प्रदेश सरकारका कारण संघीयतामा टिप्पणीः ओली

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संघीयता आए पनि प्रदेश सरकारले सही ढंगले काम गर्न नसकेका कारणले संघीयताप्रति विभिन्न टिकाटिप्पणी भइरहेको दाबी गरेका छन् । उनले प्रदेश सरकारका मन्त्रीले जनताप्रति जवाफदेही हुने गरी काम नगरेर पदीय दायित्व विपरीत कार्य गरिरहेको आरोप लगाए । उनले प्रदेश सरकारका कतिपय मन्त्रीले केबल झण्डा हल्लाएर हिँड्ने गरेको आरोप लगाउँदै सङ्घीयताको अनुभूति गराउने गरी सही ढङ्गले काम गर्न नसकेको बताउँदै सरकारको कामकाज सफल, स्वच्छ तथा पारदर्शीरुपमा हुन नसकेको दाबी गरे ।

नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेसन उद्घाटन गर्न जानेक्रममा जनकपुर विमानस्थलमा संचारकर्मी ओलीले भने, ‘निजामती ऐन र प्रहरी समायोजनाका कारण संघीयता सबल बनाउन कहाँ बाधा पुगेको छ, आफ्नो मान्छे पुलिसमा भर्ना गर्न पाइनँ भने यस्तो अधिकार नपाएको भनेर भ्रम सृजना गरिँदै छ । प्रहरी समायोजन हुनु पर्छ तर यही कारण संघीयतामा सेवा प्रवाह गर्न पाइनँ भन्नु गलत हो ।’

ओलीले मुलुकमा राजतन्त्र फर्किने सम्भावना नदेखेपछि पूर्वराजा ज्ञानेन्द्र शाह देशदौडाहाका नाममा पार्टी खोल्ने आधारभूमि तयार गर्न लागेको बताए । उनले मुलुक कुनै पनि हालतमा पछाडि नफर्किने बताउँदै अहिले परिवर्तन उल्टाउने षडयन्त्र भइरहँदासमेत त्यो कुनै पनि हालतमा सफल नहुने बताए । उनले अहिलेको सरकार टिप्पणी गर्न लायकसमेत नरहेको बताए । उनले भने, ‘गठबन्धन सरकारका कारण मुलुकमा समस्या आएको हो, गठबन्धन सरकार रहेसम्म मुलुकका समस्या रहने छन् र सरकार असफल भइरहेको छ ।’ उनले रेडक्रसजस्ता सामाजिक संस्थासमेत मान्यता समाप्त हुनुको कारक तत्व नै वर्तमान गठबन्धन सरकार रहेको बताउदै यो निकै लजास्पद विषय भएको बताए ।

ओलीले प्रदेश सरकारको काम कारबाहीका कारण संघीयता धरापमा परिरहेको दाबी गरे । उनले संघीयताको मर्मअनुसार प्रदेश सरकारले काम नगरेका कारण संघीयतामा समस्या आएको बताए । उनले भने, ‘संघीयतामाथि प्रश्न उठिरहेको छ, प्रश्न किन उठिरहेको छ भने प्रदेश सरकारले ठिक ढंगले काम गर्न सकेन, जनतालाई दिनुपर्ने सेवाप्रवाह ठिक ढंगले दिन सकेन ।’ ओलीले अहिले संघीयतमाथि प्रश्न उठाउने बेला नभएको बताउँदै संघीयता सफल बनाउने बेला रहेको बताए । उनले संविधानमा संघीयता लेखेको र त्यसलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संघीयता सफल बनाउनु दलहरुको काम भएको बताए ।

ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताए । उनले भने, ‘शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ, त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याउनु पर्छ, टिआरसीका बारे एमालेको अडान यथावत छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’ ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गर्न एमाले तयार भए पनि विधेयकमा पीडितलाई न्याय दिने तथा गम्भीर प्रकृतिको अपराधको घटनालाई उन्मुक्ति नदिने किसिमले आउनु पर्ने बताए ।

बहुमतको ‘एमाले सरकार’का लागि मिसन–८४
३० वर्षपछि महोत्तरी सदरमुकाम जलेश्वर आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मिसन ८४ लिएर जलेश्वर आएको बताए । आगामी निर्वाचनमा एमालेलाई पूर्ण बहुमतका साथ जिताएर स्थिर सरकार बनाउन एमालेले ‘मिसन ८४’ सुरु गरेको उनले बताए । एमाले महोत्तरीको छैठौँ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी आएका हुन् । एमालेको सरकार हुँदा देशमा सडक, हवाई, रेल्वेलगायतको विकास द्रुतगतिमा भएको जिकिर गर्दै उनले वर्तमान सरकारले एमाले सरकारबाट सुरु गरिएका कामसमेत पूरा गर्न नसकेको आरोप लगाए । देशमा विकासका लागि एमालेको विकल्प गठबन्धन सरकार हुनै नसक्ने उनको दाबी थियो । अध्यक्ष ओलीले छिमेकीसँग समेत शिर उठाएर गठबन्धन सरकार कुरा गर्न सक्ने अवस्थामा नरहेको भन्दै देश गलत व्यक्तिको हातमा गएको आरोप लगाए । एमाले गरिब र निमुखा जनताको पार्टी भएको भन्दै उनले आगामी निर्वाचनमा एमालेलाई कम्तीमा ५१ प्रतिशत मतदान गर्न अनुरोध गरे । कार्यक्रमस्थलमा पुग्नुअघि अध्यक्ष ओलीले जलेश्वरनाथ दर्शन गरी पार्टी जिल्ला कार्यालयको शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button