

जैविक विविधतायुक्त हरिया पहाड तथा त्यहाँको चट्टान चिरेर निस्केको झरना, नदी, तालतलैया, चाँदी झैँ टल्कने उच्च हिमशिखरले देशलाई पर्यटनको दृष्टिले धनी बनाएको छ । यसैका लागि देशमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने गरेको छ । अहिले मानिसहरू अनुकूल समय मिलाएर स्वदेश तथा विदेशका विभिन्न प्राकृतिक रमणीय स्थल, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्वको तीर्थस्थल, सम्पदा क्षेत्र, ऐतिहासिक स्थल, बस्ती, पार्क आदि घुम्न जाने प्रचलनको विकास हुन थालेको छ । सामान्य बुझाइमा यसरी घुम्नु नै पर्यटन हो । पर्यटनमा आयव्ययको हिसाब गरिँदैन, केवल मनोरञ्जन वा आनन्दको अनुभूति लिने वा कुनै नयाँ जानकारी वा ज्ञान प्राप्त गरिन्छ । विश्व पर्यटन सङ्गठनका अनुसार एक रात बिताउन भनेर घरबाट टाढा रहने व्यक्तिलाई पर्यटक भनिन्छ ।
त्यसैले तीर्थाटन, व्यापार, व्यवसाय, तालिम वा अध्ययन, औषधी उपचार, रोजगार, खेलकुद आदिका लागि गरिने यात्राले पर्यटनको झल्को दिन्छ । मधेश प्रदेशमा धार्मिक पर्यटन नै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो । यहाँका आठै जिल्लामा वैदिक सनातन धर्मसँग जोडिएका धेरै मठ मन्दिर तथा पर्यटकीय स्थलहरू छन् । मिथिलाकालीन कलासँग जोडिएको सुन्दरता, मौलिक खानपान, रहनसहन र आतिथ्यता यहाँको पर्यटनसँग जोडिएका विषयहरु हुन् । मन्दिर, पोखरी, मिथिला कला र जीवन्त चाडपर्वका लागि मधेश प्रदेश सुप्रसिद्ध भूमि मानिन्छ । मधेश प्रदेशमा अन्य पर्यटकीय गतिविधिमा पनि अथाह सम्भावना देखिन्छ । तर देखिएका सम्भावनामा ठोस योजनासहित पूर्वाधार निर्माण साथै पर्यटकीय स्थलको सुधार र प्रचारप्रसारमा काम भइरहेको देखिँदैन । मधेश भौगोलिक हिसाबले सुगमता भएको प्रदेश पनि हो । प्रदेशका आठवटै जिल्लाका प्रमुख क्षेत्रहरूको भ्रमण समान्य रुपमा सहज रुपमा गर्न सकिन्छ । तर देशका अन्य प्रदेशमा यस्तो कल्पना पनि विरलै पाइन्छ ।

धार्मिक सांस्कृतिक क्षेत्रदेखि प्राकृतिक सुन्दरतामा आधारित पर्यटन र मौलिक भाषा, कला, संगीत, विभिन्न परिकारलाई अब स्थानीय पहिचान झल्किने गरी पर्यटन सोभेनियर, विशेष पर्यटन गन्तव्य, होमस्टे र स्थानीय मौलिकताको ब्रान्डिङ तथा प्रवर्द्धनको खाँचो छ । मधेशका आठ जिल्लामध्ये सम्भावना बोकेको सप्तरी पनि एक हो । सप्तरी मधेश प्रदेशको पूर्वी जिल्ला हो । भूवनोटका हिसाबले सप्तरीको अधिकांश भाग समथर छ । सामाजिक, आर्थिक, भौगोलिक एवं पर्यटकीय दृष्टिले सुन्दर र आकर्षक क्षेत्रका रुपमा स्थापित हुँदै आएको छ ।

