विकास अग्रवाल
रौतहट ।
अवैधरुपमा भित्रिएको रासायनिक मल गौर भन्सार कार्यालयले व्यवसायीको मिलेमतोमा न्युन दर रेट कायम गरी सोमबार लिलाम गरेको छ । गौर भन्सार कार्यालयमा दाखिला रहेको मल भन्सार प्रमुखले आर्थिक चलखेलका कारण हतारमा लिलाम गरी तस्करलाई नै जिम्मा लगाएका हुन् । बजार मूल्य भन्दा आधा मूल्याङ्कन गरी भन्सार प्रमुखले लिलाम प्रकृया गरी भन्सार एजेन्टमार्फत तस्करलाई जिम्मा लगाएको स्थानीयको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार साझ औरैया नगरपालिका–५ स्थित घरबाट १ हजार ३ सय बोरा मल बरामद गरेको थियो । मल आइतबार गौर भन्सार कार्यालयमा दाखिला गरिएको थियो ।
भन्सार दाखिला भएको मलको बजार मूल्य करिब २० लाख रुपैयाँको रहे पनि गौर भन्सार कार्यालयका प्रमुख वासु नेपाल, नायब सुब्बा रेवती रोक्कालगायतले आर्थिक चलखेल गरी १० लाख रुपैयाँमै चन्द्रपुरका व्यवसायीमार्फत मल तस्करलाई नै जिम्मा लगाएको पाइएको छ ।
अवैध चोरीपैठारीको माध्यमबाट भित्रिएको अन्य समानलाई सुरक्षाकर्मीले बरामद गरी भन्सार दाखिला गर्दा लिलाम गर्न महिनौँ लगाउने भन्सारले हतारमा मल लिलाम गरेकाले शंका उब्जिएको व्यवसायीहरु बताउँछन् । मल लिलाम प्रक्रिया चाँडै गरी तस्करकै जिम्मा लगाउन जिल्लाका विभिन्न राजनीतिक दलका नेताले समेत भन्सार प्रमुखलाई दबाब दिएको स्रोतको दाबी छ ।
यता, सुरक्षाकर्मीले विवादका बीच अवैध चोरी निकासीको समान बरामद गरी भन्सार दाखिला गर्दा अन्य वस्तुमा समेत न्युन भन्सार दर राखेर लिलाम प्रक्रिया गर्ने गरेकाले उनीहरुको मनोबल हतोत्साहित हुँदै गएको देखिन्छ । अत्यधिक न्युन रकम राखेर भन्सारले मल लिलाम गरेको जिल्ला प्रहरीले जनाएको छ ।
गौर भन्सार कार्यालयका प्रमुख वासु नेपालले हतारमा लिलाम प्रक्रिया नभएको जिकिर गर्दै ठाउँ अभाव तथा कम्पाउन्डमा राखिएको मल वर्षाले बिग्रिँदा राजस्वसमेत नउठ्ने भएकोले लिलाम गरिएको बताए । आफूले कुनै तस्करसँग साठगाठ गरी लिलाम नगरेको उनले स्पष्ट पारे ।






