने भन्दै अहिलेलाई काममा कुनै अवरोध नगर्न आग्रह गरेका छन् ।

आफूहरुले पटक पटक मुआब्जाको व्यवस्थापन गर्न र मुआब्जा नपाउँदासम्म काम गर्न नदिने भन्दै विभिन्न निकायमा निवेदन दिएको संघर्ष समितिका संयोजक गोविन्द महतले बताए । उनले लालबन्दी नगरपालिका, विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय सर्लाहीका साथै उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा समेत मुआब्जाको व्यवस्था गरिदिन र सो व्यावस्था नहुँदासम्म काम गर्न नदिने भन्दै निवेदन दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button