‘१०–१५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम अन्त्य गरिन्छ’

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारद्वारा विकासका नाममा ठोस काम हुने प्रतिवद्धता जनाएका छन् ।

बिगतमा मधेश प्रदेशका कैयौँ मन्त्रीद्वारा १०–१५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम भएको बताउँदै मन्त्री यादवले अब त्यसो नहुने बताए । मन्त्रीको जिम्मेवारी पाएपछि गृहजिल्ला रौतहट आइपुगेका यादवको सम्मान तथा स्वागतमा नेपाली कांग्रेस रौतहटले कार्यक्रम गरेको थियो । सदरमुकाम गौरस्थित पार्टीे कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले कार्यकर्तालाई पैसा बाँडेर कसैलाई व्यक्तिगत फाइदा भए पनि समग्रमा देशलाई ठूलो क्षति हुने बताए । ‘अबका दिनमा जिल्लामा ठोस काम हुन्छ, जुन कामको सर्वसाधारण सबैले अनुभूति गर्नेछन्,’ उनले भने, ‘अब हुने कामले मधेश सरकार र काम गराउने व्यक्ति तथा पार्टीको समेत नाम रोशन हुनेछ ।’

उनले विकास निर्माणका कामले जिल्लालाई अगाडि बढाउने बताए । मानव सूचकांकमा सबभन्दा पछाडि रहेको रौतहटलाई अगाडि बढाउन सबै एकजुट हुन उनले आग्रह गरे । स्वर्गीय शेख इदरिसका नामले चिनिने रौतहटबारे आफूसमेत अनुयायी रहेको उनले बताए ।
पहिलोपटक मन्त्री हुँदा अवसर र चुनौती दुबै रहेकाले विकास निर्माणलगायतका काममा सबै नेता कार्यकर्ताको सहयोग अपरिहार्य रहेको यादवले बताए ।

आउँदा दिनमा नेपाली कांग्रेसभित्र युवाको नेतृत्व आवश्यक रहेको तथा पार्टी एवम् संगठन सुदृढिकरणमार्फत आगामी निर्वाचनमा रौतहट कांग्रेसमय बनाउने उनले उद्घोष गरे । कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद सुनील यादव जितेन्द्र, नेता रामचन्द्र गिरिले पिछडिएको रौतहटलाई विकासको माध्यमले अगाडि बढाउन आग्रह गरे । कांग्रेसका नेताहरू हृदय नारायण यादव, रामास्नेही यादव, कटहरियाका मेयर अजयप्रकाश जैसवाल, सर्फलाल गुप्ता, सुनील यादवलगायत जिल्लाका नेता कार्यकर्ता सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button