पछिल्लो समय सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित धारापानी धर्मेश्वर महादेव पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । धार्मिक पर्यटनका हिसाबले ऐतिहासिक मधेश प्रदेशमा पर्यटकीय गतिविधिमा अथाह सम्भावना छ । सप्तरी जिल्लाको पूर्व क्षेत्रमा अवस्थित कञ्चनरूपको वडा नम्बर १२ मा अवस्थित धारापानी प्राकृत ठाउँ छ जुन पछिल्लो एक दशकदेखि यस ठाउँले प्रसिद्धि पाएको छ । पूर्व पश्चिम राजमार्गदेखि झन्डै दुई किलोमिटर उत्तरी भेगमा चुरेक्षेत्रमा अवस्थित रहेको धारापानी क्षेत्रमा डाँडाकाँडा, जीवजन्तु, पानीको धारासहितका मनोरम दृश्यहरू रहेका छन् । धारापानी क्षेत्रमा दुई खोला दोभान, परेवाभीर, सल्हेश पिढिया, सुगा खोली, हरिण दह, सोली घोप्टे, तिरतिरे धारासहितका ठाउँहरू पनि छन् ।

जहाँ प्राकृतिकरूपले उत्पत्ति भएको एउटा ठूलो र तीन वटा सानो धारा छ । यी धाराहरु बाट हरेक समय पानी आउने गर्दछ । पानीका लागि यहाँ कुनै समस्या छैन । धारापानी धर्मेश्वर महादेव पर्यटकीय समिति नामाङ्कन गरेर स्थानीयले यस क्षेत्रमा बस्ने, खाना पकाउने, नाच्ने ठाउँहरू बनाएका छन । जसलाई स्थानीय पालिकाले पनि आफ्नो पर्यटकीय क्षेत्रको रुपमा समेटेको छ । यस ठाउँमा धर्मेश्वर महादेव मन्दिर निर्माण गरेकाले पर्यटन क्षेत्र सँगै तीर्थाटन रुपमा पनि जोडिएको छ । सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरतामा पर्यटकहरू रमाउन गर्दछन् । नागबेले भएर बग्ने सुन्दरी खोला धर्मेश्वर मन्दिर क्षेत्रबाट हेर्दा जो कोही पनि मोहित हुन्छन् । प्राकृतिकरूपमा सदाबहार बग्ने धाराबाट पानी बगी रहने भएकोले यस ठाउँको नाम धारापानी भनिएको हो ।
सुन्दरी खेलाको उत्तरपट्टी भित्तामा निरन्तर बगरिहेको देखिन्छ । खोलौ खोला पाँच सय मिटर माथि एक दोभान छ । अझै अलि माथि भएपछि चुरेमा कलात्मक रुपमा ढुङ्गा कुदिएर बनाएका पिरा छन । जसलाई स्थानीय भाषामा सल्हेश पिढियाको नामले परिचित छ । त्यस्तै परेवाभीर, सुगा खोली, हरिण दह, सोली घोप्टे, तिरतिरे जस्ता ठाउँले प्राकृतिक सुन्दरतामा जो कोही पनि लोभिन्छन् । त्यतिमात्र हैन यस ठाँउको उल्लेख हिन्दुहरूको स्कन्द पुराणमा कोशी नदिको पश्चिममा सुन्दरी नदि स्नान फलम् उत्तम लेखिएको छ भन्ने भनाइ छ । पछिल्लो समय धारापानी तीर्थाटन र पर्या–पर्यटकहरुको घुमघाम स्थल बन्दै गएको छ । यस दसैँतिहार सकिएलगत्तै वनभोज खानेको लर्को लाग्ने यो क्षेत्र पुस, माघ महिनामा भरिभराउ हुने गर्छ । ‘यो क्षेत्रमा बैशाखदेखि दैनिक रुपमा पाँचदेखि दश समूहमा वनभोज गर्न जानेहरु पनि उत्तिकै भेटिन्छन् ।

अंग्रेजी पात्रोको नयाँ वर्षका दिन जनवरी १ मा सायौँको संख्यामा वनभोजका लागि आउने गर्दछन् । वरिपरिको जिल्ला लगायत भारतको वीरपुर, अररिया, कुनौलीका मानिसको रोजाइमा धारापानी पर्ने गरेका छन् । चारैतिर हरियाली जङ्गल र शान्त वातावरणले पिकनिक निकै रमाइलो ‘मनोरम दृष्यका साथै सबै सुविधा यहाँ पनि छन्, टाढा किन जानु प¥यो’, देवले भनिन्, ‘नजिकै यस्तो रमणीय स्थल हो । यहाँ आउने पर्यटक रमाउँछन् । प्राकृतिक सौन्दर्यताले भरिएको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन कञ्चनरूप नगरपालिका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रको योजनालाई वर्तमान नगर प्रमुख ललन प्रसाद गुप्ताले पनि उत्तिकै महत्व दिएका छन् ।






