सिडिओ कार्यालयमा कर्मचारीको ठट्टा

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी बस्ने सानो कार्यकक्षमा एउटै सन्देश लेखिएको ६ वटा सूचना टाँस गरिएको छ । सूचनामा लेखिएको छ, ‘मेरो बोली ठूलो छ तर रिसाएर बोलेको नठान्नुहोला । मेरो बोली ठाडो छ तर नमिठो बोलेको नठान्नुहोला । म अलि झुक्न जान्दिनँ तर यसलाई आदर गरेन भन्ने नठान्नुहोला । –सहायक प्रमुख जिल्ला अधिकारी ।’

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले कार्यकक्षमा लेखेर टाँसेको यो भनाइप्रति सर्वत्र विरोध भइरहेको छ । मधेश प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाले भण्डारीको भनाईलाई पूर्ण अव्यवहारिक र अनुचित भनेका छन् । पत्रकार जितेन्द्र झाले नम्रता र सभ्यता एक राष्ट्रसेवक कर्मचारीमा हुनु पर्ने सामान्य गुणमा पर्ने बताउँछन् । शिक्षक अरुण राउत यसलाई दम्भपूर्ण र अशोभनीय प्रतिक्रिया दिन्छन् ।

सोही कार्यालयका प्रमुख (सिडिओ) चक्रपाणि पाण्डेले सहायक सिडिओले कार्यालयमा टाँसेको सूचना सही भएको बताए । ‘एक जना कर्मचारीले सेवाग्राहीसँग आफ्नो स्वभावबारे लिखितरुपमै जानकारी गराइदिनु त झन् राम्रो हो नि !’ सिडिओ पाण्डेले मधेशदृष्टिसँग भने ।
सेवाग्राहीले भने सहायक सिडिओ भण्डारीको स्वभावप्रति आक्रोस पोखेका छन् । जिल्ला प्रशासन कार्यालयमा गाउँघरमा सार्वजनिकरुपमै लगाएर हिँड्न मिल्ने पोशाकमा समेत सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश गर्न नदिने सहायक सिडिओ भण्डारीले आफू मनपरी बोल्न पाउनुमा पनि महानता दर्शाउनु गलत भएको सेवाग्राहीहरुको प्रतिक्रिया छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपेन्द्र सिंहले पनि सहायक प्रमुख जिल्ला अधिकारीको स्वभाव गलत भएको बताए । उनी भन्छन्, ‘पुरातन शासकीय शैली रहेछ । सुधार गरे व्यक्तित्वमा निखार आउँछ । आधुनिक जनप्रशासनको मर्म अपनाउँदा वेश होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button