उद्योग वाणिज्य क्षेत्रका समस्या समाधानमा जुट्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आर्थिक नगरी वीरगंज आएका छन् । उनले वीरगंजमा उद्योगी, व्यापारी र पत्रकारसँग छुट्टाछुट्टै अन्तरक्रिया र छलफल गरे । नेपाल भारतबीचको सहकार्य, व्यापार र उद्यमक्रममा देखिएको कमजोरी, समस्याबारे छलफल पनि भएको थियो । उद्योगी, व्यापारी, पत्रकारको जिज्ञासापछि भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतबीच उद्योग वाणिज्य क्षेत्रमा देखा परेको समस्या समाधानका लागि भारतीय दूतावास सदैव क्रियाशील रहेको बताए । वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित अन्तरक्रिया तथा राजदूत श्रीवास्तवको स्वागत कार्यक्रममा उनले नेपाल भारतको औद्योगिक तथा व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि दूतावासले काम गर्दै आएको र आगामी दिनमा अझ सक्रियताका साथ समस्या समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत देवी सहाय मिणा, मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भारतीय राजदूतावासका शेखर सुमन, भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सतिश पट्टापु, सङ्घका निवर्तमान अध्यक्ष डा.सुबोधकुमार गुप्ता, उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी प्रसाद कलवारलगायतको सहभागिता थियो ।
यस्तै, भारतीय राजदूत नवीन श्रीवास्तवले वीरगंज लेखक तथा पत्रकारसँग पनि भेट गरे । भेटका क्रममा भारतीय दूतावासले गरिरहेको गतिविधिबारे मोफसलका सञ्चारकर्मीले पनि सहज सूचना पहुँच नबनेको बताएका थिए । यस्तै, छलफलमा रामायण सर्किट, रेल, वीरगंजमा टाउन हल, रक्सौल विमानस्थलबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा भारतीय राजदूत श्रीवास्तवले केही योजनाहरु प्रक्रियामा रहेको, दुवै देशको सहमति र सहकार्यमा काम हुने बताएका थिए । छलफलमा वीरगंजका ८ जना लेखक तथा पत्रकार सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button